केन टोटेनह्यामको ट्रेनिङमा फर्किए – Nepal Press

केन टोटेनह्यामको ट्रेनिङमा फर्किए

काठमाडौं । इङ्लिस स्ट्राइकर ह्यारी केन टोटेनह्यामको फुल ट्रेनिङमा फर्किएका छन् । उनी नवनियुक्त प्रशिक्षक नुनोको नेतृत्वमा मंगलबार पहिलो पटक ग्रुप सेसनमा सामेल भएका हुन् ।

प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी जाने हल्ला चलेका इङ्लिस कप्तान केन यसअघि ट्रेनिङमा थिएनन् । तयारी नपुगेकाले केनले म्यानचेस्टर सिटीविरुद्धको पहिलो खेल पनि गुमाएका थिए ।

टोटेनह्यामले लिग च्याम्पियन सिटी विरुद्धको खेलमा १–० गोलको नतिजामा जित निकालेको थियो । टोटेनह्यामको जितमा सन हेयुङ मिनले खेलको ५५औं मिनेटमा गोल गरेका थिए । सिटीले अझै केनलाई भित्र्याउने प्रयास गरिरहेको छ । तर, ट्रेनिङमा फर्किएसँगै केन नर्थ लन्डन क्लब टोटेनह्याममै बस्ने सम्भावना बढेको छ ।

केनले हालसम्म स्पर्सबाट खेलेका २ सय ४५ खेलमा १ सय ६६ गोल गरेका छन् । प्रिमियर लिगमा आफूलाई प्रमाणित गरिसकेका २८ वर्षीय केन तीन पटक गोल्डेन बुट विजेता बनेका छन् ।

केनको नेतृत्वमा इङ्ल्यान्डले १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिता– यूईएफए युरो २०२० को फाइनलसम्मको यात्रा तय गरेको थियो । फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदा इङ्लिस टोली उपाधि जित्नबाट वञ्चित भएको थियो ।

केनको ट्रेनिङमा पुनरागमनसँगै उनी आगामी आइतबार हुने वुल्भ्सविरुद्धको खेलमा उपस्थित हुने सम्भावना बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *