राष्ट्रिय क्रिकेट टोलीमा पारस खड्काको ठूलो ठाउँ खाली छ : प्रशिक्षक वाटमोर – Nepal Press

राष्ट्रिय क्रिकेट टोलीमा पारस खड्काको ठूलो ठाउँ खाली छ : प्रशिक्षक वाटमोर

काठमाडौं । लामो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गर्दै नयाँ उचाईमा पुर्याएका पारस खड्काबिना नेपाल पहिलो अन्तर्राष्ट्रिय सिरिजको तयारी गर्दै छ । सन् २००२ मा उमेर समूहबाट नेपाली क्रिकेटमा उदाएका पारसले एक सफल, सक्षम र आदर्श क्रिकेटर तथा कप्तानको रूपमा विदाई लिए ।

गत साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए, पारसले ।

‘पारसको अनुपस्थितिले टोलीमा ठूलो खाडल परेको छ,’ नेपाली टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर भन्छन्, ‘तर, मलाई आशा छ उनले आफ्नो प्रतिस्थापन भएको देख्न पाउनेछन् ।’

प्रशिक्षक वाटमोरले यसो भन्दै गर्दा टोलीमा पारसकै स्थान लिनसक्ने अन्य खेलाडी छन् र उनीहरूमा पनि त्यो क्षमता छ भन्ने संकेत गर्दै थिए ।

पारसको अभाव

‘पारसको उपस्थितिले नै पिचमा छुट्टै वातावरण सिर्जना हुन्छ,’ कप्तान ज्ञानेन्द्र मल्ल भन्छन्, ‘पारसको कमी त टोलीमा सँधै हुन्छ, तर अब नयाँ खेलाडीलाई एक म्याच विनर बनेर त्यो स्थान लिने मौका छ ।’

राष्ट्रिय टोलीले हासिल गरेका उचाईहरूसम्म नेपाललाई पु¥याउने सफल कप्तान हुन्, पारस । टी–२० विश्वकप खेल्नु, पहिलोपटक ओडीआई स्ट्याटस हासिल गर्नु लगायत नेपाली टोलीका ठूला सफलता पारसकै कप्तानीमा सम्भव भएका थिए । र उनको अनुपस्थितिले टोलीमा ठूलो खाडल बन्छ ।

‘सबै खेलाडी एकदिन रिटायर्ड हुन्छन्,’ राष्ट्रिय टोलीका प्रमुख खेलाडी सन्दीप लामिछाने भन्छन्, ‘अब हामीले ‘मुभअन’ पनि हुनुपर्छ । उहाँलाई मैदानभित्र पनि र बाहिर पनि हामी मिस गछौं ।’

यस्तै, लामो समय पारससँगै खेलेका शरद भेसावकर पनि पारसको अनुपस्थिति टोलीका लागि ठूलो क्षति हुने बताउँछन् ।

‘जुन तरिकाले पारसले पिचमा सबैलाई मोटिभेट गथ्र्यो, इन्करेज गथ्र्यो, लिड गथ्र्यो त्यो कुरा मिस हुन्छ,’ उनले भने ।

नेपाली टोली कोरोना भाइरसको महामारीपछि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको तयारी गर्दैछ । नेपालले ओमानामा सेप्टेम्बर १३ देखि २० सम्म विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत घरेलु टोली र अमेरिकासँग ट्राई नेसन सिरिज खेल्ने छ । त्यसअघि सेप्टेम्बर ५ र ८ मा पपुवा न्यूगिनीसँग दुई एकदिवसीय खेल्ने तय भइसकेको छ ।

तयारीका लागि चाँडै ओमान जाँदै टोली

सिरिज र न्युगिनीविरुद्धको खेलका लागि नेपाली टोली मंगलबार बिहान नै ओमानतर्फ प्रवेश गर्दै छ । खेल सुरु हुन झण्डै १५ दिन बाँकी रहँदै नेपाली टोली ओमान जानुको कारण स्वदेशमै बसेर भइरहेको तयारी प्रभावकारी नहुनु हो ।

‘मौसमको कारणले गर्दा तयारी सोचजस्तो राम्रो भइरहेको छैन,’ कप्तान ज्ञानेन्द्र मल्ल भन्छन्, ‘त्यसैले हामी ओमानमै गएर बाँकी अभ्यास गर्छौं ।’ अहिले पानी पर्ने मौसम भएकाले प्राक्टिस म्याच भइरहेको र नेटमा मात्रै अभ्यास गरेर प्रतियोगिताको तयारी नुहुने कप्तान ज्ञानेन्द्रले बताए ।

 

गुल्सनको इन्ट्री

भोलिको ओमान भ्रमणका लागि तयारी गरिरहेको टोलीका नयाँ सदस्य हुन्, गुल्सन झा । गत चैत भएको मेयर्स कपमा राम्रो प्रदर्शन गरेका १७ वर्षीय तिव्र गतिका बलर गुल्सन पहिलोपटक बन्द प्रशिक्षणका लागि बोलाइएका थिए । र, ओमान जाने टोलीमा पनि समावेश भएका छन् ।

घरेलु प्रतियोगितामा अब्बल बलिङ गरेका गुल्सन ‘ब्याटिङमा पनि राम्रो रहेको कप्तान ज्ञानेन्द्रले बताए ।

‘धेरैलाई थाहा छैन, गुल्सनको ब्याटिङ पनि राम्रो छ,’ कप्तान ज्ञानेन्द्र मल्लले भने, ‘लो अर्डरमा आएर ब्याटिङ पनि गर्छ । र, अझै उ युवा छ । धेरै सुधार गर्ने ठाउँछ ।’

त्यस्तै, प्रशिक्षक वाटमोरले पनि गुल्सन क्षमतावान् रहेको र अझै उत्कृष्ट बन्न सक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *