गुल्मीका अधिकांश जनप्रतिनिधि एमालेमै, गोकर्ण विष्ट मूलधारमै लागेपछि नेता–कार्यकर्तालाई सजिलो – Nepal Press

गुल्मीका अधिकांश जनप्रतिनिधि एमालेमै, गोकर्ण विष्ट मूलधारमै लागेपछि नेता–कार्यकर्तालाई सजिलो

रुपन्देही । गुल्मी जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका दुई प्रभावशाली नेताहरु प्रदीप ज्ञवाली र गोकर्ण विष्ट नेकपा एमालेकोको मूल धारमै रहेपछि यहाँबाट माधव नेपालको एकीकृत समाजवादी पार्टीमा जाने निकै कम हुने भएका छन् ।

माधव नेपाल पक्षका भनेर चिनिएका नेता गोकर्ण विष्ट एमालै रहेपछि यहाँको निर्वाचन क्षेत्र नम्बर दुईका अधिकांश नेता, कार्यकर्तासँगै जनप्रतिनिधिहरु पनि एमालेमै रहेका छन् ।

नेकपा एमालेले गुल्मीका ८ स्थानीय तह जितेको छ । यसअघि केही जनप्रतिनिधि दुवैतिर नखुली बसेका थिए । गुल्मीका दुई शीर्ष नेता प्रदीप ज्ञवाली र गोकर्ण विष्ट एकै ठाउँमा भएपछि खुल्न नसकेका जनप्रतिनिधिलाई पनि अब सजिलो भएको छ ।

गुल्मीमा नेपाल समूहको समानान्तर कमिटी अध्यक्षमा रहेका मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले आफूहरु पार्टीभित्र अन्तरसंघर्षमा रहेपनि विभाजनको पक्षमा नलागेको बताए । ‘पार्टीभित्र हाम्रा असहमति थिए, हामीले त्यहीं बसेर विरोध गरेका थियौं, अहिले पनि चित्त नबुझेका विषय भित्रै बसेर छलफल गर्ने हो, विभाजनलाई साथ दिन सकिएन’, सापकोटाले भने, ‘एमालेले जितेका ८ पालिकामध्ये ७ वटामा हामी अन्तरसंघर्ष गर्ने समूहकै थियौं, अहिले सामूहिक निर्णय त गरेका छैनौं तर विभाजनको पक्षमा नजाने करिब सहमति भएको छ ।’

प्रतिनिधिसभामा दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा प्रत्यक्षतर्फका दुवै सिट, प्रदेश सभाका ४ वटै सिट नेकपाले जितेको थियो । गुल्मी क्षेत्र नं. १ मा प्रदीप ज्ञवालीको क्षेत्र हो भने क्षेत्र नं २ पूर्वमन्त्री गोकर्ण विष्टको निर्वाचन क्षेत्र हो ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादीसँग समीकरण गरेर निर्वाचनमा जाँदा ज्ञवालीले ८ हजार मतान्तरले कांग्रेसका नेता चन्द्र भण्डारीलाई पराजित गरेका थिए भने विष्टले १५ हजारको मतान्तरमा विपक्षी कांग्रेसका चन्द्र केसीलाई पराजित गरेका थिए ।

सांसदहरु को–कता ?

गुल्मीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जितेका प्रदीप ज्ञवाली र गोकर्ण विष्ट हुन् । ज्ञवाली र विष्ट दुवै एमालेमै छन् । त्यसैगरी प्रतिनिधिसभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने मैना भण्डारी एमालेमै छन् भने गुल्मीबाटै राजनीतिमा स्थापित भएकी रामकुमारी झाँक्री नेपाल समूहमा खुलेर लागेकी छन् ।

गुल्मीबाट लुम्बिनी प्रदेशसभामा प्रत्यक्षमा ४ र समानुपातिकमा १ गरी ५ जनाले प्रतिनिधित्व गरेका थिए । निर्वाचनको समयमा माधव नेपाल समूहमा रहेका गुल्मी क्षेत्र नं. १ बाट प्रदेशसभामा निर्वाचित कमलराज श्रेष्ठ अहिले संस्थापन समूहमा लागेका छन् ।
एमालेबाटै जिल्लाको क्षेत्र नं २ बाट प्रदेशसभामा निर्वाचित खड्ग केसी र माओवादीबाट प्रदेशसभामा निर्वाचित दिनेश पन्थी एमालेमै रहेका छन् ।

एमालेमा लागकै कारण दिनेश पन्थीलाई माओवादीले संसदबाट पदमुक्त गरेको छ । प्रदेशसभामा गुल्मीबाट सुदर्शन बराल प्रत्यक्षमा र समानुपातिकतर्फ गीता थापा माओवादी केन्द्रमा रहेका छन् । उनीहरु दुवै पूर्वमाओवादी नै हुन् ।

स्थानीय तहका जनप्रतिनिधि एमालेमै

१२ वटा स्थानीय तहमध्ये आठ वटा स्थानीय तहमा एमालेबाट प्रमुख उपप्रमुख विजयी भएका थिए । नेता गोकर्ण विष्टले पार्टी विभाजनमा नेता नेपाललाई साथ नदिएपछि नेपाल पक्षमा लागेकाजनप्रतिनिधि एमालेमै रोकिएका छन् ।

जिल्लाको छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थ र उपप्रमुख नर्मदा भण्डारी पहिलेदेखि नै खुलेर ओली समूहमा लागे पनि धेरैजसो पर्ख र हेरको नीतिमा थिए ।

मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा नेपाल समूहको समानान्तर कमिटीमा रहेपनि उनी स्वयं एमालेमा रहेपछि र नेता विष्टसँगै नेपाल समूहमै रहेका जनप्रतिनिधि एमालेमै रहने भएका हुन् ।

एमालेका दुवै प्रभावशाली नेता एमालेमै रहेपछि नेता कार्यकर्ता र जनप्रतिनिधिलाई सजिलो भएको एमाले नेता हरि पोखरेल बताउँछन् ।

गुल्मीका पुराना नेता शेषकान्त गौतम दुवै प्रभावशाली नेताहरु एकै ठाउँमा देखिँदा एमाले बलियोजस्तो देखिएपनि आन्तरिक समूह को–कता भने सबैको नखुलेको बताउँछन् । ‘अहिले ठ्याक्कै को, कता भन्ने खुलेका अवस्था त छैन, तर दुई नेता एकै ठाउँमा रहँदा धेरैलाई आफ्नो कित्ता खोल्न सहज होला, तर पहिले नै समूह बनाएका नेताहरु मिल्दा सबै मिल्छन् भन्ने नहुनसक्छ’, उनले भने ।

एमाले उपाध्यक्ष वामदेव गौतमको एकता अभियानको केन्द्रीय सदस्य रहेका उनले वामदेवले जता साथ दियो उतै रहने मनस्थिति बनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर