विवाह गर्न दबाब दिएपछि १७ वर्षीया किशाेरीको हत्या, एक वर्षपछि आराेपी पक्राउ – Nepal Press

विवाह गर्न दबाब दिएपछि १७ वर्षीया किशाेरीको हत्या, एक वर्षपछि आराेपी पक्राउ

कास्की । कास्कीमा १७ वर्षीया किशाेरी हत्यामा संलग्न एक पुरुष एक वर्षपछि पक्राउ परेका छन् । मादी गाउँपालिका-१० मकै खोलास्थित मामा घर बस्ने सिप्लिवेशी घर भएकी १७ वर्षीया कोपिला परियारको हत्या गरेको आरोपमा स्याङ्जा हरिनास गाउँपालिका-६ चालिसे बस्ने ४५ वर्षीय खड्क बहादुर खवासलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

परियार गत वर्ष असार १० गते घरबाट खोलामा नुहाउन जान्छु भनेर बेपत्ता भएकी थिइन् । उनी बेपत्ता भएको १५ दिन पछि उनको शव मुखिएको सेरस्थित पातिघारीमा शव फेला परेको थियो ।

परिवारले परियारको हत्या भएको हुन सक्ने भन्दै छानविन गर्न दबाब दिएको थियो । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सहयोगमा स्याङ्जा पुतलिबजार नगरपालिका४ शिवमन्दिर चोकबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कोपिला र खड्गबीच पहिलै देखि चिनजान रहेको थियो । उनीहरुबीच प्रेमी प्रेमिकाको सम्बन्ध रहेको थियो । कोपिलाले विवाह गर्न दबाब दिएपछि हत्या गरेको खड्कले स्वीकार गरेका छन् ।

उनी उपर जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा १० दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर