चिफसा’ब तस्बिर सार्वजनिक भयो है ! – Nepal Press
ब्लग

चिफसा’ब तस्बिर सार्वजनिक भयो है !

जंगी अड्डाका प्रधानसेनापतिको कक्षमा तस्बिर खिचियो । गत माघ २ गते तस्बिर खिचेपछि पोस्ट गर्न आतुर थिएँ । तर, तस्बिर खिचेलगत्तै प्रधानसेतापति पूर्णचन्द्र थापाले भने- यो तस्बिर पोस्ट नगर्नु होला ।

तस्बिर खिच्न हुने । पोस्ट गर्न नहुने । अचम्म भयो । मैले ‘किन यस्तो नियम’ भनेर प्रश्न गरें । उनले थपे, ‘मेरो कार्यकालभर पोस्ट नगर्नु होला । कतिपयले नकरात्मक अर्थमा लिन सक्छन् ।’

०००

इटहरीस्थित नेपाली सेनाको पूर्व पृतनाको मुख्यगेट र मेरो घर लगभग आमने–सामनेभन्दा पनि हुन्छ । तर, त्यहीं गेट पार गरेर पृतनाभित्र म व्यक्तिगत रुपमा छिरेको छैनँ । जम्मा दुइपटक मात्रै छिरेको छु । एक पटक, पत्रकार सम्मेलनमा आमन्त्रण भएपछि छिरे । अर्कोपटक, नेपाली सेनाले बनाएको प्रदेश १ कै पहिलो फिल्ड अस्पताल उद्घाटनमा । २०७६ फागुन १६ मा ५० बेडको अस्पतालको उद्घाटनमा प्रधानसेनापति थापा आएका थिए ।

प्रधानसेनापति आउनु । सेनाको फिल्ड अस्पताल उद्घाटन गर्नु । यि सामान्य कुरै हुन् । तर, प्रधानसेनापति थापाको आगमन र जेस्चर भने असामान्य लागे । पृतनाभित्र बनेको दक्षिणतर्फ फर्किएको आकर्षक अस्पताल अगाडि दुई लहर थिए । एक लहरमा इटहरीका तथा आसापासमा गन्यमान्य जनप्रतिनिधि, नेता, व्यापारी, पत्रकारलगायत सेनाका अधिकारीहरु थिए । त्यसको ठीक पारिको अर्को लहरमा सिपाहीहरु ड्युटीमा खडा थिए ।

प्रधानसेनापति थापा पश्चिमतर्फबाट प्रवेश गरे । उनी भिआइपी लहरमा हात मिलाउँदै आएनन् । उनी त सिपाहीहरुसँग हात मिलाएर अस्पताल प्रवेश गरे । अस्पतालको गेटबाट भित्र छिरे । उद्घाटन गरे । सामुहिक तस्बिर लिए । उद्घाटन अगाडि र पछाडि भाषण गरेनन् । उद्घाटन सकिएपछि चियानास्ता खाने टेन्टमा सबैसँगै प्रधानसेनापति थापा पनि पुगे । उनलाइ केही बोल्न आग्रह गरेपछि मात्रै चियापान समारोहमै छोटो बोले । सैनिक कल्याण कोषले बनाएको काठमाडौं बाहिरको तेस्रो सैनिक अस्पताल भएको जानकारी दिए ।

इटहरीमा बनेको प्रथम ५० बेडको अस्पताल थियो त्यो । त्यहीं भएर सबैको चासो थियो । छोटो कार्यक्रम सकिएर निस्कनै लाग्दा सेनापति थाापले हात मिलाएका एक सैनिकसँग जम्काभेट भयो । मैले सोधे, ‘चिफसाबसँग हात मिलाउँदा कस्तो अनुभव रह्यो ?’ ती सैनिकले भावुक उत्तर दिए । भने, ‘चिफसाबसँग हात मिलाउन पाँउदा खुशी लाग्यो । सबै सिपाहीले चिपसाबसँग जिन्दगीभर हात मिलाउन पाउँदैनन् । सबै चिफसाबले पनि सिपाहीसँग हात मिलाउँदैनन् ।’

‘सर्वहारा’ हात मिलाइ, पर्यटनमार्ग र भक्ति थापा कनेक्सन

अस्पताल उद्घााटन गर्न आएर सिपाहीसँग ‘सर्वहारा’ हात मिलाएका प्रधानसेनापति थापाले ध्यान ताने । बरु सर्वहाराको वकालत गर्ने कुनै नेता आएको भए उनीहरुले सिपाही र पार्टी कार्यकर्तासँग हात मिलाउदैन थिए ।

कथित भिआईपीसँग उनीहरुको हात पहिले सोझिन्थे । बरु, प्रोटोकल र कडा सिनियिर जुनियरको अनुशासन हुने फौजी संस्था प्रमुखले सिपाहीसँग हात मिलाए । हात मिलाएको गज्जब कुरालाई झन् गज्जब त सिपाहीको सुन्दर प्रतिकृयाले बनाएको थियो ।

सर्वहारा हात मिलाइको कुराभन्दा प्रधानसेनापति थापासँग भेट गर्ने खास कुरा चाहिँ पर्यटन र कूटनीतिक प्रसंग थिए । नेपाली सेनाले २०७६ माघ २ गतेबाट ‘बृहत् एकीकरण मार्ग कार्यक्रम–२०७६’ शुभारम्भ गर्यो ।

प्रधानसेनापति थापाले उद्घाट गरेको यो कार्यक्रम ट्रेकिङ लाइसेन्स प्राप्त मलाई मन नपर्ने कुरै भएन । नेपाली सेना जस्तो संगठन पर्यटनमा लाग्दा तत्काल देखिने पर्यटन पूर्वाधार बनाउन सकिने भएकोले एउटा प्रस्ताव लिएर म प्रधानसेनापतिको कार्यालयमा पुगेको थिएँ । प्रदेश १ का कंचनजंगा वा मकालु आधार शिविरसम्मको ट्रेकिङ मार्गलाई ह्विलचेयरमैत्री बनाउन सेनाले नेतृत्व लिए राम्रो हुन्छ भन्ने मेरो प्रस्ताव थियो ।

प्रधानसेनापति थापाले प्रस्तावमा सकरात्मक जेस्चर दिए । बृहत् एकीकरण मार्गको अनुभव भएकोले यस्तै काम ह्विलचेयरमैत्री नेपालको पहिलो हिमालयन ट्रेकिङ मार्ग बनाउन सकिने मेरो तर्क थियो । स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर विश्वभरका ह्विलचेयर प्रयोगकर्तालाई तान्न यो परियोजना विश्वस्तरीय हुने मेरो कुरामा प्रधानसेनापति थापाले सकरात्मक प्रतिक्रिया दिए । सायद सेनाले विस्तृत परियोजना प्रतिवेदनको काम थालेको हुनुपर्छ ।

नेपाली सेनाले संयुक्त राष्ट्र संघको शान्ति सेनामा गरेको योगदान नेपाली कूटनीतिको एक बलियो आधारशीला हो । प्रधानसेनापति थापाका अनुसार नेपाली सेना विश्वको चौथो ठूलो शान्ती सेना थियो । सन् २०१५ फेबु्रअरी ८ देखि एक वर्ष शान्ति सेनाको फोर्स कमान्डर भएर गोलान हाइट्समा नेतृत्व गरेका थापासँग शान्ति सेना बढाउने विषयमा पनि कुरा भयो ।

उनले नेपाली सेनाको व्यावसायिकताका कारण आगामी दिनमा शान्ति सेनाको हैसियत अझ अगाडि बढ्ने संकेत गरेका थिए । नभन्दै उनी सेनाको परम्पराअनुसार अवकाश हुनुभन्दा एक महिना अगाडि बिदा बस्ने चरणमा पुग्नु अगाडि नै नेपाली शान्ति सेनाको हैसियत बढ्यो ।

जुलाईदेखि नेपाली सेना विश्वको दोसो ठूलो शान्ति सेना भएको छ । शान्ति सेनामा जान सबैको सहज पहुँच पुर्याउन उनैले सहज योजनाहरु ल्याएका थिए । उनकै कार्यकालमा पूर्वमाओवादी लडाकुले शान्ति सेनामा काम गरेको हेडलाइन बन्न पायो ।

त्यतिबेला मैले सोधेको थिएँ, सन् १९५८ देखि नेपाली सेना संयुक्त रास्ट्रसंघको शान्ति सेनामा सक्रिय छ । के नेपाली सेनाले कुनै सार्वभौम देशले पनि यस्तै शान्ति सेना मागेको खण्डमा दिन सक्छ ?’ उनको जवाफ थियो, ‘यो संभव छैन । नेपालको परराष्ट्र नीतिका उद्देश्यहरुले यस्तो प्रस्तावको पक्ष लिँदैन ।’

नेपाली सेनामा दश पुस्ता बिताएको थापा खलकका सन्तान हुन् प्रधानसेनापति थापा । दश पुस्तामा पाँच पुस्ता अधिकृत तहमै थिए । अझ रोचक कुरा, उनकै पुर्खा थिए अंग्रेजसँगको युद्धमा वीरगति पाएका सरदार भक्ति थापा । थापाले आफ्नो छोराबाट भने सैन्य पेसाको शृङ्खला ब्रेक भएको सुनाए ।

नेपाली सेनामा पहिलोपटक ‘युनिटी’ नामक रिसर्च जर्नलमा आफ्नो सम्पत्ति सार्वजनिक गरेका प्रधानसेनापति दीर्घकालीन सोचका बुझिन्छन् । हुन त उनले नेपाली सेनाको ‘भिजन २०३०’ ल्याएर मन्त्रिपरिषद्बाट पास गरेर त्यो छनक पनि दिएका हुन् ।

अझ रोचक संयोग– दश पुस्ता सेनामा बिताएको प्रधानसेनापति थापापछिको पुस्ता अर्थात् उनका छोरा नेपाली सेनामा छैनन् । तर, उनकै कार्यकालमा भक्ति थापा विभूती घोषणा भए । केपी शर्मा ओली क्याबिनेटले २०७८ असार १४ गते सोमबार सरदार भक्ति थापालाई विभूति घोषणा गर्यो ।

थापा डाउन टु अर्थ प्रधानसेनापति हुन् । नागरिक–सेना सम्बन्धलाई रेस्पोन्स गर्ने प्रधानसेनापति हुन् ।

अमेरिका बसेर आफैं जहाज बनाएर उडाएका प्रमोद रेग्मीले नेपाली सेनाले मात्रै राम्रोसँग उक्त जहाज ह्यान्डल गर्ने भन्दै सेनालाई उपहार दिन तयार भएको सुनाएका थिए । त्यसपछि प्रधानसेनापति लगायत नेपाली सेनाको उच्चस्तरीय टीमले चासो मात्रै राखेन, तत्काल रेग्मीसँग काठमाडौंमा कुराकानी भयो । सायद जहाज नेपाल आउने तयारी हुँदै होला ।

र फेरि पनि अन्तिममा, कार्यकालभर तस्बिर सार्वजनिक नगर्ने शर्त थियो । अब त हुन्छझैं लागेर सार्वजनिक गरें ल !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *