नेप्से प्रमुखको जिकिर- म पनि नागरिक हुँ, सेयर किन्न कुनै कानूनले छेक्दैन – Nepal Press

नेप्से प्रमुखको जिकिर- म पनि नागरिक हुँ, सेयर किन्न कुनै कानूनले छेक्दैन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले कुनै पनि कम्पनीको ओटीसी सेयर कारोबार गर्न आफूलाई विद्यमान ऐन, कानूनले नरोकेको जिकिर गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा स्पष्टीकरण दिँदै उनले भने, ‘हाम्रो संचालक समितिको आचारसंहिताले रेगुलेटर सेकेन्डरी मार्केटबाहेक अन्य कुनै पनि संस्थाको संस्थागत सेयर किन्न कुनै बाधा पर्ने छैन । यही व्यवस्था हाम्रो ऐनमा पनि लेखिएको छ । त्यहीँ प्रावधानअन्तर्गत यो सेयर कारोबार गरिएको हो । नियम मिचेर होइन । म पनि त नागरिक हुँ नि । मैले पनि त आफ्नो लगानी गर्न पाउनु पर्‍यो नि !’

प्रमुख कार्यकारी अधिकृत साउदले विभिन्न समाचार माध्यामहरूले सेयर कारोबारसम्बन्धी ऐन कानूनमा भएको व्यवस्था नबुझी झूटो समाचार सम्प्रेषण गरेको दावीसमेत गरे ।

समिति सदस्य रामकुमारी झाक्रीले सेयर बजारमा गैरकानूनी, अनैतिक गतिविधि बढाउन नदिन समितिले पटक-पटक दिएको सुझावप्रति जिम्मेवार हुन नसकेको भन्दै नेप्सेको पदाधिकारीमाथि आक्रोश व्यक्त गरिन् । आफैंमाथि प्रश्न उठ्ने गरी गैरजिम्मेवार काम नेप्सेले गरेको भन्दै त्यसको छानवीन गरेर दोषीमाथि कारवाही गर्ने उनको चेतावनी थियो ।

अर्का सदस्य निरादेवी जैरुले सेयर बजारका लगानीकर्ताप्रति जिम्मेवार बन्न नेप्सेलाई सचेत गराइन् ।

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले नेप्सेलगायतका नियमक निकायहरू आफैंले सेयर बजारमा खेल खेलेको भन्दै त्यसलाई रोक्नका लागि आवश्यक कानूनी व्यवस्थाका लागि ध्यानाकर्षण गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर