अब भरतपुरमा अनलाइनबाटै घरनक्साको काम – Nepal Press

अब भरतपुरमा अनलाइनबाटै घरनक्साको काम

चितवन । भरतपुर महानगरले घर नक्साको काम अनलाइनबाट सुरु गरेको छ । महानगरले भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)को प्राविधिक सहयोगमा बनेको सफ्टवेयरमार्फत अनलाइन सेवा सुरु गरेको हो ।

भरतपुर–९ कि सुष्मा केसीलाई १५ दिने सूचना अनलाइन भवन निर्माण अनुमाति प्रकृया पोर्टलबाट दिइएको छ। अब सेवाग्राहीले घर बनाउँन निवेदन, इन्जिनियरले बनाइदिएका घरको डिजाइन अनलाइनबाटै पठाउन सक्नेछन् ।

सूचीकृत भएका इन्जिनियरले बनाएका घरको डिजाइन मात्रै सफ्टवेयरमा प्रविष्ट हुन्छन् । निवेदन तथा डिजाइन स्वीकृत भएको सूचनासमेत सफ्टवेयरमै देखिने छ । जसका लागि युजर नेम र पासवर्ड परामर्शदाता मार्फत सेवाग्राहीले पाउनेछन् ।

अनलाइनमा इन्ट्री गर्दा कागजपत्र तथा विवरण अपुग भएमा त्यसको जानकारीसमेत अनलाइनबाटै दिइनेछ । त्यस्तै यसअघि सफ्टवेयरबाट ललितपुर, काठमाडौं महानगर र बुटवल उपमहानगरले सेवा दिइसकेका छन् ।

सहरी तथा पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर रत्नप्रसाद लामिछानेले भवन निर्माण आचारसंहिता कार्यान्वयनमा यसले सहयोग पुग्ने बताए । उनले अब घर बनाउन महानगरनै धाउनुपर्ने बाध्यता हट्ने बताए ।

सरकारले डिजिटल हस्ताक्षरलाई मान्यता नदिँदासम्म भने हार्डकपी प्रयोग गर्नुपर्नेछ । महानगरमा हालसम्म करिब ७० हजार घर मापदण्डअनुसार बनेका छन् ।

एनसेटका इन्जिनियर सुमन प्रधानले अनुगमन तथा अभिलेखीकरण गर्न सफ्टवेयरले सघाउने बताए । मेयर रेनु दाहालले सेवा छिटोछरितो बनाउन अनलाइन सेवा महत्त्वपूर्ण हुने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *