धितोपत्रका अध्यक्षमाथि अर्थसमितिको स्पष्टीकरण- नियामक निकायले जथाभावी गर्न पाउँछ ? – Nepal Press

धितोपत्रका अध्यक्षमाथि अर्थसमितिको स्पष्टीकरण- नियामक निकायले जथाभावी गर्न पाउँछ ?

काठमाडौं । सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई संघीय संसदको अर्थसमितिले स्पष्टीकरण सोधेको छ ।

बुक विडिङमार्फत आईपीओ निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर खरिद चलखेलमा संलग्नको आशंकामा ढुंगानालाई समितिले स्पष्टीकरण सोधेको हो । बोर्डका अध्यक्ष ढुंगानाले छोरीको नाममा सर्वोत्तम सिमेन्टको करिब १६ हजार कित्ता नामसारी गरी बजारमा चलखेल गरेको भन्दै अर्थ समितिले स्पष्टीकरण माग गरेको हो ।

समितिका अध्यक्ष कृष्णप्रसाद दाहालले धितोपत्र बोर्डका माथिल्लो पदाधिकारी नै बजारमा चलखेल भएको भन्दै सञ्चार माध्यममा समाचार आउनु दु:ख रहेको बताए । ‘सेयर बजार बढिरहेको समयमा बजारलाई असर गर्ने गरी नियामक निकायका प्रमुखको चरित्रमाथि नै किन प्रश्न उठिरहेको छ’, दाहालले प्रश्न गरे ।

प्रमुख जिम्मेवारी भएको व्यक्तिले आफ्नो परिवारको नाममा सेयर खरिद गर्न पाउने कि नपाउने ? भनी दाहालले प्रश्न गरेका थिए ।
जवाफमा वोर्डका अध्यक्ष ढुंगानाले बुकविडिङमार्फत सेयर निष्कासन हुन लागेको कम्पनीको सेयर खरिदमा आफ्नो संलग्नता नरहेको बताएका छन् । विवाह भएर गइसकेको छोरीले सेयर खरिद गर्न पाउने जिकिर गर्दै ढुंगानाले केही सञ्चारमाध्यमहरूले आफ्नो चरित्र हत्या गर्न लागिरहेको समेत दावी गरे ।

अर्थ समिति सदस्य रामकुमारी झाँक्रीले राम्रा कुरामात्रै विवरणमा देखाउने प्रयास भएको भन्दै बोर्डका अध्यक्षले सर्वोत्मको सेयर खरिद गर्नु नैतिकपूर्ण छ ? भनी प्रश्न गरिन् । अध्यक्षको चरित्रमाथि नै प्रश्न उठिसकेकाले कानूनी छिद्र खोजेर हिँड्न नमिल्ने उनको भनाइ थियो । धितोपत्र बोर्ड जस्तो नियामक निकायका सञ्चालक समितका पदाधिकारी नै खरिदबिक्री र इन्साइडर ट्रेडिङमा संलग्न हुनु लाजमर्दो भएको उनले बताइन् ।

‘पदाधकारीमाथि प्रश्न उठेपछि यसलाइ यहीँ छोड्न मिल्छ ? अध्यक्षज्यूले आफ्नोमात्र सुविधा बढाउनु भएको छ यसले धितोपत्रबोर्डको विकास गर्छ ?’, झाँक्रीको प्रश्न थियो । अर्थमन्त्रालयले यस्तो गम्भीर विषयलाई सामान्य ढंगले छोडेको भन्दै उनले अर्थमन्त्रालयमाथि नै प्रश्न उठेको उनको आशंका गरिन् ।

अर्की सदस्य प्रमिला राईले ‘म सेयर बजारमा अनविज्ञ नै छु तर पनि यसरी नियामक निकायले जथाभवी गर्न पाउँछ र ? ‘ भनी प्रश्न गरिन् । धितोपत्र बोर्डले राम्रो काम गरेको देखिए पनि किन पछिल्लो समय विवादमा कारण के हो भनी उनले प्रश्न गरेकी थिइन् ।

सदस्य जयकुमार राईले गम्भीर विषयमा नियामक निकायले पत्रकारले समाचारका लागि मात्रै समाचार बनाएको भन्नु जिम्मेवार निकाय अध्यक्षको प्रस्तुति आपत्तिजनक भएकाले ‘फिर्ता लिनुहोस्’ भने ।

समितिका सचिव सुरेन्द्र अर्यालले अर्थ समितले धितोपत्र बोर्डलाई दिएको प्रतिवेदनमा राम्रै काम भएको देखिए पनि आचारसंहितामा पालना गर्ने विषयमा बोर्ड कमजोर देखिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर