ओभरलोडेड भारतीय ट्रकलाई निस्फिक्री, नेपालीलाई कडाइ – Nepal Press

ओभरलोडेड भारतीय ट्रकलाई निस्फिक्री, नेपालीलाई कडाइ

सडकमै सुतेर आन्दोलन गर्ने नेपाली व्यवसायीको चेतावनी

रुपन्देही । नेपाली ट्रक तथा ढुवानी व्यवसायीलाई ओभरलोडमा कडाइ गरेको सरकारले भारतबाट आउने मालबाहकलाई ट्रकलाई बेपरवाह छाडिदिँदा नेपाली व्यवसायी मर्कामा परेका छन् । भारतीय गाडीकै कारण आफूहरु खाली बस्नुपरेको र नेपालका सडक–संजालको क्षमताभन्दा बढी लोड भएका मालबाहक साधन सडकमा गुड्दा सडक ध्वस्त भएको व्यवसायीको तर्क रहेको छ ।

पटक–पटक नियामक निकायलाई यो विषयमा ध्यानाकर्षण गराइएपनि नेपाली व्यवसायीका कुनै कुरा सुनुवाइ नभएको नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले बताए ।

भारतीय मालबाहक गाडीको ओभरलोड नरोकिए कडा आन्दोलन गर्ने लुम्बिनी प्रदेशका ट्रक तथा ढुवानी व्यवसायीले घोषणा गरिसकेकाले यसलाई कसैले चाहेर रोक्न नसकिने उनको भनाइ छ ।

भारतीय गाडीकै कारण आफूहरु खाली बस्नुपरेको र नेपालका सडक–संजाल भत्किएको भन्दै पोखरेलले भने– ‘सरकारले कडाइ नगरे ओभरलोड रोक्न हामीहरु सडकमै सुत्न तयार रहेका छौं, यो रहर होइन, बाध्यता हो ।’

सीमानाकाबाट नेपाल भित्रने सबैजसो भारतीय मालबाहक गाडीले ओभरलोड बोकेर आउँछन् । यसरी आउने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना काटेर छाड्ने गरेको छ । जरिवानाकै भरमा ओभरलोड छाडिँदा नेपालका सडक भत्किएका छन् भने नेपाली ट्रक तथा ढुवानी व्यवसायीले सामान बोक्न नपाउँदा खाली बस्नुपरेको पोखरेलको भनाइ छ ।

ओभरलोडविरुद्ध निरन्तर विरोधमा उत्रिएका लुम्बिनी प्रदेशका ढुवानी तथा ट्रक व्यवसायीले यसअघि करिब एकहप्ता रुपन्देहीको बेलहिया नाकामा भारतीय ओभरलोड गाडी रोकेका थिए । यति गर्दासमेत ओभरलोड नियन्त्रणमा नआएको भन्दै व्यवसायीले कडा आन्दोलनको चेतावनी दिएका हुन् ।

ओभरलोड नरोकिए सडकमै सुतेर सरकारलाई झुकाउने नेपाल ट्रक यातायात व्यवसायी महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष अर्जुन रानाभाटले बताए । सरकारले नेपालीको ट्रक व्यवसायीका पीडा कहिल्यै ध्यान नदिएको उनले गुनासो गरे ।

मालबाहक सवारी साधनको भारबहन नियमनसम्बन्धी निर्देशिका– २०७४ अनुसार भारतबाट ओभरलोड बोकेर आउने गाडीले भन्सार बिन्दुमै भारमिलान गरी सम्बन्धित ठाउँमा जानुपर्ने व्यवस्था छ । तर ओभरलोड बोकेर आउने भारतीय गाडीको भारमिलान हुँदैन ।

यसले गर्दा नेपाली व्यवसायीले काम नै पाउँदैनन् । भारमिलान गर्ने हो भने नेपाली ट्रकले भारमिलान गरेको सामान बोक्न पाउँथे । तर यसो गरिँदैन । जसले गर्दा व्यवसायी मर्कामा परेका हुन् । व्यवसायीले एकहप्ता अघि सरकारले जारी गरेको भाडादर लागू गर्ने र ओभरलोड नियन्त्रणमा कडा भएर उत्रिने पश्चिाञ्चल यातायात व्यवसायी संघका अध्यक्ष यमप्रसाद पाण्डेले बताए ।

व्यवसायीहरुले सरकारले तोकेको भाडदरभन्दा बढी वा कम लिएर ढुवानी गरेको पाइए सवारी दर्ता नगर्ने, दुर्घटनाको भुक्तानी नदिने निर्णय गरेका छन् । नियमअनुसार नेपालमा चल्ने मालबाहक ६ चक्के सवारीले ९.६, १० चक्केले १६.२, १२ चक्केले २१, १४ चक्केले २५ र १८ चक्केले ३० टन बोक्न पाउँछन् ।

यही व्यवस्थाअनुसार नेपालको सडकमा समेत बढीमा ३० टन बोकेका सवारी गुड्न पाउने व्यवस्था गरिएको छ । तर भारतीय एउटै मालबाहक गाडीले तेब्बरसम्म लोड बोक्ने गरेका छन् ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका बुटवलका प्रमुख एसपी योगेन्द्रसिंह थापाले ओभरलोडका जुनसुकै साधनलाई पनि जरिवाना लिनेबाहेकको विकल्प नभएको बताए । ‘नेपालका लागि आउने भारतीय मालबाहक गाडी अधिकांश ओभरलोड बोकेरै आउँछन्, यो यहाँको मात्र समस्या होइन, सबै ठाउँमा यस्तो समस्या छ, यसरी ठूलाठूला समान बोकेर आएका गाडी जुन स्थानका लागि आएका हुन् त्यो ठाउँमा नपुग्दा लोडअनलोडको समस्या पर्नेहुन्छ, यसलाई नीतिगतरुपमै समन्वय गरेर समाधान गर्नुपर्दछ’, थापाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर