एमालेका सांसदलाई मन्त्री बनाउनु असंवैधानिक, संविधानविद भन्छन्- सांसदबाट पदमुक्त हुन सक्छन् – Nepal Press

एमालेका सांसदलाई मन्त्री बनाउनु असंवैधानिक, संविधानविद भन्छन्- सांसदबाट पदमुक्त हुन सक्छन्

काठमाडौं । संसदीय प्रणालीमाथि नै प्रश्न उठ्नेगरी लुम्बिनीमा प्रतिपक्षी पार्टीका सांसद नयाँ सरकारमा मन्त्री खान गएका छन् । संविधानविदका अनुसार यस्तो हर्कत अनैतिक मात्र नभएर असंवैधानिकसमेत हो ।

२०७४ सालको संसदीय चुनावमा सुर्य चिन्हबाट जितेको अजय शाही कानूनतः एमाले सांसद हुन् । हृदयश त्रिपाठीको समूहका उनले एमालेको चिन्ह लिएर चुनाव लडेका थिए । त्यसैले संसदभित्र उनी अहिले प्रतिपक्षी सांसदको हैसियतमा छन् । तर, माओवादी नेतृत्वमा बनेको नयाँ सरकारमा उनलाई मन्त्री नियुक्त गरिएको छ ।

संसदीय निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहको नाममा सुर्य चिन्ह लिएर दुई उम्मेदवार (अजय शाही र धर्मबहादुर लाल श्रीवास्तव) ले चुनाव जितेका थिए । शंकर पोखरेलको नेतृत्वमा सरकार रहुञ्जेल उनीहरु सत्तापक्षकै सांसदको हैसियतमा रहे । जब पोखेलको सरकार ढल्ने निश्चित भयो, त्यसपछि शाहीले कित्ता परिवर्तन गरे ।

हिजो आह्वान भएको संसदको विशेष अधिवेसन एमालेले बहिष्कार गर्ने निर्णय लिएको थियो । तर, सो निर्णय उल्लंघन गर्दै शाहीले संसद वैठकमा भाग लिए । त्यसपछि उनी मन्त्री बन्न सक्ने अड्कन काटिएको थियो । नभन्दै माओवादीका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले उनलाई पहिलो लटमै मन्त्री बनाएका छन् । उनको मन्त्रालय भने तोकिएको छैन ।

त्यसो त शाही नआउँदा पनि माओवादी-कांग्रेस गठवन्धनलाई बहुमत पुग्थ्यो । एकजना सांसद पनि यताउता हुँदा अविश्वासको प्रस्ताव फेल हुने अवस्था थियो । त्यसैले सांसदीय मूल्य-मान्यता विर्सेर मुख्यमन्त्री केसीले एमालेका सांसदलाई मन्त्री बनाइदिएका छन् ।

संविधानविद टिकाराम भट्टराईले सुर्य चिन्हबाट चुनाव जितेका शाही एमालेकै हैसियतमा हुने भएकाले उनी मन्त्री बन्दा कानुनी प्रश्न उठेको बताए ।

‘स्वतन्त्र भए पनि सुर्य चिन्हबाट चुनाव लडे पनि उहाँहरु एमालेकै सांसद हो, एमाले प्रतिपक्षमा बस्ने निर्णय गरिसकेपछि यो विषय दलीय अनुशासनको कारवाहीको दायराभित्र आउँछ ।’

मन्त्री बन्न गएका शाहीलाई एमालेले कारवाही गरेर संसदबाट हटाउन सक्ने उनको भनाइ छ ।

यसअघि तत्कालीन नेकपाबाट उपचुनाव जितेर प्रदेश सभा सांसद बनेकी बिमला वली माओवादी प्रवेश गरेकी थिइन् । उनले पनि सुर्य चिन्हबाटै चुनाव लडेकी हुन्, तर त्यसबेला एमाले र माआवादी मिलेर नेकपा बनेको थियो, जुन पार्टी अहिले भंग भएको छ । तर, शाहीले भने एमालेबाटै चुनाव जितेकाले उनको हकमा पार्टी परिवर्तनको छुट नभएको संविधानविदले बताएका छन्।

शाहीले नवलपरासी पश्चिम १ ख बाट सूर्य चिन्हबाट चुनाव जितेका थिए । यसअघि बजेट निर्णयार्थ पेस गर्ने दिनमा पनि उनी बिरामी परेको भन्दै काठमाडौं गएका थिए ।

शाही र वली बैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्यासको प्रस्ताव पेश गर्ने समयमा पनि हस्ताक्षरकर्ता हुन् । तर शाहीले अर्को दिन आफू एमालेमै रहेको विज्ञप्ती निकालेका थिए । उनीसँगै विपक्षी गठबन्धनमा लागेका कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तव फर्केर एमालेमा मन्त्री बनेपछि शाही असन्तुष्ट रहेका थिए ।

एमालेले विमला र शाही दुवै विरुद्ध कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

स्वतन्त्र राजनीतिक समूहको नामबाट सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा विजयी भएका लुम्बिनी प्रदेशसभामा दुई सांसद छन् ।

यो समूहले यसअघि पोखरेल नेतृत्वको सरकारलाई साथ दिएको थियो र सांसद धर्मबहादुर लाल श्रीवास्तव सरकारमै सहभागी भएका थिए । अहिले सोही समूहका अर्का सांसद शाही केसी नेतृत्वको मन्त्रिपरिषदमा सहभागी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर