बर्सेनि पचासौं लाखको जनै चीनबाट आयात, पूजाआजामा बढ्दो प्रयोग – Nepal Press

बर्सेनि पचासौं लाखको जनै चीनबाट आयात, पूजाआजामा बढ्दो प्रयोग

काठमाडौं । नेपालीको मौलिक धर्म-संस्कृतिसँग जोडिएको वस्तुमध्ये एक हो जनै । हरेक वर्षको जनै पूर्णिमाका दिन जनैमा पनि नेपाल आत्मनिर्भर छैन ।

स्वदेशमा पर्याप्त उत्पादन नभएपछि नेपालले बर्सेनि विदेशबाट जनै आयात गर्ने गरेको छ । हिन्दू धर्मावलम्बीको बाहुल्य रहेको छिमेकी देश भारतबाट आउनु त सामान्य भयो, हिन्दूहरूको नगण्य उपस्थिति रहेको उत्तरी छिमेकी चीनबाट पनि जनैको आयात हुन्छ ।

प्रत्येक वर्ष लाखौं रूपैयाँको जनै चीनबाट आयात भइरहेको तथ्यांकले देखाउँछन् । यद्यपि, चीनबाट आउने जनै शुद्ध र लगाउन योग्य मानिँदैन । आकारमा पनि सानो हुने यी जनै खासगरी पूजाआजामा प्रयोग हुने गरेको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंले नेपालमा प्रतिवर्ष कम्तीमा ५० लाखको जनै आयात हुने गरेको बताए । एक वर्षमा औसत १० लाख पूजा हुने गरको र एउटा पूजामा ५ रूपैयाँको मात्रै जनै प्रयोग हुँदा पनि ५० लाख रूपैयाँ चीन गइरहेको उनको अनुमान छ ।

बजगाईंले भने, ‘पूजाआजामा चीनबाट आयातको जनै प्रयोग हुने गरेको छ । सानो र सस्तो हुने भएकाले पनि यस्तो जनैको माग उच्च छ । तर, विधि नपुर्‍याई बनाइएको हुँदा यस्तो जनै कमैले लगाउँछन् ।’

धार्मिक सामग्री बिक्रेताहरू पनि मूल्य सस्तो भएकाले चिनियाँ जनैको माग बढिरहेको बताउँछन् । कलंकी पूजा पसलका सञ्चालक राम लुईंटेलले पूजाको लागि नेपाली जनै महंगो पर्ने भएकाले भक्तालुहरूले चिनियाँ जनै खोज्ने गरेको बताए ।

उनले भने, ‘नेपाली जनै एउटाको १० रूपैयाँ पर्छ भने चीनबाट आएको जनै १ देखि २ रूपैयाँमा पाइन्छ । नेपाली जनैभन्दा चिनियाँ जनै सयौं गुणा धेरै बिक्री हुने गरेको छ ।’

आजभोलि घरमा आफैंले पूजा लगाउँदा चीनको जनै प्रयोग गर्ने गरेको उनी बताउँछन् ।

पण्डित बालमकुन्द सापकोटाले नेपालीहरू ‘अल्छी’ भएका कारण चीनबाट जनै आयात गर्नुपरेको टिप्पणी गरे ।

सापकोटाले भने, ‘चीनले मेसिनबाट जनै उत्पादन गर्छ । मेसिनबाट बनाउँदा धेरै सस्तो पर्ने भएकाले पनि नेपालमा हातले बनाएको जनैभन्दा चीनबाट आएको जनै प्रयोग गर्नेहरू बढिरहेका छन् ।’

चीनले बनाएको जनै नेपालमा मात्रै नभएर भारतसमेत जाने गरेको उनी बताउँछन् । तर, चीनमा बनेको जनै शुद्ध नहुने उनको भनाइ छ ।

नेपालमा करोडौंको धागो विदेशबाट आयात हुने गरेको कृष्णराज बजगाईं बताउँछन् ।

रक्षाबन्धनमा प्रयोग हुने डोरो पनि विदेशबाट आयात हुने गरेको छ । काँचो धागोमा विभिन्न रङ दलेको धागो भारत र चीनलगायतका देशबाट आउँछ ।

त्यसो त नेपाल धागो उत्पादनमा अगाडि नै छ । गत आर्थिक वर्षको तथ्यांकअनुसार नेपालबाट निर्यात हुने वस्तुको ६ प्रतिशत धागोले ओगटेको छ । गत आर्थिक वर्षमा ८ अर्ब ५२ करोड ९२ लाख २१ हजारको धागो नेपालबाट विभिन्न देशमा निकासी भएको थियो ।

विभिन्न देशले नेपालमा उत्पादन भएको धागो कपडा लगायतका वस्तुहरू उत्पादनको लागि लैजाने गरेका छन् । धागो निर्यातमा नेपालमा धेरै सम्भावना रहेको उद्योगीहरू बताउँछन् ।

नेपालले दैनिक उपभोग्य वस्तुहरू अत्यधिकरूपमा विदेशबाट आयात गर्ने गरेको छ । उपभोग्य वस्तु आयातमा मात्रै वार्षिक १३ खर्ब विदेशिन्छ । नेपालबाट भने १ खर्बको मात्र वस्तु निर्यात हुने गरेको छ ।

जनैको धार्मिक महत्व

गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत (जनै) एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

जनै बनाउनेक्रम कपासबाट शुरू हुन्छ । कपासबाट काँचो धागो बनाइन्छ । त्यही धागोबाट जनै बनाइन्छ । कपास खेती, धागो बनाउने सीप यहाँ आवश्यक पर्छ । पहिले-पहिले धेरै मानिसहरूले घरमै जनै बनाउने गर्थे । आजकाल त्यो क्रम घटेको छ ।


प्रतिक्रिया

One thought on “बर्सेनि पचासौं लाखको जनै चीनबाट आयात, पूजाआजामा बढ्दो प्रयोग

  1. जनै संस्कृति जोगाउन चीनबाट जनै आयात गर्ने होभने हामी नेपालीहरूले सनातन धर्मसंस्कृति जोगाउन कसरी सक्छौं? महङ्गै परेतापनि नेपाली जनै प्रयोग नगर्ने होभने आयातित सस्तो जनै किन प्रयोग गर्ने? बहिष्कार गरौं! स-सानो कुरामा ध्यान दिएर आत्मनिर्भरमुखी सोचका साथ व्यवहार गर्न थालौं! #जय_देश!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर