‘हाइटेक’ बन्दै वाईसीएल, दुई दिने राष्ट्रिय भेला भर्चुअल माध्यमबाट गरिने – Nepal Press

‘हाइटेक’ बन्दै वाईसीएल, दुई दिने राष्ट्रिय भेला भर्चुअल माध्यमबाट गरिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलले भर्चुअल माध्यमबाट आफ्नो दुई दिने राष्ट्रिय भेला गर्न सम्पन्न गर्ने भएको छ । भेलाबारे जानकारी दिन बिहीबार पेरिसडाँडामा आयोजना गरिएको पत्रकार सम्मेनलनमा वाईसीएललाई ‘हाइटेक’ बनाउन लागिएको जानकारी दिइयो ।

भदौ १२ र १३ गते हुने राष्ट्रिय भेलाको माओवादी केन्द्र अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्बोधन गर्ने छन् । ‘कोभिड-१९ को तेस्रो भेरियन्टको जोखिम र प्रविधिमैत्री युवा संगठनको अवधारणामा केन्द्रित रहँदै राष्ट्रिय भेला भर्चुअल माध्यमबाट सम्पन्न गरिनेछ,’ पत्रकार सम्मेलनपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘६४७ जना प्रतिनिधि एवं पर्यवेक्षकहरूको सहभागितामा सम्पन्न हुने राष्ट्रिय भेला सम्भवतः प्रविधि प्रयोगको दृष्टिले नेपालकै पहिलो र व्यवस्थित भेला हुनेछ ।’

वाईसीएलले संगठनका सबै डाटाहरूलाई डिजिटलाइज गर्नुका साथै सदस्यता समेत अनलाइनबाट दिने बताएको छ । ‘हाम्रो संगठनले यसै भेलाबाट संगठनका सबै डाटाहरुलाई डिजिटलाइज मात्रै होइन, सदस्यता प्रणालीसमेत अनलाइन विधिवाट आवेदन तथा प्राप्त गर्ने गरी वाईसीएल नेपाल डट ओआरजी र वाइसीएल नेपाल डटकम को औपचारिक उद्घाटन भेला उद्घाटनसँगै हुनेछ,’ अध्यक्ष रामप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो नेपालको राजनीतिक इतिहासमा सम्भवतः नयाँ शुरूआत हुनेछ ।’

भर्चुअल माध्यमबाट हुने भेलामा सातवटै प्रदेशका प्रतिनिधि र पर्यवेक्षकहरू आफ्नो प्रदेशको मुकाममा भेला हुनेछन् । प्रदेश १ को विराटनगर, प्रदेश २ को महोत्तरी बर्दिबास, वागमती र विशेष प्रदेशको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा प्रतिनिधि भेला हुने गरिने छ ।

राष्ट्रिय भेलाले युवाहरूको प्रविधिमैत्री चेतनामा स्थापित गर्ने मात्रै नभइ देश र कम्युनिस्ट आन्दोलनलाई प्रविधिमैत्री बनाउन अभिप्रेरित गर्ने विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर