६ वर्षदेखि मलेसिया रहेका गोपाल प्रसादले ल्याए एसईईमा २.७५ जिपिए ! – Nepal Press

६ वर्षदेखि मलेसिया रहेका गोपाल प्रसादले ल्याए एसईईमा २.७५ जिपिए !

जनकपुरधाम । वैदेशिक रोजगारीका लागि ६ वर्षअघि मलेसिया गएका गोपाल प्रसाद सन्तले यसपालिको एसईई परीक्षामा २.७५ जिपिए ल्याएका छन् ।

सप्तकोशी नगरपालिका– १० सप्तरीका २६ वर्षीय गोपाल प्रसाद सन्त स्थानीय जनता माध्यमिक विद्यालय भगनी मलेठबाट एसईई उतीर्ण भएका हुन् ।

विदेशमा रहेका उनी एसईई उतीर्ण भएपछि गाउँमा चर्चाको विषय बनेको छ । उनका बुवा रामप्रसाद सन्त विद्यालयका सहयोगी भएको बुझिएको छ ।

एसईई परीक्षा फारम भर्दा विद्यार्थी स्वयम् उपस्थित हुनुपर्नेछ । तर बुवाले नै प्रधानाध्यापक श्याम चौधरीको मिलोमतोमा छोरालाई सबै कागजी प्रक्रिया पूरा गरी उतीर्ण गराएको स्रोतले जनाएको छ ।

प्रधानाध्यापक चौधरीले विदेशमा रहेका व्यक्ति कसरी उतीर्ण भए भन्ने विषयमा बोल्न चाहेनन् ।

सप्तकोशी नगरपालिकाको शिक्षा शाखाले विदेशमा रहेका व्यक्ति कसरी एसईई उत्तिर्ण भए भन्ने विषयमा ‘विरण खुलाइ पठाउन’ विद्यालयलाई पत्र काटेको छ ।

शिक्षा अधिकृत रमेश कुमार खड्काले विद्यालयलाई काटेको पत्रमा भनिएको छ, ‘सम्बन्धित विद्यार्थीको प्रयोगात्मक परीक्षा कुन प्रक्रियाबाट लिइएको हो ? सम्पूर्ण तथ्य खुल्ने विवरणहरु तयार गरी २ दिनभित्र शिक्षा शाखामा पेश गर्नु हुन निर्देशानुसार अनुरोध छ ।’

साउन २६ गते नै विद्यालयलाई शिक्षा शाखाले पत्र पठाएर दुई दिन भित्र विवरण माग गरेको छ । तर आज तीन दिन बित्न लाग्दा पनि विद्यालयले जवाफ पेश गरेका छैन ।

शिक्षा अधिकृत खड्काले विद्यालयबाट मागेको जवाफ अहिलेसम्म प्राप्त नभएको बताए ।

जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख विजय मण्डलले विदेशमा रहेको व्यक्ति एसइई उतीर्ण भएको गुनासो आएपनि ठोस प्रमाण फेला नपरेको बताए । उनले भने, ‘विद्यालयसँग विवरण मागेका छौं । त्यस्तो गरेको पुष्टि भए प्रधानाध्यापकलाई कारवाही हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर