उधारो तिर्न नसकेपछि गेष्टहाउसमा बम राखेर तर्साउन खोज्दा… – Nepal Press

उधारो तिर्न नसकेपछि गेष्टहाउसमा बम राखेर तर्साउन खोज्दा…

काठमाडौं । शनिबार साँझ साढे ६ बजे भक्तपुरको मध्यपुर थिमी नगरपालिका-४ थिमीमा रहेको दिब्येश्वरी गेष्ट हाउसमा शंकास्पद बस्तु भेटियो ।

शिवशरण भुुजुले सञ्चालन गरेको गेष्ट हाउसको पहिलो तलाको ४ नम्बर कोठामा पुरानो कुकरमा नाङ्गो तार जोडेर तौलियाले बाँधेको भेटिएपछि मालिकले महानगरीय प्रहरी वृत्त थिमीमा खबर गरे । डीएसपी नरहरी रेग्मीसहितको टोलीले घटनास्थलमा पुगेर नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलायो ।

राति साढे १० बजे निस्क्रिय पारिएको उक्त शंकास्पद वस्तु कुनै विस्फोटक पदार्थ नभएको प्रहरीले बताएको छ । कुकरभित्र ब्याट्री र तार राखी बिजुलीको प्लगमा जोडेको महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरका प्रवक्ता दीपक गिरीले बताए ।

प्रहरीले उक्त गतिविधि गरेको आरोपमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-२ डाडाँगाउँ घर भइ हाल थिमी बस्ने ३२ वर्षीय नविन तामाङलाई पक्राउ गरेको छ ।

प्रवक्ता गिरीले भने,‘साउन ३२ गतेबाट दिब्येश्वरी गेष्‍ट हाउसको ११० नम्बरको कोठामा बुद्ध चित्रको माला बेच्न बसेको तामाङले आफ्नै घरबाट ल्याएको प्रेसर कुकरलाई ‘होक्स बम’ बनाएर गेष्‍ट हाउसमा राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनलाई हामीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेका छौं । ’

यसअघि गेष्ट हाउसमा बसेर खाएको उधारो ४० हजार साहुले माग्न थालेपछि गेष्‍टहाउस संचालकलाई तर्साउन त्यो सामान राखेको अनुसन्धानबाट खुलेको प्रवक्ता गिरीले बताए ।

प्रवक्ता गिरीले भने,‘ उनले पैसा नतिर्नको लागि यस्तो योजना बनाएका रहेछन् । शुरुमा त बम कसले राख्यो भन्ने खुल्न सकेको थिएन । तर तामाङसँग सञ्चालक भुजुको पैसाको विषयमा विवाद भएको देखिएपछि तामाङतर्फ शंका लागेको थियो । अनुसन्धानबाट पनि पुष्टी भएपछि उनलाई पक्राउ गरिएको हो ।’

उनका अनुसार तामाङ घटनामा आफनो संलग्नता रहेको भन्दै स्वीकार गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *