जनै–धागोमा नेपाललाई आत्मनिर्भर बनाउने प्रयास, वैदिक जनै–धागो उद्योग सञ्चालनमा – Nepal Press

जनै–धागोमा नेपाललाई आत्मनिर्भर बनाउने प्रयास, वैदिक जनै–धागो उद्योग सञ्चालनमा

रुपन्देही । भारत तथा अन्य मुलुकबाट आयात हुने करोडौं रुपैयाँको जनै–धागोलाई विस्थापित गरी नेपाल जनै–धागो उत्पादनमा आत्मनिर्भर बनाउन नेपाली उद्यमीले प्रयास गरेका छन् । रुपन्देहीको बुटवलमा राधा धागो उद्योगले आयात हुने जनै–धागोलाई विस्थापित हुनेगरी आफ्नो उत्पादन बजारमा ल्याएको छ ।

बाहिरबाट आउने बैद्धिक जनै र शास्त्रीय रक्षाबन्धनका साथै नेपाली बजारमा समेत उत्पादन गरिने कतिपय नक्कली जनैलाई समेत विस्थापन गर्ने उद्देश्यले बुटवलमा शास्त्रीय र बैदिक जनै धागो उद्योग स्थापना गरिएको यसका संचालकको दावी छ । यसबाट स्वदेशमै जनै धागो उत्पादन हुने, रोजगारीको अवसर सिर्जना हुने र झण्डै ८० प्रतिशत बजारसमेत ओगट्न सफल हुने लक्ष्य उद्योग संचालकको छ ।

विगतमा वर्सेनि करोडौं रुपैयाँको जनै, रक्षाबन्धनलगायतका धागोजन्य सामग्रीहरु भारतबाट आयात हुने गरेकोमा हाल बुटवलस्थित राधा बैद्धिक तथा शास्त्रीय धागो उद्योगमा उत्पादित जनै तथा पवित्र धागोहरु नेपालका अधिकांश स्थानमा पुग्ने गरेका छन् ।

स्वदेशमै विधिवत् बैद्धिक एवं शास्त्रीय जनै उत्पादन हुन थालेपछि भारत जाने करोडौं रुपैयाँ नेपालमै रोकिएको छ भने यसरी बनाइएको जनै तथा रक्षाबन्धन मिसावटरहित र पवित्र पनि हुने उद्योगका सञ्चालक तथा धार्मिक विषयका जानकार बुद्धिप्रसाद शर्माको भनाइ छ । शर्मा भन्छन्– हामीले विधिपूर्वक बनाउने हुनाले यो शतप्रतिशत शुद्ध पनि छ । उपभोक्तालाई यो विषयमा बुझाउने प्रयास गरिरहेका छौं ।

राधा धागो उद्योगका संचालकसमेत रहेका शर्माका अनुसार विगतमा हरेक वर्ष करोडौं रुपैयाँको जनै, रक्षाबन्धनलगाएतका पूजाआजामा प्रयोग गरिने पवित्र भनिने धागोजन्य सामग्रीहरु भारत तथा बंगलादेशबाट आयात हुने गर्दथ्यो ।

हाल नेपालमै उत्पादन गरेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जनै, रक्षाबन्धन, लक्षवत्र्ती र अन्य पवित्र धागोहरु आपूर्ती गर्ने गरिएको छ ।

कुल २२ लाख रुपैयाँको लागतमा स्थापना गरिएको बुटवल ४ राममन्दिरस्थित सो पवित्र धागो उद्योगले गतवर्ष ३० लाखभन्दा बढीको जनै, रक्षाबन्धनलगाएतका शास्त्रीय र बैदिक सामग्री उत्पादन गरी बिक्री वितरण गरेको छ ।

कोरोना कहरका कारण यसबर्ष उत्पादन र बिक्री कम भएको संचालक शर्माको भनाइ छ । सो उद्योगले जनै उत्पादनमा आत्मनिर्भर बनाउनुका साथै भारतीय जनैको आयात कम गर्न ठूलो सहयोग गरेको स्थानीय जनै धागो व्यापारी नुरु प्रसाद पाण्डे वताउँछन् । पाण्डे भन्छन्— पहिले जनै तथा रक्षाबन्धन लगायतका पूजा सामग्रीका रुपमा प्रयोग हुने धागोहरु भारतबाट आउने गर्दथ्यो । अहिले झण्डै ८० देखि ९० प्रतिशत बजार नेपाली उत्पादनले नै धानेको छ ।

जनै, सप्तऋषिलाई तर्पण दिइ प्रत्येक डोरामा हुने नौ सराका तन्तुदेवताहरु र शिखामा ब्रह्मा, विष्णु, महेश्वर र जगत्जननीको पूजा गरी गायत्री मन्त्रद्वारा मन्त्रित गरिने शास्त्रीय र वैद्धिक जनैका सम्पादनकर्तासमेत रहेका शर्माले बताए ।

पछिल्लो समय नक्कली जनैको बिगबिगीले बजारमा असर परेको भन्दै बुटवल, भैरहवा, पाल्पा, गुल्मी, अर्धाखाँचीलगायत नेपालका विभिन्न भागमा आफ्नो उद्योगले बैद्धिक उत्पादन पठाउने गरेको शर्माको भनाइ छ ।

यो उद्योगले स्थानीय स्तरमा धर्म संस्कृति धान्न मात्र सहयोग गरेको छैन, ४ दर्जन बढी मानिसलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारीसमेत दिएको शर्माले बताए ।


प्रतिक्रिया

One thought on “जनै–धागोमा नेपाललाई आत्मनिर्भर बनाउने प्रयास, वैदिक जनै–धागो उद्योग सञ्चालनमा

  1. यो शास्त्रीय जनै र वैदिक जनैमा अन्तर के छ ? जानकारी पाउँ न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *