अफगानिस्तानमा रहेका नेपालीको उद्धार तथा समन्वय गर्न सरकारद्वारा कार्यदल गठन – Nepal Press

अफगानिस्तानमा रहेका नेपालीको उद्धार तथा समन्वय गर्न सरकारद्वारा कार्यदल गठन

काठमाडौं । अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीका सिलसिलामा त्यहाँ रहेका नेपालीको उद्धार गर्नका लागि सरकारले कार्यदल गठन गरेको छ । मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार साँझ बसेको अन्तर-मन्त्रालयस्तरीय बैठकले कार्यदल गठन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागबाट राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका सदस्य रहने गरी कार्यदल गठन भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता समेत रहेकी सहसचिव सेवा लम्सालले नेपाल प्रेसलाई जानकारी दिइन् ।
 
उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलन गर्न कन्सुलर सेवा विभागको वेबसाइटमा  अनलाइन रजिष्ट्रेसन पोर्टलको व्यवस्था गरिएको छ । उक्त पोर्टलमा आफ्नो नामसहितको उल्लेख गर्नुपर्ने विवरण तत्काल भरी दर्ता गराउन पनि सम्बन्धित व्यक्ति वा परिवारका सदस्यलाई मन्त्रालयले आग्रह गरेको छ ।
 
उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर र वाट्सएप सुविधा सहितको मोबाइल नम्बर +977-9749326458  (कन्सुलर सेवा विभाग) र +977-9749326459 (परराष्‍ट्र मन्त्रालय) को व्यवस्था गरिएको छ। आफ्नो अवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा उक्त नम्बरमार्फत सम्पर्क गर्न सकिने जनाइएको छ ।
 
काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तराष्ट्रिय संघ संस्थामा कार्यरत नेपालीलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले मित्र राष्ट्र संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्र संघको कार्यालयलाई औपचारिक पत्राचार गरी अनुरोध गरिसकेको पनि मन्त्रालयका प्रवक्ता लम्सालले बताइन ।
 
अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाका बारेमा नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एडभाइजरी पनि जारी भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आवश्यक सहयोगका लागि दूतावासका फोन नम्बर र इमेलमार्फत पनि सम्पर्क गर्न सकिने जनाइएको छ ।
 
अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीले त्यहाँ कार्यरत नेपालीको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक तत्काल उपलब्ध गराउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर