राष्ट्रपति पौडेल जेनेभा प्रस्थान (तस्विरहरु) – Nepal Press

राष्ट्रपति पौडेल जेनेभा प्रस्थान (तस्विरहरु)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् ।

राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति रामसहायप्रसाद यादव, उपप्रधानमन्त्रीहरु रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल तथा मन्त्रीहरुले बिदाई गरेका हुन् ।

राष्ट्रपति पौडेलले यही जेठ ३१ गते सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले जेठ ३० गते स्वीस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । नेपालका राष्ट्र प्रमुख र स्वीस महासङ्घका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ ।

भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट सङ्घीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्ने मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क-वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्नछन् । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहेछन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा. सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनेछन् ।

राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर