शासकीय अराजकता : भूमि व्यवस्था मन्त्रालयमा न मन्त्री न सचिव, प्रधानमन्त्री कार्यालयमा दुई सचिव जगेडामा – Nepal Press

शासकीय अराजकता : भूमि व्यवस्था मन्त्रालयमा न मन्त्री न सचिव, प्रधानमन्त्री कार्यालयमा दुई सचिव जगेडामा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गर्न नसक्दा धेरै मन्त्रालय राजननीतिक नेतृत्वविहिन छन् । तीमध्ये पनि एउटा मन्त्रालयमा त मन्त्री मात्र होइन, सचिव पदसमेत रिक्त छ ।

प्रधानमन्त्री देउवाले नै जिम्मेवारी सम्हालेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय मन्त्री र सचिव विहिन बनेको हो । यस्ते, अर्थ र स्वास्थ्यजस्ता महत्वपूर्ण मन्त्रालयमा समेत एक सचिवको दरवन्दी रिक्त छ । दुवै मन्त्रालयमा दुई/दुई सचिवको दरबन्दी रहेकोमा एक/एक सचिवमा सरकारले पदपूर्ति गर्न नसकेको हो । अर्थ मन्त्रालयमा राजस्व सचिव र स्वास्थ्यमा प्रशासनतर्फको सचिव कुर्सी खाली छन् ।

अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले साउन २३ गते अनिवार्य अवकाश पाएका थिए । यस्तै, साउन १७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन तर्फका सचिव लक्ष्मण अर्यालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको थियो । अर्याल २०७७ जेठ १८ देखि स्वास्थ्य मन्त्रालयमा कार्यरत थिए ।

सचिव नहुँदा नीतिगत निर्णय रोकिए

साउन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले १२ जना सचिवको सरुवा गर्ने क्रममा भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिवको सरुवा गरेको थियो । मन्त्रालयमा सचिवको जिम्मेवारीमा रहेका टेकनारायण पाण्डेको गृह मन्त्रालयमा सरुवा भएपछि यो मन्त्रालयमा अर्को सचिव सरकारले पठाएको छैन । जबकि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई सचिवलाईलाई यत्तिकै जगेडामा थन्क्याइएको छ ।

भूमि व्यवस्था मन्त्रालयमा सचिव पद रिक्त भएपछि वरिष्ठताका आधारमा प्राविधिक सहसचिव जनकराज जोशीले निमित्त सचिवको प्रशासनिक जिम्मेवारी सम्हालिरहेका छन् । पूर्णकालीन सचिव नहुँदा मन्त्रालयका काम प्रभावित बनेका छन् । नियमित र सामान्य प्रशासनिक काम भए पनि नीतिगत काम भने रोकिएको प्रवक्ता समेत रहेका निमित्त सचिव जोशीले नेपाल प्रेससँग बताए ।

उनले उदाहरण दिँदै भने, ‘भुउपयोग नीति अघिल्लो सरकारको पालमा मन्त्रिपरिषद्मा पेश भएको थियो तर पारित नभएर फिर्ता भयो । फिर्ता भइसकेपछि फेरी पठाउनुपर्ने हो । तर सचिव नहुँदा रोकिएको छ ।’ जोशीका अनुसार चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि बनाउनुपर्ने नीति, नियम, कार्यविधि, निर्देशिका तथा योजना निर्माण गर्ने काममा समेत प्रभाव परेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने सचिवको पदपूर्ति मन्पिरिषदले गर्ने भएकाले आफुहरुले केही गर्न नसक्ने जनाएको छ । कार्यालयमा पूर्वाधार विकास महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव एवम् प्रवक्ता कृष्णबहादुर रावतले चाँडै रिक्त मन्त्रालयमा मन्त्रीपरिषदले पदपूर्ति गर्ने आशा व्यक्त गरे ।

अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा एक-एक सचिव पदपूर्ति भएकाले त्यहाँ सबै काम नरोकिएको भए पनि भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयमा भने समस्या परेको हुनसक्ने उनको भनाइ छ । रावतले भने, ‘यसमा हामीले केही पनि गर्न सक्दैनौँ । सबै गर्ने भनेको मन्त्रिपरिषद् बैठकले नै हो । अपेक्षा गरौं, सकेसम्म चाडै रिक्त मन्त्रालयमा सचिवको पदपूर्ति होला ।’

प्रधानमन्त्री कार्यालयमा २ सचिव जगेडा

एउटा मन्त्रालय पूर्णरुपमा र दुई मन्त्रालय आंशिक रुपमा सचिवबिहिन हुदाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भने २ सचिव जिम्मेवारीविहिन छन् । सरकारले सचिव कृष्णहरी पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त राखेर थन्क्याइराखेका बेला थप एक जना सचिवलाई पनि प्रदेशबाट तानेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवबाट डिल्लीराम शर्मालाई सचिवमा बढुवा गरेकै दिन लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेर त्यहाँ रहेका सचिव भरतमणी सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर जगेडामा थन्क्याएको हो ।

अर्थ मन्त्रालयमा राजस्व सचिव र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सचिव पद रिक्त रहे पनि सरकारले ति मन्त्रालयमा पदपूर्ति नगरेर दुई जना सचिवलाई अतिरिक्तमा राखेको छ ।

पुस्करको किन पदस्थापन भएन ?

करिव डेढ महिनाअघि असार २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृष्णहरी पुस्करलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । साउन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीसहित अतिरिक्तमा रहेका ५ जना सचिवको सरुवा हुने अनुमान गरिएको थियो । तर उनी बाहेक चार जना सचिवको सरुवा भए पनि उनी भने अतिरिक्तमै थन्किए । त्यसपछिका हरेक मन्त्रिपरिष्द बैठकले उनको सरुवा गर्ने अनुमान गरिए पनि डेढ महिना पुग्न लाग्दा पनि सरुवा भएको छैन ।

उनीभन्दा पछि सहसचिवबाट सचिवमा बढुवा भएका किरणराज शर्माको बागमती प्रदेशको प्रमुख सचिवमा, डा.रामप्रसाद घिमिरेको प्रदेश १ को प्रमुख सचिवमा, राजेन्द्रप्रसाद खनालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, डा.रोशन पोखरेलको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सचिवमा, हरीप्रसाद मैनालीको प्रदेश २ को प्रमुख सचिवमा, डा.गोविन्द शर्मा कृषि तथा पशुपन्छी मन्त्रालयको पशु सचिवमा पदस्थापन भइसकेको छ ।

अतिरिक्तमा रहेका सचिव कृष्णहरी पुस्करले भने आफ्नो पदस्थापन भएको विषयमा बोल्न चाहेनन् । उनले भने, ‘कसलाई कहाँ सरुवा गर्ने, कहाँ राख्ने भन्ने निर्णय गर्ने अधिकार सरकार र मन्त्रिपरिषद् बैठकलाई छ । त्यसैले सरकारले उपयुक्त पात्रलाई उपयुक्त ठाउँमा सरुवा गर्छ । मेरो काम र जिम्मेवारी अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयमा भएकाले यतै राखेको होला ।’

सचिव पुस्करका अनुसार उनले अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबको तर्फबाट कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई हेरिरहेका छन् । उनले भने, ‘मुख्यसचिवले मलाई अहिले सीसीएमसीसँग सम्बन्धित काम र मानव संशाधन विकाससँग सम्बन्धित काम दिनुभएको छ । त्यो काम मैले गरिरहेको छु । त्यो काम सकिएपछि पक्कै पनि कहीँ न कहीँ जिम्मेवारी दिइन्छ होला ।’

पुस्कर सचिवमा बढुवा हुनुअघि सहसचिव हुँदा पनि सीसीएमसीमा नै थिए । उनले सीसीएमसीको प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर