वर्षमान माओवादीको ‘डिफ्याक्टो’ महासचिव, नयाँ विधानले केन्द्रीय कार्यालयमा शक्ति केन्द्रित – Nepal Press

वर्षमान माओवादीको ‘डिफ्याक्टो’ महासचिव, नयाँ विधानले केन्द्रीय कार्यालयमा शक्ति केन्द्रित

काठमाडौं । शान्ति प्रक्रियामा आएदेखि नै लथालिंग ढंगले चलेको नेकपा (माओवादी केन्द्र)ले बल्ल पार्टी निर्माणको लयमा हिड्ने कोसिस गरिरहेको छ ।

हालै (साउन ३० र १३)मान बसेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार स्थायी समिति बैठक बसेर सांगठानिक संरचनालाई टुंग्याएको छ। लगभग सबै केन्द्रीय नेताले सांगठानिक जिम्मेवारी पाएका छन् ।

प्रभावशाली दुई नेताहरु जनार्दन शर्मा र वर्षमान पुनले माओवादीमा महत्वपूर्ण जिम्मेवारी पाएका छन् । अर्थमन्त्री समेत रहेका शर्माले संगठन विभाजको जिम्मेवारी पाएका छन् भने पुनले पार्टी केन्द्रीय कार्यालय इन्चार्ज र अर्थ तया योजना विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

माओवादी सांगठानिक संरचना टुंग्याएर जिम्मेवारी बाँडफाँट गरेपछि तत्कालीन माओवादीका आधार इलाका भनिने रोल्पा र रुकुमका यी दुई नेताहरुमध्य कसले महत्वपूर्ण जिम्मेवारी पाए भने चर्चा पनि चलेको छ । माओवादीमा प्रचण्डले आफूपछिको नेता कसलाई बनाउँछन् भन्ने अर्थमा पनि यी दुई नेताहरुले पाएको जिम्मेवारीको अर्थ हुन्छ ।

सैद्दान्तिक हिसाबले संगठन विभागको महत्वपूर्ण भूमिका हुन्छ । महासचिवलाई संगठन विभाग दिने प्रचलन पनि कम्युनिस्ट पार्टीहरुमा हुन्छ । संगठन विभागको जिम्मेवारी शर्माले पाउँदा कतिपयले प्रचण्डले उनलाई अगाडि बढाउन खोजेका हुन कि भन्ने पनि लख काटेका छन् ।

तर, माओवादी स्रोतका अनुसार खासमा प्रचण्डले वर्षमानलाई महत्वपूर्ण जिम्मेवारी दिएका हुन् । पुनले केन्द्रीय कार्यालय र आर्थिक तथा योजना विभाग पाएसँगै ‘डिफ्याक्टो’ महासचिवका रुपमा काम गर्न थालेको कतिपयको भनाइ छ।

माओवादीले पछिल्लो पटक बनाएको अन्तरिम विधानममा वहुपदाधिकारी रहने व्यवस्था गरिएको छ । त्यस अुनसार पुस ११, १२ र १३ मा हुने राष्ट्रिय सम्मेलनपछि माओवादीमा पदाधिकारी चयन हुनेछन् ।

धेरैको चासो प्रचण्डले महासचिव कसलाई बनाउलान् भन्ने चासो छ। स्वभाविक रुपमा महासचिवका दावेदारहरुमध्ये शर्मा र पुन हुनेछन् ।

तर, प्रचण्डले वर्षमानलाई केन्द्रीय कार्यालयको इन्चार्ज बनाएर अहिलेदेखि नै ‘डिफ्याक्टो’ महासचिव उनलाई बनाइसकेको कतिपयको टिप्पणी छ ।

हालैको केन्द्रीय समिति बैठकबाट अनुमोदन भएको अन्तरिम विधानमा केन्द्रीय कार्यालयलाई शक्तिशाली बनाइएको छ, जसको अधिकार महासचिवको जस्तै छ ।

महासचिव, केन्द्रीय कार्यालय र केन्द्रीय सचिवालयको अधिकार र कर्तव्य लगभग उस्तै उस्तै छन् । त्यति मात्रै होइन, पुनले पाएको अर्थ तथा योजना विभागको काम, कर्तव्य र अधिकार पनि अन्य तीनको जस्तै छ ।

पुन निकट स्रोतले भन्यो, ‘हेर्दा संगठन विभाग कसले पायो भन्ने देखिन्छ । तर तपाईहरुले के बुझ्नुपर्छ भने अहिले विधानले व्यवस्था गरेको केन्द्रीय कार्यालय भनेको महासचिव हो । केन्द्रीय कार्यालय अन्तर्गत हुन् सबै विभागहरु । महासचिव चयन नहुन्जेल उहाँले नै त्यो काम गर्ने हो, केन्द्रीय कार्यालय भन्नाले पेरिसडाँडा भन्ने बुझ्नु हुन्न त्यो भनेको प्रचण्डपछि सिंगो पार्टीको कमाण्ड हो ।’

विधानमा ‘केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक कार्यहरु सम्पादन गर्नका लागि महासचिवको नेतृत्वमा उपमहासचिव, सचिवसमेतको एक केन्द्रीय सचिवालय रहने’ व्यवस्था हुनु र पुनले केन्द्रीय कार्यालय इन्चार्जको भूमिका पाउनुले पनि प्रचण्डले उनलाई नै महासचिवका रुपमा अगाडि बढाउने संकेत प्रष्ट देखिन्छ ।

जे समान छन्

केन्द्रीय कार्यालयले केन्द्रीय स्तरका कार्ययोजना वा कार्यक्रमको प्रस्ताव तयार गर्ने छ। त्यस्तै केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समितिको बैठकका लागि कार्यसूचीसम्बन्धी प्रस्ताव तयार गर्ने व्यवस्था विधानमा छ। यो महासविचको काम अधिकारसँग मिल्दाजुल्दो छ ।

महासचिव नेतृत्वमा हुने केन्द्रीय सचिवालय उस्तै काम गर्ने छ । विधानमा भनिएको छ– ‘केन्द्रीय विभाग, मातहत समिति, संसदीय दल, संयन्त्र, कार्यदललगायतका कामको प्रतिवेदन नियमित रूपमा प्राप्त गरी मूल्यांकन प्रतिवेदन तयार गर्ने र ती प्रतिवेदनहरु केन्द्रीय समिति, पोलिट्ब्युरो तथा स्थायी समिति र केन्द्रीय कार्यालयमा प्रस्तुत गर्ने।’

त्यस्तै महासचिवले ‘केन्द्रीय समिति, पोलिट्ब्युरो र स्थायी समितिका बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट, राष्ट्रिय महाधिवेशन र राष्ट्रिय परिषदको बैठकमा केन्द्रीय समितिको तर्फबाट संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने’ काम पनि माथि उल्लेखित कामसँग मिल्दा जुल्दा छन् ।

त्यसो त वर्षमान पुनको पकड माओवादी संगठनमा बलियो छ । जनयुद्धकालमा पूर्वको र मध्य क्षेत्रको समेत कमाण्ड गरेको र शान्ति प्रक्रियापछि मोरङ र ललितपुरमा चुनाव लडेका कारण वर्षमान एक भेगमा सिमित नभएको तर्क उनी निकटहरुको छ ।

एमालेसँग एकीकरणअघि माओवादीका ७७ जिल्ला अध्यक्षमध्ये ४७ जना वर्षमान निकट रहेको उनीहरुको दावी छ । माओवादीमा महासचिवका दाबेदार नारायणकाजी श्रेष्ठ, कृष्णवहादुर महरा, हरिबोल गजुरेलदेखि जनार्दन शर्मासम्मका नेता छन् । तर पछिल्लो कार्यविभाजनले वर्षमानको बाटो क्लियर भएको चर्चा माओवादी वृत्तमा चलेको छ ।

केन्द्रीय कार्यालयको अधिकार र कर्तव्य

–केन्द्रीय कार्यालय सञ्चालन गर्ने ।
–केन्द्रीय स्तरका कार्ययोजना वा कार्यक्रमको प्रस्ताव तयार गर्ने ।
–केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समितिको बैठकका लागि कार्यसूची सम्बन्धी के प्रस्ताव तयार गर्ने ।
–समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने ।
–केन्द्रीय समिति, पोलिट्ब्युरो र स्थायी समितिका निर्णयहरुलाई अन्तरपार्टी निर्देशन जारी गर्ने ।
–राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन, गोष्ठि आदिमा प्रतिनिधि पठाउने ।
–केन्द्रीय समिति, पोलिट्ब्युरो र स्थायी समितिले तोकेका अन्य कार्यहरू गर्ने ।

केन्द्रीय सचिवालयको अधिकार र कर्तव्य

–केन्द्रीय कार्यालयको व्यवस्थापन गर्ने ।
–लगतहरुको अभिलेखिकरण गर्ने ।
–आर्थिक व्यवस्थापन गर्ने ।
–कार्यालयका भौतिक सम्पत्तीहरुको संरक्षण गर्ने ।
– कार्यालयको निम्ति आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने ।
–केन्द्रीय विभाग, मातहत समिति, संसदीय दल, संयन्त्र, कार्यदललगायतका कामको प्रतिवेदन नियमित रूपमा प्राप्त गरी मूल्यांकन प्रतिवेदन तयार गर्ने र ती प्रतिवेदनहरु केन्द्रीय समिति, पोलिट्ब्युरो तथा स्थायी समिति र केन्द्रीय कार्यालयमा प्रस्तुत गर्ने ।

महासचिवको अधिकार र कर्तव्य

–अध्यक्षको निर्देशनमा राष्ट्रिय परिषद्, केन्द्रीय समिति, पोलिटब्यरो, स्थायी समिति र केन्द्रीय कार्यालयको बैठकका कार्यसूची तयार गर्ने र बैठक बोलाउने ।
–अध्यक्षको निर्देशनमा पार्टीका नीति एवम् निर्णयको कार्यान्वयनका लागि कार्ययोजन तयार गरी केन्द्रीय समिति, पोलिट्ब्युरो, स्थायी समिति र केन्द्रीय कार्यालयको बैठक समक्ष प्रस्तुत गर्ने ।
–केन्द्रीय समिति, पोलिट्ब्यरो र स्थायी समितिका बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट, राष्ट्रिय महाधिवेशन र राष्ट्रिय परिषदको बैठकमा केन्द्रीय समितिको तर्फबाट संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने ।
–केन्द्रीय समिति, पोलिट्ब्यरो, स्थायी समिति र केन्द्रीय कार्यालयका निर्णयहरू कार्यान्वयन गर्न अध्यक्षलाई सहयोग गर्ने ।
–पार्टीको प्रशासकीय व्यवस्थापनको नेतत्व र निर्देशन दिने ।
–केन्द्रीय समिति, पोलिटब्यूरो, स्थायी समिति र केन्द्रीय कार्यालयले तोकेका अन्य कार्यहरू गर्ने।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर