प्रदेश १: नेपाली साहसिक पर्यटनको केन्द्र – Nepal Press

प्रदेश १: नेपाली साहसिक पर्यटनको केन्द्र

नेपाली पर्यटनको विश्व ब्राण्ड नेचर (प्रकृति) र कल्चर (संस्कृति)सँगै एडभेन्चर (साहसिक) हो । नेपालको साहसिक पर्यटन बजारमा प्रदेश १ को आफ्नै पहिचान छ । हिमाल, पहाड र तराईको प्याकेज यहीं प्रदेशमा छ ।

प्रदेश १ का नेपालमा अन्य क्षेत्रमा हुने सबैजसो साहसिक पर्यटक प्याकेजको अनुभव गर्न सकिन्छ । प्रकृतिसँग जोडिएर गर्ने सबै प्याकेज छन् यहाँ ।

प्रचार, र जनशक्तिको पर्याप्तता नभएकोले प्रदेश १ को साहसिक पर्यटनले व्यावसायिक फड्को मार्न भने सकेको छैन । यद्यपि प्रदेश १ को नाम विश्वको साहसिक पर्यटन इतिहाससँगै जोडिन्छ ।

सन् १९५३ को मे २९ मा नेपालका तेन्जीङ नोर्गे शेर्पा र न्यूजिल्यान्डका एडमण्ड हिलारीले सगरथाको पहिलो सफल आरोहण गरे । योसँगै विश्व मानचित्रमा नेपालको साहसिक पर्यटनको एकाएक ब्राण्डिङ भयो ।

प्रदेश १ बाट नेपालको साहसिक पर्यटनको ब्राण्डिङ त्यतिबेला भयो, जतिबेला नेपालको पर्यटक भिसासमेत खोलिएको थिएन । नेपालले पहिलो पर्यटन भिषा सगरमाथा आरोहणको दुई वर्षपछि मात्रै दिएको थियो । तत्कालीन सोभियत संघका पर्यटन व्यवसायी बोरिस लिसानेभिचलाई नेपालले सन् १९५५ मा प्रथम पर्यटक भिषा दिएको थियो ।

८,८४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथादेखि ७० मिटर अग्लो नेपालकै होचो क्षेत्र केचनाकलन समेटेको प्रदेश १ साहसिक पर्यटनको लागि स्वर्गीय क्षेत्र हो । विश्व स्तरीय साहसिक पर्यटनको लागि धेरै कोणमा प्रदेश १ को भूगोल एक से एक सुन्दर छ ।

प्रदेश १ मा संचालित दर्जन साहसिक पर्यटन प्याकेज

प्रदेश १ मा अहिले करिब दर्जन साहसिक पर्यटन प्याकेज संचालनमा छन् । पर्वतारोहण, ट्रेकिङ, र्‍याफ्टिङ, प्याराग्याइडिङ, माउन्टेन बाइकिङ, माउन्टेन फ्लाइट, जंगल सफारी, जेटबोटिङ, स्काइ डाइभिङ, अल्ट्रारेस, क्याम्पिङ, क्यानोनिङलगायतका प्याकेज प्रदेश १ मा छन् ।

सगरमाथा (८८४८ मिटर), कंचनजंगा (८५८६ मिटर), त्होत्से (८५१६ मिटर), मकालु (८४६३ मिटर), चोयु (८१८८ मिटर) लगायत विश्वका आठ हजार मिटरमाथिका हिमालहरु भएको प्रदेश १ पर्वतारोहणको लागि स्वर्गीय आनन्दको क्षेत्र हो ।

पर्वतारोहणसँगै प्रदेश १ ट्रेकिङको लागि विश्वविख्यात छ । सगरमाथा, कंचनजंगादेखि मकालु बेस क्याम्प ट्रेकिङ प्रदेश १ का विश्वस्तरिय ट्रेकिङ प्याकेज हुन् । यस्तै, हिमाली क्षेत्रमा मात्रै नभएर प्रदेश १ मा उच्च तथा मध्यपाहाडी क्षेत्रमा रहेको सांस्कृतिक मुन्धुम ट्रेकिङ रुट पनि चर्चित हुने क्रममा छ । भोजपुरदेखि खोटाङसम्मको यो ट्रेकिङ रुटसँगै अन्य नयाँ सम्भावना भएका थुप्रै ट्रेकिङ रुटहरु छन् प्रदेश १ मा ।

विश्वका चर्चित र्याफ्टिङ नदीहरु तमोर, अरुणदेखि सुनकोशी पनि प्रदेश १ मै छन् । यी नदीहरुमा विभिन्न खण्डमा वा पूरा खण्डमा र्याफ्टिङ हुँदै आएका छन् । इटहरी, धरान, फिदिमदेखि काठमाडौंका विभिन्न र्याफ्टिङ कम्पनीहरुले प्रदेश १ मा व्यवसायिक पर्यटन व्यवसाय गराउँदै आएका छन् । प्रदेश १ मै पहिलोपटक र्याफ्टिङ भने धरानका पर्यटन व्यवसायी मदन ढकालले २०६२ सालबाट सुरु गरेका हुन् ।

पोखरा पछाडि प्याराग्याइडिङ सुरु गर्ने पनि प्रदेश १ नै हो । प्रदेश १ मा २०७२ असोज २२ गतेबाट धरान स्काइ एडभेन्चर प्याराग्याइडिङ कम्पनीले पहिलो व्यावसायिक उडान गरेको थियो । हाल धरानमा मात्रै होइन, उदयपुरको बेलका नगरपालिकामा पनि प्याराग्याइडिङ हुन्छ । पाँचथर, इलाम, तेह्रथुम, ताप्लेजुङदेखि संखुवासभा हुँदै ओखलढुंगासम्म प्याराग्याइडिङका परीक्षण भएका छन् ।

प्रदेश १ मा व्यवसायिक माउन्टेन बाइकिङको सुरुवात धरानबाट २०७१ मा भएको हो । माउन्टेन बाइकिङका लागि प्रदेश १ का तराईदेखि मध्यपहाडसम्म विभिन्न रुटहरु बनेका छन् । धरानबाट व्यवसायिक माउन्टेन बाइकिङ सुरु गर्ने कृष्ण केसीका अनुसार माउन्टेन बाइकिङका लागि धरानदेखि भेडेटार, धनकुटा, हिले, वसन्तपुर हुँदै गुफापोखरीसम्मको कोशी क्षेत्रको रुट तय भएको छ ।

यस्तै इस्टर्न सर्किट भनेर धरानबाट धनकुटा, संखुवासभा, तप्लेजुङ्ग, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ्ग हुँदै सुनसरीको धरानमै आउने रुटमा विश्व साइकलयात्री पुष्कर शाहसमेत सहभागी भइसकेको कृष्ण केसी बताँउछन् । अब क्रमशः हिमाली क्षेत्रमा पनि माउन्टेन बाइकिङका रुट विकास गरिने केसीको भनाइ छ ।

प्रदेश १ मा २०७५ मंसिर ८ गते विराटनगर विमानस्थलबाट पहिलोपटक माउन्टेन फ्लाइट पनि भएको थियो । यो वर्ष पनि व्यवसायीहरुले माउन्टेन फ्लाइटदेखि हेली राइड संचालन गर्दैछन् ।

२०७३ मंसिरबाट धरानको सेछ ट्राभलिङले कोशी टप्पुमा जंगल सफारी समेत संचालन गरेको थियो । जंगली हात्ती आतंक र आरक्षणका कर्मचारीले असहयोग गरेपछि स्थगित भएको जंगल सफारी सहयोग भएमा पुनः संचालन गरिने सेछका संचालक बासुदेब बराल बताउँछन् ।

सप्तकोशी नदीमा संचालन गरिएको जेटबोटिङ प्रदेश १ को अर्को साहसिक पर्यटन प्याकेज हो । बर्खा बाहेकका सिजनमा संचालन हुने जेटबोटिङको सुरुवात सन् १९६८ बाट सगरमाथा आरोही एडमन्ड हिलारीले आफ्ना साथी जोन ह्यामिल्टनसँगै गरेका थिए ।

उनले सप्तकोशीको चतरा क्षेत्रबाट दोलालघाटसम्म १७५ किलोमिटर लामो जेटबोट यात्रा गरेको आइडि भिन्टेज नामक क्यानेडाली संस्थाले उल्लेख गरेको छ । सन् १९६८ मै सुरु भएको सप्तकोशी जेटबोटको व्यावसायिक यात्रा भने २०६७ सालमा स्थापना भएको नेपाल रिभर ट्रान्सपोर्ट प्रालिले सुरु गरेको थियो । हाल सप्तकोशीमा विभिन्न तीन कम्पनीले व्यवशायिक जेटबोटिङ गराउँदै आएका छन् ।

सन् २००८ मा काठमाडौंको एक्प्लोर हिमालयले सगरमाथामा स्काइ डाइभिङ समेत गराएको थियो । त्यसयता हरेक वर्ष नाम्चे बजारमाथिको स्याङ्बोचेमा हुने स्काइ डाइभिङ पनि प्रदेश १ को धेरै चर्चित साहसिक पर्यटन प्याकेज हो ।

जिप फ्लायरमा पनि प्रदेश १ ले पछिल्ला वर्षहरुमा फड्को मार्दै आएको छ । २०७६ फागुन २४ मा धरान ४ को भेडेटारसँग सीमा जोडिएको भेडेटार स्वागतद्वारदेखि देवीथानसँग पहिलो जिप फ्लायर संचालनमा आयो ।

योपछि धरान २० कालिामाटीदेखि इटहरीको इप्पील्यान्डमा समेत जिप फ्लायर संचालनमा आएको छ । यस्तै झापाको सेल्डी डाँडा भनेर चिनिने ह्याप्पिल्यान्ड फनपार्कमा समेत जिपलाइन संचालनमा आएको छ ।

धरान २० कालिमाटीको सेट एडभेन्चर पार्कले त विभिन्न नयाँ साहसिक पर्यटन प्याकेज दिएको छ । स्काइ साइकलदेखि बर्मा ब्रिज नेपालमै पहिलोपटक यो पार्कले संचालनमा ल्याएको छ ।

विश्वकी चर्चित अल्ट्रारेस धाविका मिरा राईको सम्मानमा ‘भोजपुर ट्रेल रेस’ पनि आयोजना हुँदै आएको छ । यसका साथै प्रदेश १ मा झरनामा पानीसँगै झर्ने खेल क्यानोनिङदेखि क्याम्पिङ पनि हुँदै आएको छ । क्यानोनिङ धनकुटाको नमस्ते झरनामा हुँदै आएको छ भने क्याम्पिङ प्रदेश १ मा गुरासको राजधानी तीनजुरे मिल्के र जलजले क्षेत्र हुने गरेको छ ।

सोलुखुम्बुको सोलुदुधकुन्ड नगरपालिका–७ मा २ हजार ८ सय रोपनी जग्गामा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान बन्दैछ । यसले हिमाल चढ्नेदेखि विभिन्न साहसिक पर्यटनका तालिमदेखि स्नातकोत्तरसम्मको पढाइ गर्नेछ । अहिले काठमाण्डौमा रहेर कक्षा लिइरहेको प्रतिष्ठानमा संरचना बनेपछि यहीं क्षेत्रबाट पढाइ गर्नेछ ।

नयाँ संभावना: ‘स्कि’देखि ‘स्कुबा डाइभिङ’सम्म

प्रदेश १ मा व्यावसायिक रुपमा सफल र भर्खरै बामे सर्दै गरेका दर्जन साहसिक पर्यटन प्याकेजबाहेकका थुप्रै नयाँ प्याकेजको संभावना छ । सरकारले पूर्वाधार र निजी क्षेत्रले लगानी गरेमा थुप्रै विश्व स्तरीय साहसिक पर्यटनका प्याकेजको संभावना प्रदेश १ मा छन् ।

पानीको गहिराइमा डुबेर आनन्द लिने खेल ‘स्कुबा डाइभिङ’देखि पुल वा टावरबाट खुट्टामा डोरी बाँधेर हाम फाल्ने ‘बम्जी जम्म’सम्मका संभावनाहरु छन् ।

सप्तकोशी नदीको गहिरो स्थानदेखि तिम्बुङ तथा सभापोखरीहरुमा स्कुबा डाइभिङ गराउन सकिन्छ । प्रदेश १ का अग्ला अग्ला खोँचमा विश्वका अग्ला बन्जी स्टेसनहरु बनाउन सकिन्छ । प्रदेश १ का अंगका पत्थरहरुमा रक क्लाइम्बिङ समेत बनाउन सकिन्छ ।

हावामा उडेको बेलुनमा यात्रा गर्ने ‘हटएयर बलुन’, सानो एकसिटे जाहाजमा यात्रा गर्ने खेल ‘अल्ट्रालाइट’, पहाडबाट चिप्लिदैँ खेलिने खेल ‘माउन्टेन कोस्टर’लगायतका धेरै साहसिक खेलहरुको लागि प्रदेश १ मा संभावना छन् । धेरै पर्यटकहरु आउने धरान, इलाम र भेडेटार क्षेत्रमा यी प्याकेज संचालन हुन सक्छन् ।

गुफैगुफाले भरिएका प्रदेश १ मा गुफा यात्रा गर्ने खेल ‘केभिङ’ साहसिक पर्यटनमा नयाँ प्रडक्ट बन्न सक्छ । हिँउले ढाकिएको प्रदेश १ का उच्च हिमाली क्षेत्रमा स्कि रिसोर्ट तथा स्कि खेलहरु साहसिक पर्यटनका नयाँ विश्वस्तरिय ब्रान्ड बन्न सक्छन् ।

४ हजार मिटरमाथि हिँउमा खेल्न सकिने दर्जनौँ ‘अल्पाइन’ खेलदेखि ३ सय मिटरमुनिको तराईमा खेल्न सकिने ‘ट्रपिकल’ खेलका लागि प्रदेश १ उपयुक्त छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर