सुनिता दुलाल भन्छिन्ः विष्णु माझी आफ्नो जीवनमा खुशी छिन्, मनगढन्ते टिप्पणी नगरौं – Nepal Press

सुनिता दुलाल भन्छिन्ः विष्णु माझी आफ्नो जीवनमा खुशी छिन्, मनगढन्ते टिप्पणी नगरौं

काठमाडौं । ‘चरी जेलैमा’ गीत हिट भएसँगै शहरमा विष्णु माझीको चर्चा छ । उनको गुप्तवासलाई लिएर सामाजिक सञ्जालमा अनेकथरि टिप्पणीहरु भइरहेका छन् ।

माझीलाई आफ्नै श्रीमानले घरबाट निस्कन नदिएर बन्धकजसरी राखेको चर्चा व्याप्त रहँदा गायिका सुनिता दुलालले सामाजिक सञ्जालमा आफ्नो भनाइ राखेकी छन् । उनको भनाइमा विष्णु माझीका विषयमा गरिएका टिकाटिप्पणीहरु अनुमानित, मनगढन्ते र भ्रामक छन् ।

‘कतिले भन्छन्, विष्णु माझीलाई उनका श्रीमान सुन्दरमणी अधिकारीले बन्धक बनाएका छन् रे, उनकै दबाबका कारण उनी बाहिर निस्कन सकेकी छैनन् रे १’ दुलालले भनेकी छन् ।

उनी थप्छिन्, ‘यी सबै सुन्दा, पढ्दा आश्चर्य लाग्छ । यो युग हाम्रो हजुरबुबा–हजुरआमाको पालाको होइन कि अरुको दबाब र बन्धक बनेर बस्नुपर्ने र जे पनि सहनुपर्ने । त्यसैले मलाई लाग्दैन विष्णु माझी कसैको दबाबमा छिन् । उनी त आफ्नो व्यक्तिगत जीवनको भरपुर आनन्द लिइरहेकी छिन् ।’

विष्णुको आवाजमा सजिएको ‘सालको पात टपरी’ गीतले नेपाली सांगीतिक इतिहासमै कीर्तिमान कायम भन्दै दुलालले कसैले बन्धक बनाएको, दबाब र पीडा खेपेर बसेको मान्छेले यति राम्रा सिर्जना दिन नसक्ने तर्क गरेकी छन् ।

‘अनि अर्को कुरा यदि मान्छे पीडामा छ अथवा कसैले पीडा दिइरहेको छ भने सधैं सहेर बस्दैन । अझै यति चर्चित गायिका त्यो पीडा सहेर बस्नुहोला भन्ने मैले सोच्नै सक्दिनँ । त्यसैले कसैको व्यक्तिगत जीवनलाई लिएर अरुमाथि आक्षेप नलगाऔं, हस्तक्षेप नगरौं यही नै विष्णु माझीका लागि सच्चा सम्मान हो ।’ उनले लेखेकी छन् ।

दुलालले विष्णु माझी एक न एकदिन अवश्य बाहिर आउने आशा व्यक्त गरेकी छन् । उनले अनुकुल समय कुरेको हुनसक्ने माझीको तर्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *