जनैपूर्णिमाको चहलपहल (भिडियोसहित) – Nepal Press

जनैपूर्णिमाको चहलपहल (भिडियोसहित)

काठमाडौं । तागाधारी हिन्दू धर्मावलम्बीको प्रमुख चाडमध्येको एक जनै पूर्णिमा आज मनाइँदैछ । आजको दिन स्नान गरी शुद्ध भई पूजाआजा गर्छन् । पुरुषहरुले जनै फेर्ने चलन छ ।

बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू-पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

आज काठमाडौंको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाँईकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरुमा मेला पनि लाग्दै आएको छ ।

कोरोना भाइरसको जोखिम र सरकारले लागू गरेका स्वास्थ्य सुरक्षा मापदण्डका कारण यस वर्षको जनै पूर्णिमामा मन्दिरहरुमा भक्तजनको भीड कम देखिन्छ । पशुपतिनाथ लगायत मुख्य मन्दिरहरु कोरोनाकै कारण नियमित पूजा बाहेक सर्वसधारणका लागि बन्द गरिएका छन् । त्यसका बाबजुद रक्षाबन्धन र जनै लगाउनका लागि भने भीड देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *