तीन कम्पनी, जसको आईपिओ पर्नेले छाेटो समयमै कमाए ५० हजार बढी – Nepal Press

तीन कम्पनी, जसको आईपिओ पर्नेले छाेटो समयमै कमाए ५० हजार बढी

काठमाडौं । पछिल्लो दुई वर्षमा नेपालमा सबैभन्दा धेरै कम्पनीका प्राथमिक शेयर(आईपिओ) निष्कासन भएका छन् । करिब ३० लाखभन्दा बढी डिम्याट खाता खुलेका छन् ।

नेपाल पूर्वाधार विकास बैंक(निफ्रा) पछि लाखौं लगानीकर्तालाई आईपिओ परेको छैन । डिम्याट खोल्नेको संख्या बढ्दै गएपनि कम्पनीले जारी गर्ने आईपीओ सीमित हुने भएकाले शेयर नपाउनेको संख्या बढेको हो ।

जीवन बीमा तथा नीर्जीवन, लघुवित्त वित्तीय संस्था र केही उत्पादनमूलक कम्पनीका शेयर सबैभन्दा धेरै निष्कासन भइरहेका छन् । लघुवित्त कम्पनीको थोरै पुँजी हुने भएकाले शेयर बजारमा उच्च माग हुन्छ र त्यसको मूल्य पनि निकै उच्च भएको छ ।

चन्द्रागिरी हिल्स प्रालि, जीवन विकास लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त जस्ता कम्पनीको शेयर पार्ने लगानीकर्ताले छोटो समयमा नै धेरै आम्दानी गरेका छन् ।

महिला लघुवित्त वित्तीय संस्था

महिला लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ’घ’ वर्गको कम्पनी हो । यसले २०७७ माघ ३० गतेदेखि फागुन ५ गतेसम्म आवेदनका लागि म्याद तोकेर ४ लाख कित्ता आईपिओ जारी गरेको थियो ।

सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्याएर बाँकी रहेको ३ लाख ७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए । नेपाल एसबिआई मर्चेन्ट कम्पनीलाई बिक्री प्रबन्धक तोकिएको यस कम्पनीमा ३७ हजार ५०० कित्ताका लागि १५ लाख ४० हजारभन्दा बढी आवेदन परेको थियो ।

महिला लघुवित्त कम्पनीको १० कित्ता आईपिओ पार्न सफल लगानीकर्ताले करिब ३ महिनामा नै ५३ हजारसम्म आम्दानी गरेका छन् ।

२०७७ चैत ४ गतेबाट दोस्रो बजारमा कारोबार थालनी गरेको यस कम्पनीले ४०६ रुपैयाँको ओपनिङ रेन्ज पाएको थियो । त्यसपछि दोस्रो बजारमा यस कम्पनीको शेयरको माग बढे पनि आपूर्ती नहुँदा मूल्य बढेको देखिन्छ ।

जेठ २४ गते यस कम्पनीको शेयर मूल्य ५३९० रुपैयाँ पुगेको थियो । अर्थात यस कम्पनीमा १० कित्ता नै आइपिओ पार्न सफल लगानीकर्ताले मनग्ये कमाए । उनीहरुले एक हजार रुपैयाँमा नै करिब ५४ हजार रुपैयाँसम्म कमाउन सफल भएका छन् । ४९५० प्रतिकित्ताका दरले अहिले यस कम्पनीको शेयर कारोबार भइरहेको छ ।

जीवन लघुवित्त वित्तीय संस्था

जीवन लघुवित्त वित्तीय संस्थाले आफ्नो प्राथमिक शेयर असार ११ गतेबाट असार १५ गतेसम्म बिक्रिका लागि आवेदन खुला गरेको थियो । १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्कासन गरेकोमा कम्पनीका कर्मचारीका लागि ३० हजार ४२० कित्ता र सामूहिक लगानीकोषका लागि ९८ हजार ८६५ कित्ता छुट्याइएको थियो ।

बाँकी १८ लाख ४८ हजार १५ कित्ता शेयर सर्वासधारणका लागि छुट्याएको यस कम्पनीमा माग भन्दा बढी अर्थात् करिब २० लाख ८७ हजार जनाले आवेदन दिइएका थिए । यस कम्पनीको शेयरका लागि आवेदन दिने एक लाख ८४ हजार ८१५ लगानीकर्ताबाहेक १९ लाखभन्दा बढी खाली हात भएका थिए ।

साउन १४ गतेबाट दोस्रो कारोबार सुरु गरेको यस कम्पनीको सुरुवाती कारोबार मूल्य करिब ८९० रुपैयाँ थियो । कारोबार सुरु भएको एक महिना नबित्दै यस कम्पनीको प्रतिकित्ता शेयर ५१९८ रुपैयाँको दरमा कारोबार भइरहेको छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाको एक हजार रुपैयाँको आईपिओ पार्न सफल लगानीकर्ताले एक महिना नबित्दै करिब ५० हजार आम्दानी गरेका छन् ।

चन्द्रागिरी हिल्स

चन्द्र ढकाल, अम्विकाप्रसाद पौडेललगायत संस्थापक लगानीकर्ता रहेको चन्द्रागिरी हिल्सले गत वर्ष आईपिओ निष्कान गरेको थियो । २०७७ पुस २४ गतेबाट आईपिओ जारी गरेको यस कम्पनीको बिक्रि प्रबन्धकको जिम्मा ग्लोबल आईएमई क्यापिटलले पाएको थियो ।

१५ लाख ३४ हजार कित्ता आईपिओ जारी भएकोमध्ये १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो । यस कम्पनीमा पनि मागभन्दा बढी आवेदन परेको थियो ।

एक लाख ३९ हजार ६२२ कित्ताका लागि १२ लाख ५१ हजारले आवेदन भरेका थिए । २०७७ माघ २५ गते दोस्रो बजारमा १६५ को ओपनिङ रेन्ज पाएको यस कम्पनीको शेयर बढेर प्रतिकित्ता २६२५ रुपैयाँसम्म पुगेको थियो ।

यस कम्पनीमा १० कित्ता आईपिओ अर्थात एक हजाररुपैयाँ लगानी गर्ने लगानीकर्ताले एक महिनामै २६ हजार रुपैयाँसम्म कमाए । पछिल्लो समय चन्द्रागिरीको शेयरमूल्य १४८२ रुपैयाँ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर