पहिलो महिला मुख्यमन्त्री बन्दै अष्टलक्ष्मीः अनुभवी नेतृको काँधमा वागमती प्रदेश – Nepal Press

पहिलो महिला मुख्यमन्त्री बन्दै अष्टलक्ष्मीः अनुभवी नेतृको काँधमा वागमती प्रदेश

काठमाडौं । एमाले नेतृ अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्ने तय भएको छ । वागमती प्रदेशमा एमाले संसदीय दलको नेता चयन भएसँगै शाक्य मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

शाक्य हिजोका दिनसम्म एमालेको माधव नेपाल समूहकी नेतृका रूपमा चिनिन्थिन् । आज नेपाल समूहले एमाले फुटाएर निर्वाचन आयोगमा नयाँ दल दर्ता गरिरहँदा उनी विभाजन प्रक्रियाबाट बाहिर भएकी छन् । माधव नेपालको साथ छोडेसँगै उनलाई मुख्यमन्त्री बनाउन एमाले संसदीय दल तयार भएको हो ।

नेपालमा संघीय प्रणालीको शुरूआत भएर बनेका सात प्रदेश सरकारमा अहिलेसम्म महिला नेतृत्व थिएनन् । वागमतीले अष्टलक्ष्मीको रूपमा अनुभवले खारिएकी नेतृलाई मुख्यमन्त्री पाएको छ । यद्यपि, उनको कार्यकाल भने धेरै लामो छैन । वर्तमान प्रदेशसभाको बाँकी करिब डेढ वर्षे कार्यकाल उनले मुख्यमन्त्रीका रूपमा चलाउने छिन् ।

२०७४ सालको चुनावमा प्रतिनिधिसभाको उम्मेदवार नबनी वागमती प्रदेशसभाको चुनाव लड्दा उनलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिएको थियो । काठमाडौं ९ (ख) बाट प्रदेशसभा उम्मेदवार बनेकी शाक्य स्वयम् पनि मुख्यमन्त्रीकी आकांक्षी थिइन् । तर, पार्टीभित्रको गुटगत राजनीतिका कारण उनको चाहना पूरा भएन । शाक्यलाई पन्छाउँदै ओली समूहका डोरमणी पौडेलले मुख्यमन्त्री पाए । त्यसयता उनी वागमती प्रदेशमा डोरमणीकी प्रतिद्वन्द्वीका रूपमा थिइन् । तर, अहिले डोरमणीले त्यागको भावना देखाउँदै शाक्यलाई सौहार्दतापूर्वक पद हस्तान्तरण गरेका छन् ।

लामो राजनीतिक संघर्ष र योगदानका कारणले सबैले सम्मान गर्ने नेतृ हुन् अष्टलक्ष्मी । उनका राजनीतिक जीवन धेरै महिलाहरुका लागि प्रेरणादायी छ । क्षमताको हिसाबले भने उनी औसत मानिन्छिन् । पार्टीको जिम्मेवारीमा छँदा होस वा मन्त्री बन्दा, उनको विशेष खुबी केही देखिएको छैन । अब मुख्यमन्त्रीका रूपमा उनले छोटो समयमा आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती आइपरेको छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा विभाजन उत्पन्न भएपछि डोरमणीलाई हटाएर अष्टलक्ष्मीलाई मुख्यमन्त्रीबनाउने प्रयास भएका थियो । माधव समूहले उनलाई संसदीय दलको नेता चयनसमेत गरेर डोरमणीविरुद्ध अविश्वास प्रस्ताव दर्तासमेत गरेको थियो । तर, २३ फागुनमा सर्वोच्च अदालतले नेकपाको एकता भंग गरेर एमाले र माओवादी ब्युँताइदिएपछि उक्त अविश्वासको प्रस्ताव फिर्ता भयो ।

तर, यसका बाबजुद पनि एमाले संसदीय दल दुई चिराकै अवस्थामा थियो । संस्थापन विरोधी समूहको नेतृत्व शाक्यले गरेकी थिइन् । गत ६ जेठमा सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाल समूहसमेतको सहयोगमा विपक्षी गठवन्धनका उम्मेदवार डा. खिमलाल देवकोटाले एमाले उम्मेदवार रामबहादुर थापालाई हराएका थिए । पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भनेर संस्थापन पक्षले शाक्यसहित १४ प्रदेश सांसदलाई स्पष्टीकरण सोधेको थियो । तर, पछि एकता प्रयास स्वरुप उक्त स्पष्टीकरण फिर्ता लिइयो । स्पष्टीकरण फिर्तासँगै एमालेभित्र मेलमिलापको वातावरण बनेको हो ।

डोरमणी र अष्टलक्ष्मीबीचको कटुतापूर्ण सम्वन्धमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनुअघि एकाएक सुधार आएको थियो । उनीहरूले संयुक्तरूपमा नीति-कार्यक्रम र बजेटको पक्षमा उभिन सांसदहरूलाई ह्वीप जारी गरेका थिए । यसले केन्द्रमा समेत एकताको सन्देश दिएको थियो ।

यो पनि पढ्नुहोस् :

विगतमा पार्टी अध्यक्ष केपी ओलीको कटु आलोचक बनेकी शाक्य पछिल्ला दिनमा एकताको पक्षमा थिइन् । त्यसैले उनले पार्टी विभाजन प्रक्रियाबाट आफूलाई बाहिर राखिन् । फलतः एमालेले उनलाई पुरस्कारस्वरूप मुख्यमन्त्री दिन तयार भएको छ ।

वागमतीमा ११० सदस्यीय प्रदेशसभामा एमालेका ५७ सांसदमध्ये २२ जना माधव नेपाल पक्षका छन् । नेपाल पक्षकी प्रमुख नेतृ नै संस्थापनका तर्फबाट मुख्यमन्त्री बनेपछि अन्य सांसदहरु असमञ्जसमा परेका छन् । अझै पनि नेपाल पक्षका सांसदहरुले समर्थन फिर्ता लिएको खण्डमा अष्टलक्ष्मीको सरकार अल्पमतमा पर्ने देखिएको छ ।

को हुन् अष्टलक्ष्मी ?

देशकै अग्रणी महिला नेतृको सूचीमा आउँछिन् ६८ वर्षिया अष्टलक्ष्मी । २०१० सालमा दशैंको अष्टमीका दिन जन्मेको भएर उनको नाम अष्टलक्ष्मी राखिएको हो ।

काठमाडौंको झोँछेमा बसोबास गर्ने नेवार परिवारमा जन्मेकी अष्टलक्ष्मीले २०२९ सालमा एसएलसी पास गरेकी थिइन् । घरपरिवारले बिहेको लागि दबाब दिएपछि उनी २०३६ सालमा घर छोडेर भागिन् र पूर्णकालीन राजनीतिमा लागिन् ।

शाक्यले पञ्चायतकालमा ११ वर्षसम्म भूमिगत जीवन बिताएकी थिइन् । उनको विवाह २०३७ सालमा पार्टीकै सहयोद्धा अमृतकुमार बोहरासँग भएको थियो । बोहरा अहिले एमालेका स्थायी समिति सदस्य हुन् । उनी माधव नेपाल समूहकै भए पनि अहिलेको विभाजनमा सहभागी छैनन् ।

पार्टीको महिला संगठन स्थापनामा उनको ठूलो योगदान छ । उनल गौरा प्रसाइ सुशील श्रेष्ठ लगायतसँग मिलेर हेटौंडामा नेकपा मालेको गोप्य सम्मेलन आयोजना गरेकी थिइन् । सो सम्मेलनले नेपाल महिला संगठनको पुनर्गठन गरेको थियो ।

शाक्य २०५४ सालको संसदीय चुनावमा काठमाडौंबाट सांसद निर्वाचित भएकी थिइन् । यस्तै, २०७१ सालमा भएको संविधानसभा चुनावमा पनि निर्वाचित भएकी उनी आफ्नो राजनीतिक जीवनमा दुईपटक मन्त्री बनिन् । एकपटक उनी महिला, बालबालिका तथा समाजकल्याण मन्त्री बनेकी थिइन् भने अर्कोपटक उद्योग तथा वाणिज्य मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।

लामो राजनीतिक संघर्ष र योगदानका कारणले सबैले सम्मान गर्ने नेतृ हुन् अष्टलक्ष्मी । उनका राजनीतिक जीवन धेरै महिलाहरुका लागि प्रेरणादायी छ । क्षमताको हिसाबले भने उनी औसत मानिन्छिन् । पार्टीको जिम्मेवारीमा छँदा होस वा मन्त्री बन्दा, उनको विशेष खुबी केही देखिएको छैन । अब मुख्यमन्त्रीका रूपमा उनले छोटो समयमा आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती आइपरेको छ ।


प्रतिक्रिया

One thought on “पहिलो महिला मुख्यमन्त्री बन्दै अष्टलक्ष्मीः अनुभवी नेतृको काँधमा वागमती प्रदेश

  1. ओलिकारिताले भनेर भजन गाएछ
    पहिला अनुभव कम थियो कि के थियो यो बज्यैको
    बाजेले अन्तिममा छोडेसी त्याग भन्ने बुज्रुकहरुले त्याग शब्दकै अपमान गर्दैछ्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर