एमालेका भ्रातृसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्न कार्यदल गठन – Nepal Press

एमालेका भ्रातृसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्न कार्यदल गठन

काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमतिलाई तत्काल कार्यन्वयन गर्ने भएको छ । केन्द्रीय कमिटीको बिहीबार बसेको बैठकले पार्टी एकताको मर्मलाई ध्यान दिँदै पार्टीका सबै कमिटी र जनसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्ने निर्णय लिएको हो ।

बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले जनवर्गीय संगठनहरूलाई २०७५ जेठ २ अघिको अवस्थाबाट क्रियाशील बनाउन चार सदस्यीय कार्यदल गठन गरेको जानकारी दिए ।

महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेल, तत्कालीन एमालेको जनवर्गीय संगठन मोर्चा इन्चार्ज रहेका सचिव गोकर्ण विष्ट र हाल एमालेमा मोर्चा इन्चार्ज रहेका टोपबहादुर रायमाझी रहेका छन् ।

यो कार्यदलले सबै जनवर्गीय संगठनहरूमा १० बुँदे कार्यान्वयनको मोडालिटी बनाउने र त्यसलाई आवश्यक परे अर्को कार्यदले सहजीकरण गर्ने बताए ।

हाल अनेरास्ववियू, युवा संघ, महिला संघ, किसान महासंघ, खेलकुद महासंघलगायतका जनवर्गीय संगठनमा जेठ २ अघिको नेतृत्व फेरिएकाले अब नयाँ ढंगले टुंगो लगाउन कार्यदल बनाइएको हो ।

बैठकमा केन्द्रीय सदस्य तथा युवासंघ इन्चार्ज महेश बस्नेत लगायत केही नेताले १० बुँदे सहमति माधव नेपाल समूह छाडेर फर्किनेहरुको हकमा प्रभावकारी ढंगले लागु गर्नुपर्ने बताएका थिए ।
तर यसअघि केपी ओली पक्षमै रहेका अध्यक्ष वा पदाधिकारीहरुको ठाउँमा समस्या नहुने उनीहरुको भनाइ थियो ।

उदाहरण दिदै उनले युवा संघमा रमेश पौडेल विदा भएर किरण पौडेल आइसकेको र अनेरास्ववियुमा नविना लामा विदा भएर ऐन महर आइसक्दा एकै टिमका व्यक्ति भएकाले त्यहाँ समस्या नहुने बताएका थिए ।

तर विगतमा जनसंगठनको अध्यक्ष रहेका तर माधव प्रचण्ड माधव पक्षमा लागेपछि अर्को व्यक्ति बनेको ठाउँमा भने माधव पक्ष छाडेर आउनेहरुलाई यथावत जिम्मेवारी दिने विषय उठेको छ । माओवादीबाट एमालेमा समाहित भएकाहरुको हकमा भने जिम्मेवार यथावत हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर