अफ्रिदीदेखि ब्रेथवेटसम्म: नेपालमा खेल्न आउँदैछन् यी विश्वस्तरीय क्रिकेटर – Nepal Press

अफ्रिदीदेखि ब्रेथवेटसम्म: नेपालमा खेल्न आउँदैछन् यी विश्वस्तरीय क्रिकेटर

काठमाडौं । नेपाली क्रिकेटको सबैभन्दा ठूलो घरेलु प्रतियोगिताको रूपमा दाबी गरिएको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को आगामी संस्करण असोजमा आयोजना हुँदैछ । यतिबेला फ्रेन्चाइज टिमहरू आगामी संस्करणका लागि खेलाडीहरू ‘हायर’ गर्न व्यस्त छन् ।

कोरोना भाइरसको महामारीले नेपाललाई ६ महिना कडा लकडाउन जान बाध्य नबनाएको भए इपीएल सम्पन्न भएर पनि अर्कै मानक स्थापित गरिसकेको हुन्थ्यो । विश्व क्रिकेटका ठूला नाम- क्रिस गेल, एबी डिभिलियर्स, हासिम अमलाजस्ता खेलाडीहरू नेपाल आउने निश्चित भइसकेको थियो ।

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण देश लकडाउनमा जान बाध्य भयो र स्थगित भयो इपीएल । गेल र डिभिलियर्सको ब्याटले रनवर्षा गरेको प्रत्यक्ष हेर्ने नेपाली क्रिकेटप्रेमीको धोको अधुरै रह्यो । यद्यपि, निराश भइहाल्नु पर्ने अवस्था छैन । नेपालमा ठूलो फ्यान फलोइङ भएका अन्य केही विश्वस्तरीय क्रिकेटर इपीएलमा जोडिएका छन् र जोडिने क्रम जारी छ ।

करिब दुई वर्षपछि फेरि नेपाली क्रिकेट जगत ईपीएललाई लिएर उत्साहित भएको छ । प्रतियोगितामा प्रायोजकहरू जोडिने, क्लबले नयाँ खेलाडी सार्वजनिक गर्ने लगायतका गतिविधि जारी छन् । र, ईपीएलका लागि घोषित मिति नजिकिँदो छ ।

केही ठूला क्रिकेटरहरू, विश्वकप विजेताहरू आसन्न ईपीएल खेल्न नेपाल आउने निश्चित भइसकेको छ । विभिन्न ६ फ्रेन्चाइज टोलीले नेपाली समर्थकलाई मनोरञ्जन दिलाउनका लागि महंगो रकममा ती खेलाडीलाई अनुवन्धित गरेका छन् । यद्यपि, उनीहरूको मूल्य खुलाइएको छैन ।

शाहिद अफ्रिदी, पाकिस्तान

विश्व क्रिकेटमै तहल्का मच्चाउन सफल एक सनसनी नाम हुन् पाकिस्तानी अलराउन्डर शाहिद अफ्रिदी । उनको ब्याटले चल्यो भने कुनै पनि बलरले पानी भन्न पाउँदैन ।

विष्फोटक ब्याटिङका लागि चिनिएका ४४ वर्षिय अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट भने सन्न्यास लिइसकेका छन् । यद्यपि, फ्रेन्चाइज क्रिकेटमा भने उनी अझै सक्रिय छन् । ब्याटिङका साथै उनी स्पिन बलिङ पनि गर्छन् ।

अफ्रिदीका नाममा अनेक विश्व किर्तिमानहरू जोडिएका छन् । उनले आफ्नो डेब्यू एकदिवसीय म्याचमै शतक हानेका थिए, त्यो पनि केवल ३७ बलमा । लामो समयसम्म यो अन्तर्राष्ट्रिय क्रिकेटमै सर्वाधिक छिटो शतकको रुपमा दर्ज थियो । १७ वर्षपछि न्यूजिल्यान्डका पूर्व क्रिकेटर कोरी एन्डरसनले ३६ बलमा शतक बनाएर अफ्रिदीको रेकर्ड तोडेका थिए ।

बलिङतर्फ अफ्रिदीले एकदिवसीयमा ३ सय ९५, टेस्टमा २७, ९९ टी-२० आई र फस्ट क्लास क्रिकेटमा १ सय ३३ विकेट लिएका छन् । उनले खेलेका २७ टेस्ट खेल, ३ सय ९८ एकदिवसीय र ९९ टी-२० अन्तर्राष्ट्रिय खेलहरूमा ११ हजारभन्दा बढी रन बनाएका छन् ।

पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका अफ्रिदीले काठमाडौं किङ्ग्स इलेभेनबाट खेल्ने निश्चित भइसकेको छ । नेपाली राष्ट्रिय टोलीका स्टार स्पीनर सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले उनलाई आगामी सिजनका लागि अनुबन्ध गरेको हो ।

अफ्रिदीलाई किङ्ग्स ११ ले आइकोनिक इन्टरनेसनल स्टारको रूपमा भित्र्याएको बताएको छ । नेपालमा पनि निकै राम्रो फ्यान फलोइङ भएकाले उनको ब्याटिङ हेर्ने ठूलै भिड जम्मा हुन सक्ने (यदि कोरोनाका कारण दर्शकको उपस्थितिमा रोक लागेन भने) अवस्था छ ।

दिनेश चन्डिमल, श्रीलंका

श्रीलंकाका पूर्वकप्तान दिनेश चन्डिमल पनि भरपर्दा ब्याट्सम्यानका रुपमा चिनिन्छन् । श्रीलंकाबाट ६२ टेस्ट, १४९ ओडीआई र ५७ टी-२० आई खेलिसकेका उनी पनि अन्तर्राष्ट्रिय क्रिकेटमा परिचित नाम हुन् ।

चण्डिमलले आफ्नो क्रिकेट करिअरमा ६२ टेस्ट, १४९ एकदिवसीय र ५७ वटा टि-२० खेलेका छन् । उनका नाममा ११ वटा टेस्ट सतक र ४ एकदिवसीय सतक छन् । ब्याटिङसँगै विकेटकिपिङ पनि गर्छन् । उनी ३१ वर्षका भए ।

चन्डीमलले भैरहवा ग्लाडियटर्सबाट ईपीएल खेल्दै छन् । उनले नेपाल सुन्दर देश भएको बताउँदै नेपालमा आएर खेल्नका लागि आफू उत्सुक रहेको बताएका छन् । उनी श्रीलंकाबाट कम उमेरमा कप्तानी गर्ने खेलाडीसमेत हुन् ।

शोएब मलिक, पाकिस्तान

पाकिस्तानी अलराउन्डर सोयब मल्लिक मध्यक्रमका अनुभवि र भरपर्दा ब्याट्सम्यानका रुपमा चिनिन्छन् । क्रिजमा टिकेर खेल्ने र ठूला सटहरू पनि लगाउन सक्ने क्षमता छ उनको ।

मलिक १०० वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो पुरुष क्रिकेटर हुन् । उनले ३५ टेस्ट, २ सय ८७ एक दिवसीय, १ सय १६ टी-२० अन्र्तराष्ट्रिय र ४ सय २५ टी-२० खेलेका छन् । अनुभवी क्रिकेटर मलिकको उपस्थितिलाई लिएर नेपाली समर्थक पनि उत्साहित छन् ।

मलिकले ईपीएल खेल्ने निश्चित भइसके पनि कुन टोलीबाट खेल्ने भन्ने खुलाइएको छैन ।

ड्यानिस अजिज, पाकिस्तान

पाकिस्तानी क्रिकेटर ड्यानिस अजिजले चितवन टाइगर्सबाट ईपीएल खेल्ने निश्चित भइसकेको छ । उनले सन् २०२१ अप्रिलमा दक्षिण अफ्रिका विरुद्धको खेलमा पाकिस्तान क्रिकेट टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।

अजिजले २ एक दिवसीय र २ टी-२०आई खेलेका छन् । भारतीय पूर्व क्रिकेटर युवराज सिंहलाई आइडियल मान्ने उनी प्रतिभावान युवा खेलाडी हुन् । २५ वर्षिय अजिजसँग दुई एकदिवसीय र दुई टि-२० अन्तर्राष्ट्रिय खेलेको अनुभव छ । उनी अराउन्डरका रुपमा चिनिन्छन् ।

कार्लोस ब्रेथवेट, वेस्ट-इन्डिज

वेस्ट-इन्डिजका स्टार अलराउन्डर कार्लोस ब्रेथवेटले कुन टोलीबाट ईपीएल खेल्ने निश्चित भइसकेको छैन । तर, उनी नेपाल आउने निश्चित भएको आयोजकले जनाएको छ ।

सन् २०१६ मा भारतमा भएको टी-२० विश्वकप वेस्ट इन्डिजलाई जिताउन उनले ब्रेथवेटले निर्णायक भूमिका खेलेका थिए । ईंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको फाइनल खेलमा उनले ४ बलमा लगातार छक्का प्रहार गरेर वेस्ट इन्डिजलाई उपाधि दिलाएका थिए । त्यो अद्भूत प्रदर्शनले उनलाई विश्वसामु चिनाएको थियो ।

ठूला सटका लागि कहलिएका ब्रेथवेटले ३ टेस्ट, ४४ एकदिवसीय र ४१ टी-२० आई खेलिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *