जिल्ला सभापतिहरुको मागमा पौडेल समूहको समर्थन, सदस्यता सूची सार्वजनिक गर्न माग – Nepal Press

जिल्ला सभापतिहरुको मागमा पौडेल समूहको समर्थन, सदस्यता सूची सार्वजनिक गर्न माग

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले जिल्ला सभापतिहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउने निर्णय गरेको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सम्पन्न बैठकले जिल्ला सभापतिहरुले राखेका मागहरु सम्बोधन गर्न पार्टी नेतृत्व तयार हुनुपर्ने निष्कर्ष निकालेको हो । त्यस्तै सबै नेताहरु पार्टी कार्यालय सानेपामै पुगेर आन्दोलनमा ऐक्यवद्धता जनाउने निर्णय पनि गरिएको छ ।

‘क्रियाशील सदस्यताको सूची अपारदर्शी भयो । सहमति विपरीत विभिन्न वडामा नामहरु थप्ने र हटाउने काम भइरहेको जानकारी आएकोले क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेर मात्रै अरु प्रक्रिया अगाडि बढाउनुपर्ने देखिन्छ । त्यसैले जिल्ला सभापतिहरुको मागमा ऐक्यवद्धता जनाउने निर्णय गरेका छौ’, बैठकमा सहभागि एक नेताले भने ।

आजै २ बजेपछि वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिंह, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा.शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु लगायत सानेपा पुगेर अनसनमा समर्थन जनाउने बताइएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नुवाकोट सभापति जगदीश्वरनरसिंह केसी, काभ्रे सभापति मधु आचार्य, धादिङ सभापति रमेश धमला तथा युवा नेताहरु रञ्जित कर्ण र डिल्लीराम सुवेदी आज रिले अनसनमा बस्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर