सुदूरपश्चिमबाट एमालेका पाँच केन्द्रीय सदस्य र छ सांसद एकीकृत समाजवादीमा – Nepal Press

सुदूरपश्चिमबाट एमालेका पाँच केन्द्रीय सदस्य र छ सांसद एकीकृत समाजवादीमा

कैलाली । नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेशबाट एमालेका पाँच केन्द्रीय सदस्य र छ सांसद लागेका छन् ।

सुदूरपश्चिम प्रदेशमा एमालेका २३ केन्द्रीय सदस्य छन् । नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि पेश भएको नामावलीको सनाखतमा चारजना परेका हुन् ।

कैलालीकी मदनकुमारी शाह ‘गरिमा’, कञ्चनपुरका रामकुमार ज्ञवाली, डडेल्धुराकी निरादेवी जैरु,विक्रम शाही, र डोटीका प्रेमबहादुर आलेले सनाखतमा गरेका हुन् ।

यसअघि माधव पक्षमै रहेका केन्द्रीय सदस्य भीम रावल, झपट रावल, र प्रकाश शाहले माधव नेपालको साथ छाडेका छन् ।

चारजना बाहेक लेखराज भट्ट, कर्ण थापा, महेश्वर पाठक, राजेन्द्र रावल, दीपक देवकोटा, नारदमुनि राना, लालबहादुर विक, लीला भण्डारी, गौरी ओली, पुरनसिंह दयाल, गणेशसिंह ठगुन्ना, लालबहादुर थापा, निरु पाल र भैरव सिंह एमालेमै रहेका छन् ।

यद्यपी भानुभक्त जोशी,लिला भण्डारी,लेखराज भट्ट,दिपक देवकोटा,गौरी ओली,लालवहादुर विक,राजेन्द्रसिंह रावललगायत केही सदस्य २०३ सदस्यीय केन्द्रीय कमिटीका सदस्य होइनन् । उनीहरु नेकपाकालको निरन्तरता हुन् ।

रावल तारा लामा तामाङसँग जिल्ला अध्यक्षमा पराजित भएका हुन् । महाधिवेशन प्रतिनिधि हारेका रावललाइ एमाले माओवादी एकीकरणका बेला केन्द्रीय सदस्य नियुक्त गरिएको थियो ।

२० मध्ये छ सांसद एकीकृत समाजवादीमा

सुदूरपश्चिम प्रदेशका एमालेका ११ प्रत्यक्ष र समानुपातिकका ५ सांसद छन् भने राष्ट्रियसभामा चारजना सहभागी छन् ।

कुल २० सांसदमध्ये एकीकृत समाजवादीमा ६ जना सांसद लागेका छन् । तीमध्ये ५ जनाले मात्रै सनाखत गरेका छन् ।

निरा देवी जैरु, प्रेम बहादुर आले, लक्ष्मी चौधरी, विना बुढाथोकी र शेरबहादुर कुँवरले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । नेकपा एकीकृत समाजवादीमा रहेर पनि पहिलोपटक दल दर्ताको बेला हस्ताक्षर नभएकाले शारदा भट्टको सनाखत हुन सकेन ।

राष्ट्रियसभामा चारमध्ये भट्ट र कुँवर नेकपा एकीकृत समाजवादीतर्फ लागे पनि कञ्चनपुरका इन्दु कडरिया विष्ट, डडेल्धुराका चक्र स्नेही एमालेमै रहेका छन् ।

प्रत्यक्ष निर्वाचित ११ जनामध्ये आले एक्लैले नेपाललाई साथ दिएका छन् । त्यसबाहेक कैलालीका नारदमुनि राना, कञ्चनपुरका नरबहादुर धामी, बैतडीका दामोदर भण्डारी, बाजुराका लालबहादुर थापा, बझाङका भैरवसिंह, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी एमालेमै छन् ।

यसअघि नेपाल पक्षमा रहेका अछामका भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दीपकप्रकाश भट्ट एकीकृत समाजवादीमा गएनन् ।

समानुपातिकमा प्रदेशका ५ जनामध्ये कैलालीकी लक्ष्मी चौधरी, डडेल्धुराकी निरादेवी जैरु र कञ्चनपुरकी विना बुढाथोकी नयाँ पार्टीमा गए ।

कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक एमालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर