प्रश्न–पत्र ‘लिक’ भएका कारण नेपाल प्रहरीको प्रि–स्याट परीक्षा रद्द – Nepal Press

प्रश्न–पत्र ‘लिक’ भएका कारण नेपाल प्रहरीको प्रि–स्याट परीक्षा रद्द

काठमाडौं । नेपाल प्रहरीको प्रि–स्याट परीक्षा रद्द भएको छ । परीक्षा अगावै प्रश्न–पत्र बाहिरिएको पुष्टि भएपछि परीक्षा रद्द भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको हो ।

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानु अघि लिइने प्रारम्भिक छनौट परीक्षा रद्द भएको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आफु मातहतका कार्यालयलाई विशेष कारणले’ परीक्षा रद्द भएको भन्दै परिपत्र गरेर जानकारी गराएको हो । परिपत्रमा परीक्षाको मिति तय भएपछि जानकारी गराइने र सहभागी हुनेलाई तयारी अवस्थामा राख्न पनि भनिएको छ ।

प्रहरी प्रधान कार्यालय,प्रहरी महानिरीक्षक (आईजीपी) को सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) वसन्त लामा नेतृत्वको छानविन समितिले प्रश्न–पत्र बाहिरिएको पुष्टि गरेपछि तीन प्रहरीलाई बर्खास्त र ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरे लगत्तै परीक्षा पनि रद्द गरिएको जनाइएको छ । यूएन शाखाले साउन १५ र १६ गते लिएको प्रि–स्याट परीक्षाको प्रश्न–पत्र युएन शाखाबाटै चोरिएको थियो ।

प्रहरी परिचर सुरेश बमले प्रश्न–पत्र चोरी गरेर साइबर ब्युरोका हवल्दार कुमार शाहलाई पठाएका अनुसन्धानबाट खुलेको थियो । शाहमार्फत सई जनकबहादुर थापासम्म प्रश्न पत्र पुगेको थियो । थापाले अन्य व्यक्तिलाई फोटोकपी गरेर प्रश्न–पत्र बाँडेका थिए । तीनै जनालाई बर्खास्त गर्न छानविन समितिको सिफारिस गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर