अफगानिस्तानबाट फर्केकालाई किन खुवाइँदैछ पोलियो थोपा ? – Nepal Press

अफगानिस्तानबाट फर्केकालाई किन खुवाइँदैछ पोलियो थोपा ?

काठमाडौं । सरकारले अफगानिस्तानबाट उद्धार गरी ल्याइएका नेपालीलाई पोलियो थोपा खुवाउन सुरु गरेको छ । अफगानिस्तानमा तालिबानको कब्जासँगै असुरक्षाको अवस्था भएपछि नेपाली विभिन्न माध्यमबाट घर फर्किरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार कतार एयरको उडानबाट आएका १ सय ४ जना र टर्किस एयरबाट आएका ७ जना गरेर पहिलो दिन १ सय ११ जनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पोलियो थोपा खुवाइएको छ । यस्तै दोस्रो दिन मंगलबार जोर्डन एभिएसनको उडानबाट १ सय ३ जना तथा कतार यएरको उडानबाट ९ जना समेत गरी १ सय १२ जनालाई पोलियो थोपा खुवाइएको छ । दुइ दिनमा २ सय २३ जनालाई  पोलियो थोपा खुवाईएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका प्रमुख एवम बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. झलक शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

अफगानिस्तानमा फैलिएको पोलियो संक्रमण नेपालमा पनि भित्रिनसक्ने भएकाले पोलियो थोपा खुवाउने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । अफगानिस्तानबाट उद्धार भएर नेपाल फर्किसकेकाले आफु बस्ने स्थानीय तहको स्वास्थ्य संस्थामा र पायक पर्ने स्वास्थ्य केन्द्रबाट पोलियो थोपा लिन सक्ने मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

विश्वका धेरै देशमा अहिले पोलियो उन्मुलन भैसकेको भए पनि अफगानिस्तानमा भने अझै पनि पोलियोको संक्रमण कायमै रहेको छ ।आइसकेकाले आफ्नो पायक पर्ने ठाउँमा र आजभोली अफगानिस्तानबाट फर्किने नेपालीलाई भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नै पोलियो थोपा खुवाउने व्यवस्था मिलाइएको सचिव पोखरेलको भनाई छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले ७ वटै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पोलियो थोपा खुवाउने व्यवस्था गर्न परिपत्र गरेको छ ।

अफगानिस्तानबाट उद्धार गरी नेपाल आएका सबै नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनेवित्तिकै विमानस्थलमा रहेको हेल्प डेस्कबाट पोलियो थोपा खुवाउने व्यवस्था गर्न परिपत्रमार्फत आग्रह गरिएको छ।  उपत्यका बाहिर गएका व्यक्तिको हकमा सम्बन्धित जिल्लास्थित स्वास्थ्य कार्यालयको समन्वयमा पोलियो थोपा खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले जनाएको छ ।

भारतले हिजै मात्र अफगानिस्तानबाट फर्केकाहरुलाई पोलियो थोपा खुवाउने निर्णय गरेको थियो । त्यसको सिको गर्दै नेपालले पनि त्यही निर्णय लिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा दुईवटा राष्ट्रमा मात्रै पोलियो उन्मूलन भएको छैन– पाकिस्तान र अफगानिस्तान । यी दुवै दक्षिण एसियाली राष्ट्र हुन् ।

वाइल्ड पोलियो भाइरस (डब्लुपीभी) का तीन प्रकार हुन्छन् । टाइप १, टाइप २ र टाइप ३ । यीमध्ये दुईवटा भाइरसको विश्वभरबाट उन्मूलन भइसकेको छ । टाइप २ नामक पोलियो भाइरस उन्मूलन भएको सन् २०१५ मा घोषणा भएको थियो भने सन् २०१९ मा टाइप ३ भाइरस उन्मूलनको घोषणा डब्लुएचओले गरेको थियो ।

अब टाइप १ भाइरस अफगानिस्तान र पाकिस्तानमा बाँकी छ । टाइप टु भाइरसका अन्तिम बिरामी भारतमा फेला परेका थिए । त्यसको १६ वर्षपछि सन् २०१५ मा यसको उन्मूलन घोषणा भएको हो । यस्तै टाइप थ्रीका अन्तिम बिरामी उत्तरी नाइजेरियामा फेला परेको पनि नौ वर्ष बितिसकेको छ । नेपालमा भने पोलियोका बिरामी नदेखिएको ११ वर्ष बितिसकेको छ । सन् २०१० यता पोलियोका बिरामी नदेखिएको भएतापनि क्षेत्रीय रुपमा एकैपटक घोषणा गर्ने डब्लुएचओको नीतिले गर्दा नेपालले सन् २०१४ सम्म प्रतिक्षा गर्नुपरेको थियो ।

तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले पोलियोमुक्त राष्ट्रको प्रमाणपत्र लिएर आएका थिए । डब्लुएचओले पोलियो रोगबाट बच्नका लागि तीनै प्रकारका भाइरसबाट जोगिनुपर्ने भन्दै त्यसका लागि खोप नै सर्वोत्तम उपाय भएको सुझाएको छ ।

पोलियोले खासगरि पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ । प्रत्येक दुई सयजना पोलियोका बिरामीमध्ये एकजनालाई पहिलेको अवस्थामा फर्किन नसक्ने गरी पक्षघात हुने चिकित्सक बताउँछन् । श्वासप्रश्वासका लागि सहायक मांसपेशीलाई पक्षाघातको असर परेमा मृत्यू हुन सक्छ । पोलियो लागेपछि यसको उपचार नहुने भएकाले पहिल्यै खोप लगाएर बच्न सकिन्छ ।

परराष्ट्र मन्त्रालयले भने अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिक नेपाल फर्कने प्रकृया जारी रहेको जनाएको छ । मंगलबार मात्र जोर्डन एभिएसनको उडानबाट १ सय ३ जना तथा कतार यएरको उडानबाट ९ जना समेत गरी १ सय १२ जना स्वदेश फर्किएका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म ७ सय ७० जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव सेवा लम्सालले नेपाल प्रेसलाई जानकारी दिइन । उनका अनुसार आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी कोभिड–१९ संकट व्यवस्थान केन्द्र (सीसीएमसी)को समन्वयमा उनीहरुलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड–१९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीलाई काठमाण्डौसम्म ल्याउनको लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ। काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म खुली नसकेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर