११ महिनामा दुई खर्बको कृषिजन्य वस्तु आयात, धान–चामल मात्रै ४८ अर्बको – Nepal Press

११ महिनामा दुई खर्बको कृषिजन्य वस्तु आयात, धान–चामल मात्रै ४८ अर्बको

काठमाडौं । नेपालमा पछिल्लो ११ महिनामा दुई खर्ब रुपैयाँभन्दा बढीको कृषि उपज आयात भएको छ । तथ्यांकअनुसार कृषि प्रधान देश नेपालले आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा धान र चामल मात्रै ४८ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ ।

नेपालले सबैभन्दा भारतबाट कृषिजन्य पदार्थ आयात गरेको छ । त्यस्तै कोरिया, अमेरिका, चीन, म्यान्मार, भेतनाम, जापानलगायतका देशबाट विभिन्न खाद्यवस्तु आयात हुँदै आएको छ ।

कृषि विज्ञ डा.कृष्ण पौडेलका अनुसार गत वर्ष २६ अर्ब रुपैयाँ बराबरको धान–चामल आयात भएको थियो । यो वर्ष झण्डै त्यसको दोब्बर आयात भएको छ । ‘नीति निर्माणमा हुनेले कसरी आयातलाई प्रतिस्थापन गर्ने र देशमा उत्पादन बढाउने भन्नेतर्फ ध्यान नदिँदाको परिणम हो यो,’ उनले भने ।

नेपालमा यो ११ महिनामा ३४ अर्ब रुपैयाँभन्दा माथिको तरकारी आयात भएको छ । खाद्यान्नमा सबैभन्दा बढी धान र चामल आयात हुन्छ भने तरकारीमा आलु सबैभन्दा बढी अयात हुनेमा पर्छ । आलु मात्र सो अवधिमा ८ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । मकै पनि सोही अवधिमा ५३ करोड केजी विभिन्न देशबाट आयात भएको छ । मकैका लागि नेपालले ११ महिनामा मात्र १४ अर्ब ४६ करोड रुपैयाँ विदेश पठाएको छ ।

कुनैबेला निर्यात हुने धान–चामल आयातमै धेरै खर्च

पञ्चायत कालसम्म नेपालले धान–चामल निर्यात गथ्र्यो । २०३३ सालमा सरकारले निर्यात कम्पनी नै स्थापना गरी नेपालबाट धान र चामल विदेश पठाउँथ्यो । २०३८ सालमा धान चामल निर्यात गर्ने कम्पनी बन्द भयो । र, २०४० को दशकबाट त नेपालले खाद्यान निर्यातको सट्टा आयत गरिरहेको छ ।

वर्सेनि रासायनिक मलको बढ्दो प्रयोगले पनि खाद्यान्न उत्पादनमा कमी भएको बताउँछन् कृषि विज्ञ डा. पौडेल । ‘सरकार रासयनिक मल कारखाना खोल्ने प्रयत्नमा छ । अर्कोतिर अर्बौको रासयनिक मल आयात गरिरहेको छ । र, खाद्यान्नसमेत आयात गर्दैछ । यसले देशमा खाद्यान्नमा दीर्घकालीन गम्भीर असर पर्नेछ,’ उनले भने ।

अहिले विश्वमा चामलको बढी उत्पादन र खपत गर्ने देशमा चीन अगाडि छ । चीनले सन् २०१९/२० मा १४६ मिलियन मेट्रिक टन चामल उत्पादन गरेको छ भने भारतले ११८ मिलियन मेट्रिक टन चामल उत्पादन गरेको छ । तर, जनसंख्या धेरै भएका कारण नगन्यमात्रमा मात्र चीनले चामल अन्य देश निर्यात गर्ने गरेको छ ।

विश्वमा धान निर्यात गर्ने देशमा भारत सबभन्दा अघि आउँछ । भारतले वर्षमा १५ करोड ५ लाख मेट्रिक टन धान विश्वका विभिन्न देशमा निर्यात गर्ने गर्छ ।

चामलको खपत बढ्दो

नेपालमा केही दशक अघिसम्म पनि मकै, कोदो, फापर, गहुँ खाने गरिन्थ्यो । तर, त्यसको खपत घट्दै गएको बताउँछन् कृषि विज्ञ डा. पौडेल । उनका अनुसार अहिले नेपालीले चामलको भातलाई पहिलो प्राथमिकता दिन्छन् ।

नेपाल धेरै चामल खपत गर्ने एसियाली देशमा पर्छ । सरदर नेपालीले एक वर्षमा करिब १३८ देखि ४० किलोसम्म चामल खपत गर्ने गरेका छन् ।
नेपालमा पशुका लागि पनि खाद्यान्न आउने गरेको छ । नेपालमा व्यवसायिक रुपमा पशुपालन बढेकाले पनि आयात बढेको हो । कृषि क्षेत्रका जानकारका अनुसार अहिले विश्वमा ४० प्रतिशत खाद्यान्न पशुका लागि उत्पादन हुन्छ ।

कालीमाटी तरकारी तथा फलपूmल बजारमा ८ सय टन तरकारी दैनिक भित्रने गरेको छ । भारतबाट मात्र ४५ प्रतिशत तरकारी र ७५ प्रतिशत फलफूल आयात हुने गरेको छ ।

सरकारी उपेक्षामा कृषि क्षेत्र

डा.पौडेलका अनुसार नेपालको कृषि सधैं उपेक्षामा परेको छ । नीति निर्माण तहमा बस्नेले नै कृषि र कृषकलाई उपेक्षा गरेको उनको बुझाइ छ ।

वास्तविक किसानका लागि अहिलेसम्म विनाकमिसन कुनैपनि कार्यक्रम नभएको भन्दै उनी प्रश्न गर्छन् । कृषिमा दीर्घकालीन सफलता प्राप्त गर्ने गरी नीतिगत तथा संरचनागत रुपमा परिवर्तन हुन आवश्यक रहेको उनको भनाइ छ ।

तथ्यांकमा हेर्नुहोस्, ११ महिनामा कुन कृषिजन्य सामग्री कति आयात–निर्यात भयो ?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर