माधव छाडेकालाई एमालेमै राख्न १० बुँदे कार्यान्वयनको टाइमलाइन, स्थायी कमिटी बैठक तत्कालै बस्ने – Nepal Press

माधव छाडेकालाई एमालेमै राख्न १० बुँदे कार्यान्वयनको टाइमलाइन, स्थायी कमिटी बैठक तत्कालै बस्ने

काठमाडौं । नेकपा एमाले विभाजनमा माधव नेपाललाई साथ नदिएका नेताहरूको माग सम्बोधन गर्न १० बुँदे सहमति कार्यान्वयनको ‘टाइमलाइन’ सहित मोडालिटी बन्ने भएको छ ।

१० बुँदे सहमति अक्षरशः पालना भए एमालेमै बस्ने मनस्थितिमा रहेका नेताहरू यसबारे निर्णायक छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोट पुगेका थिए । छलफलमा विघटित कार्यादलका नेताहरूसहित महासचिव ईश्वर पोखरेल पनि सहभागी थिए ।

माधव नेपालले दल दर्ताका लागि निवेदन दिइसकेको र भोलिसम्म सनाखत गर्ने बेला संघीय संसद र केन्द्रीय कमिटीमा रहेका नेताहरूले आफ्नो कित्ता प्रष्ट पार्नुपर्ने भएकाले आजको बालकोट छलफललाई निर्णायक मानिएको छ ।

माधव नेपाललाई विभाजनमा साथ नदिएका केन्द्रीय सदस्य र सांसदहरूसहितको विगतको माधव नेपाल समूहको आधाभन्दा ठूलो हिस्सा भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्यलगायतको समूहमा छ । त्यसलाई एमालेमै राख्न १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी बनिरहेको एक नेताले बताए ।

त्यसमा सहमतिपछि आजै साँझसम्म वा भोलि बिहानै माधव नेपाल छाडेका १० जना नेतासहितको स्थायी कमिटी बैठक बस्ने भएको छ । दश बुँदे कार्यान्वयनका सन्दर्भमा देखिने समस्या समाधान गर्न कार्यदलको समेत प्रस्ताव गरिएको छ ।
दश बुँदे कार्यान्वयनका लागि अध्यक्ष ओलीलाई मनाउने जिम्मा यसअघि आइतबारको छलफलमै शंकर पोखरेलले लिएका थिए । कार्यदलमा रहेका माधवपक्षीय नेताहरूको सहमतिमै कार्यसूची बनाएर अध्यक्ष र महासचिवले स्थायी कमिटी बैठक बोलाउने नेता पोखरेलले बताएका छन् ।

दश बुँदे सहमतिको मुख्य स्पिरिट नेकपाकालमा समेटिएका नेताहरूसहित २०७५ जेठ २ अघिका एमालेका संरचनाहरू क्रियाशील गराउने र जहाँ समस्या पर्छ त्यहाँ कार्यदलले टुंगो लगाउने उनले बताए । त्यसबाहेक विधान महाधिवेशनका सन्दर्भमा माधव नेपाल छाडेर आउनेहरूका समेत सरोकार सम्बोधन गरेर अघि बढ्ने तयारी संस्थापन पक्षको छ ।

माधव नेपालको पार्टीमा नजानेहरू जेठ २ अघि जुन पदमा थिए त्यही पदमा रहने सहमति भएको छ । माधव नेपाल पक्षका ३० भन्दा बढी जिल्ला अध्यक्ष थिए । नेपालसँग नजानेहरूले अब जेठ २ अघिकै कमिटीको बैठक बोलाएर पार्टी गतिविधि अघि बढाउन पाउने गरी मोडालिटीमा छलफल भइरहेको छ ।

१० प्रतिशत केन्द्रीय सदस्य मनोनयनलगायतका विषयमा पनि सहमतिनजिक पुगेको छ । तर, ओलीले अब गुटका आधारमा डिल नहुने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर