विधान संशोधनका लागि एमालेले सुझाव संकलन थाल्यो, बुटवलबाट सुरु – Nepal Press

विधान संशोधनका लागि एमालेले सुझाव संकलन थाल्यो, बुटवलबाट सुरु

रुपन्देही । नेकपा एमालेले आसन्न विधान महाधिवेशनका लागि मस्यौदामा सुझाव लिन थालेको छ । यसको सुरुवात बुधबार बुटवलबाट गरिएको हो ।

भदौ २७ र २८ गते काठमाडौंमा हुने पार्टीको विधान महाधिवेशनका लागि प्रस्तावित विधान संशोधनको मस्यौदामा पार्टीका विभिन्न कमिटीहरुसँग एमालेले सुझाव माग गरेको हो ।

बुटवल उपमहानगर कमिटीले आयोजना गरेको विधान महाधिवेशनका लागि प्रस्तावित विधान संशोधनको मस्यौदामा अगुवास्तरको छलफल कार्यक्रममा नेता तथा कार्यकर्ताहरुले छलफल गरेका छन् ।

कार्यक्रममा एमाले स्थायी कमिटीका सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरल, केन्द्रीय सदस्यहरु लिला गिरी, दधिराम न्यौपाने, एकराज विश्वकर्मा, जिल्ला अध्यक्ष शिवराज सुवेदी, सहसंयोजक तेजेन्द्र केसी, अनेमसंघकी नेत्री सावित्रा अर्याललगायतले मस्यौदाका बारेमा अगुवा कार्यकर्ताहरुसँग छलफल सुरु गराएर नौलो सुरुआत भएको बताएका थिए ।

यही वर्ष हुने पार्टीको महाधिवेशनपूर्व नयाँ विधान ल्याउन एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत साउन २५ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकले उक्त विधानको मस्यौदा तयार गरेको थियो । सोही मस्यौदामा बुटवल उपमहानगर कमिटीले अगुवा कार्यकर्ता भेला राखेर सुझाव लिन सुरु गरिएको हो ।

एमालेले हालको संघीयताअनुकुल हुनेगरी संशोधनको मस्यौदा तयार पारेको छ । यसमा पार्टीमा केन्द्रीय कमिटीको संख्या समावेशिताका आधारमा दुई सय २५ कायम गर्ने, अध्यक्ष र महासचिवबाहेकका पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित गर्ने, निर्वाचन चिन्हलाई सूर्यभित्र हँसिया–हथौडा रहने गरी परिमार्जन गर्ने प्रस्ताव गरिएको छ ।

यस्तै जिल्ला कमिटीलाई समन्वयको भूमिका मात्र दिने, पार्टीका कार्यक्रममा राष्ट्रिय झण्डाको प्रयोग र राष्ट्रिय धुन बजाउनेलगायत प्रावधान राखिएको छ । विधानलाई अन्तिम रुप दिने सन्दर्भमा पार्टी केन्द्रको निर्देशनबमोजिम सुझाव संकलनका लागि प्रदेश कमिटी सदस्य, केन्द्रीय विभागका सदस्य, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गरिएको छ ।

पार्टीका उपल्ला कमिटीका सर्कुलरबमोजिम बुटवलबाट अगुवास्तरको छलफल कार्यक्रम सुरु गरिएको कमिटीका अध्यक्ष बाबुराम पन्थीले जानकारी दिए । उपमहानगर मातहतका अगुवा कार्यकर्ता र यहाँ रहेका उपल्ला कमिटीका अगुवाहरुका बीचमा विशेष छलफलसहितको कार्यक्रममार्फत सुझाव संकलन सुरु गरिएको अध्यक्ष पन्थीको भनाइ छ ।

यस्तै सुझावका लागि स्थानीय कमिटीका पदाधिकारी–सदस्य, जनसङ्गठनका केन्द्रीय सदस्य–जिल्ला पदाधिकारी–सदस्यलगायत इच्छुक पार्टी सदस्यलाई सम्बन्धित कमिटीले आग्रह गरिएको केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज दधिराम न्यौपानेले जानकारी दिए ।

एमालेले विधान महाधिवेशनका लागि विभिन्न समिति गठन गरेर कामलाई तीब्रता दिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर