१२ सचिवको सरुवा, गृहमा टेकनारायण पाण्डे – Nepal Press

१२ सचिवको सरुवा, गृहमा टेकनारायण पाण्डे

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय, प्रदेश र निकायको प्रशासनिक बागडोर सम्हालेका १२ सचिवको सरुवा गरेको छ । सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बसेको बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरको हो ।

मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव टेकनारायण पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बेगेन्द्रराज शर्माको रक्षा मन्त्रालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालका सचिव डा. वैकुण्ठ अर्यालको सूचना तथा सञ्चार मन्त्रालयमा सरुवा भएको छ ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका (सिचाई) सचिव मणिराम गेलालाको जल तथा उर्जा आयोगमा र आयोगका सचिव सागरकुमार राईको मन्त्रालयमा सरुवा भएको छ ।

दुई प्रदेश प्रमुख सचिव तानिए

आठ महिनाअघि सचिवमा बढुवा भएपछि प्रदेश २ को प्रमुख सचिवमा पदस्थापन भएका प्रदेश २ का प्रमुख सचिव गोकर्णमणी दुवाडीको प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ । यस्तै ६ महिनाअघि सचिवमा बढुवा भएर प्रदेश १ को प्रमुख सचिवमा पदस्थापन भएका सचिव सुमनराज अर्यालको महालेखा नियन्त्रणको कार्यालयमा सरुवा भएको छ ।

सहसचिवबाट सचिवमा बढुवा भएपछि अधिकांशको प्रदेश प्रमुख सचिवमा पदस्थापन भए पनि भर्खरै सचिवमा बढुवा भएका एक सचिवको भने संघीय निकायमा पदस्थापन भएको छ । भर्खरै सहसचिवबाट सचिवमा बढुवा भएका सचिव खगेन्द्रप्रसाद नेपालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन भएको हो ।

तर भर्खरै सहसचिवबाट बढुवा भएका सचिव किरणराज शर्माको बागमती प्रदेश प्रमुख सचिवमा, सहसचिवबाटै बढुवा भएका सचिव डा. रामप्रसाद घिमिरेको प्रदेश एकको प्रमुख सचिवमा र अर्का सहसचिवबाट बढुवा भएका सचिव हरिप्रसाद मैनालीको प्रदेश दुइको प्रमुख सचिवमा पदस्थापन भएको छ ।

तर घिमिरे र मैनाली भन्दा पनि अघि सहसचिवबाट सचिवमा बढुवा भएका सचिव कृष्णहरी पुस्करको भने यस पटकको मन्त्रिपरिषद् बैठकले पनि पदस्थापन गरेन । उनी अहिले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्तमा हाजिर भइरहेका छन् । आफु भन्दा पछि बढुवा भएका व्यक्तिको पदस्थापन हुनु तर आफ्नो पदस्थापन नहुनुले पुष्करले असहज महशुस गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर