बाढीले भजनीका आधा दर्जन परिवार विस्थापित, हुलाकी सडक जोखिममा – Nepal Press

बाढीले भजनीका आधा दर्जन परिवार विस्थापित, हुलाकी सडक जोखिममा

वर्षदिनसम्म पनि पूरा भएन तटबन्ध बनाउने मुख्यमन्त्रीको आश्वासन

कैलाली । गत वर्ष १४ साउनमा आएको बाढीले भजनी नगरपालिकामा ठूलो क्षति गर्यो । बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको थियो भने भजनी नगरपालिका–५ लालबोझीस्थित हुलाकी सडकमा क्षति गरेको थियो ।

बाढी गएको १७ दिन पछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट दलबलसहित निरीक्षणमा गर्न त्यहाँ पुगे । हुलाकी सडकमा बाढीले क्षति गर्नसक्ने र बस्ती नै जोखिममा पर्नसक्ने भन्दै तत्काल तटबन्ध गर्ने आश्वासन दिएर मुख्यमन्त्री फर्किए ।

आश्वासन दिएको एक वर्षसम्म न मुख्यमन्त्री फेरि पुगे न त तटबन्ध नै बन्यो । जसकारण केही समयअघि आएको बाढीले हुलाकी सडकको करिब एक सय मिटर सडक बगायो ।

‘त्यो बेला स्थलगत निरीक्षणमै मुख्यमन्त्रीले तटबन्धको आश्वासन दिनुभएको थियो । तर, काम हुन सकेन’ वडा नम्बर ५ का वडाध्यक्ष केशव बुढाले भने ‘अहिले सडक मात्रै बाढी बगाएको छैन, आधा दर्जन बढी परिवार विस्थापित भइसकेका छन् ।’

मुख्यमन्त्रीले दिएको आश्वासन पूरा गराउन स्थानीयले सडक अवरुद्ध गरेरै आन्दोलन गर्नुपरेको थियो । साउनमा आश्वासन दिएर फर्किएका मुख्यमन्त्री भट्टले छ महिनासम्म चासो नदिएपछि माघ ११ गते स्थानीयले आन्दोलन गरे ।

उनीहरुले हुलाकी सडक भत्काउँदै गरेको क्षेत्रमा तटबन्ध तथा गौतारीया बाटोमा ग्राभेलको माग गर्दै आन्दोलन गरेका थिए । ग्राभेलको माग वडा कार्यालयबाटै सम्बोधन भएपनि तटबन्धको माग भने पूरा भएन ।

मुख्यमन्त्रीले आफ्नै आश्वासन भुलेको भन्दै चैत्र ११ गते स्थानीयले सडक नै अवरुद्ध गरे । ‘हामी आश्वासन पाएर थाकिसकेका थियौँ’ स्थानीय खोजराम चौधरीले भने ‘सडक अवरुद्ध गरेपछि केही प्रभाव परेको आभास भयो ।’

२१ चैतमा भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरी, सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित सांसद वीरमान चौधरी, वडाध्यक्षलगायतका जनप्रतिनिधि र स्थानीय मुख्यमन्त्री कार्यालयमै गए ।

केही रकम स्थानीय तहले खर्च गर्ने, केही मुख्यमन्त्री कार्यालयबाटै व्यवस्थापन गर्ने र बाँकी रकम हुलाकी सडक योजना कार्यालय धनगढीलाई व्यवस्थापन गर्ने भन्दै मुख्यमन्त्रीले अर्काे आश्वासन दिएको वडाध्यक्ष बुढा बताउँछन् ।

पहिले चासो नदिएपछि हामीले फेरि तातेका थियौँ । ‘मुख्यमन्त्री कार्यालय पुगेपछि अर्काे आश्वासन आयो’ उनले भने ‘आश्वासन होइन हामीलाई काम चाहियो भनेपछि केही रकम विनियोजन हुने देखियो ।’

स्थानीयको चर्को दबाबपछि असार १० गते प्रदेश सरकारले २५ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर, २५ लाख ८ दिनमा सक्न निर्देशन आएको बताउँदै वडाध्यक्ष बुढाले भने, ‘सबै मिलेर काम गरौँला भनेर उपभोक्ता समिति समेत गठन गर्यौँ । नगरपालिकाले त्यहीं पैसा पनि दिएन ।’

समयमा बजेट उपलब्ध नगराउँदा अहिले हुलाकी सडक नदीले बगाएको हो । स्थानीय अहिले नदी गाउँ पस्ने डरमा छन् । नदी नजिक रहेका ६ वटा घर विस्थापित भइसकेका छन् । ‘केही घर त नदीले बगाइसकेको छ’ स्थानीय खोजराम चौधरीले भने ‘अझै चासो नदिए हामी सबै विस्थापित हुनुपर्छ ।’

त्यो बेला मुख्यमन्त्री मात्रै होइन, सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्तासमेत रहेका तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी, तत्कालीन प्रतिनिधिसभा सदस्य तथा पूर्व कृषिमन्त्री गौरीशंकर चौधरीले पनि निरीक्षण गरेका थिए ।

त्यसपछि प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको जम्बो टोली नै निरीक्षण गर्न पुग्यो । सोही दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल पनि निरीक्षणमा पुगेका थिए ।

निरीक्षण गर्न आए पनि तटबन्ध नगरिदिएपछि नदी तटीय क्षेत्रका नागरिक थप जोखिममा परेको स्थानीयको भनाइ छ ।

‘सडक बगायो केही घर विस्थापित भए । अझै सरकारले चासो नदिए ठूलो घटना हुन सक्छ’ स्थानीय राम किसन डगौरा भन्छन्, ‘नदीले धार परिवर्तन गरिरहेको छ । नदी नै गाउँ पस्यो भने यसको जिम्मेवारी सरकारले लिनुपर्छ ।’

हुलाकी सडक आयोजना कार्यालय धनगढीले केही समय भित्रै तटबन्ध हुने दाबी गरेको छ ।

‘हुलाकी राजमार्ग निर्देशनालयबाटै त्यसको ठेक्का गर्ने तयारी भइरहेको छ’ हुलाकी सडक योजना कार्यालय धनगढीका सूचना अधिकारी पदम मडैले भने ‘हामीले पनि चाँडै तटबन्ध गर्नुपर्छ भन्दै ताकेता गरिरहेका छौँ ।’

असोजसम्म सम्झौता सम्पन्न गरेर कात्तिकबाट काम सुरु गर्ने र वैशाख भित्रै काम सम्पन्न गर्ने रणनीति रहेको उनले सुनाए । वैशाखपछि वर्षाका कारण काम गर्न नसकिने समेत उनले स्पष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *