राजनीतिमा युवाको हस्तक्षेपकारी भूमिकाको खाँचो – Nepal Press
सन्दर्भः अन्तर्राष्ट्रिय युवा दिवस

राजनीतिमा युवाको हस्तक्षेपकारी भूमिकाको खाँचो

युवा भनेको लक्का जवान, शारीरिक, मानसिक वौद्धिकरुपमा दरिलो मान्छे मात्रै होइन । युवा त बिचार हो, दृष्टिकोण पनि हो । युवालाई सशक्त चिन्तनको प्रबाह पनि हो भनेर बुझ्न जरुरी छ ।

युवाको सोच तथा दृष्ट्रिकोण तुलनात्मक रुपमा प्रगतिशील हुन्छ, उन्नत हुन्छ । त्यसैले युवा उमेर मात्रै होइन ।

उमेरको दृष्टिले पनि युवालाई फरक–फरक समूहमा राखेर परिभाषित गरिएको पाइन्छ । संयुक्त राष्ट्र संघले एउटा उमेर समूहलाई युवा मान्छ भने भारतले फरक उमेर समूहलाई ।

नेपालको पनि आफ्नै परिभाषा छ । नेपालले १६ देखि ४० वर्षका मानिसलाई युवा भनेर परिभाषित गरेको छ । यो परिभाषाअन्तर्गत आमा र छोरी, बाबु र छोरा एकैचोटि युवामा पर्न सक्छन् ।

भोलि राज्य नीति निर्माण गर्दा छोरालाई हेरेर काम गर्ने कि बाबुलाई हेरेर ? यसरी हेर्दा हाम्रो परिभाषा वैज्ञानिक देखिएन । खास खास उमेर समूहका किशोर किशोरी तथा युवाहरुको चासोलाई उचित रुपले सम्बोधन गर्ने प्रयत्नमा हामी सधैं कमजोर सावित हुँदै आएका छौं ।

दुनियाँको सबैखाले राजनीतिक एवं सामाजिक परिवर्तन युवाको सहभागिता र उनीहरुकै महत्वपूर्ण भूमिकाबिना सम्भब भएको छैन । हर कुनै घटना र मुद्दामा युवाको लगनशील भूमिकाले गर्दा संसारको प्रायः सबै परिवर्तन सफल भएका हुन् ।

राजनीतिक व्यवस्था परिवर्तनको क्रान्ति र आन्दोलनहरुमा युवा शक्तिको सहभागिता उल्लेख्य रह्यो ।अझै भनौं हस्तक्षेपकारी नै रह्यो ।

समाजको आर्थिक, सामाजिक एवं राजनीतिक अभियानमा युवाले अत्यन्तै उत्कृष्ट भूमिका निर्वाह गरेको दृष्टान्त संसारसामू जगजाहेर छ ।

दुनियाँलाई परिवर्तन गर्नसक्ने, संसारलाइ उलटपुलट गर्नसक्ने युवा भविष्यको कर्णधार मात्रै बनिरहेको तर अझै पनि वर्तमानमा साझेदार बन्न नसकिरहेको परिस्थिति छ ।

युवालाई केवल देखाउने, लडाउने, विद्रोह गर्न मात्रै लगाउने अनि सत्ता र शक्तिमा, नीति निर्माण र कार्वान्वयनको तहमा सहभागिता भने नगराउने रोग समाजमा व्याप्त छ ।

युवाले अरु सबैले गर्नसक्ने जति सबै क्षेत्रका काम कारवाही गर्न सक्छन् तर यो या त्यो कारण र रुप देखाएर उनीहरुलाई भूमिका दिइँदैन । अब युवाले आफ्नो अर्गानिक क्षमताको भूमिकाको निमित्त आवाज उठाउनै पर्छ ।

युवाले आफ्नो क्षमताअनुसारको काम आफैंले गर्न पाउने व्यवस्थाको निमित्त हस्तक्षेपकारी दायित्वलाई सम्झिएर लाग्नैपर्ने बेला आएको छ ।

एक युवा समाजको सबैखाले जिम्मेवारी लिएर वर्तमानको जिम्मेवार भूमरीमा निर्वाह गर्दै भविष्यको निमित्त थप परिपक्वता प्रदर्शन गर्न सक्षम हुन्छ । तर यसको लागि युवाले पनि विचार, चेतना र ज्ञानको दायरा अभिवृद्धि गर्न जरुरी छ ।

एउटा युवा सक्षम हुन राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिकरुपमा सबै पक्षको थोरबहुत विषयमा जानकार हुनुपर्छ र शिक्षा हासिल गर्नु पर्छ । औपचारिक शिक्षा मात्रै होइन, अनौपचारिक शिक्षामा पनि युवा समुदायले विशेष चाख राख्नु पर्दछ ।

अध्ययनको दायरालाई अझै फराकिलो बनाउनु पर्दछ । विश्वविद्यालयबाट औपचारिक शिक्षा लिनु त अनिवार्य नै छ तर युवा शक्तिले अझै परिपक्व र उत्कृष्ट बन्नका लागि समाज, देश, दुनियाँ र संसारलाई नजिकबाट चिन्नु जरुरी छ । यसरी समाजलाई चिन्न बुझ्न समूह, संगठन र राजनीतिक मोर्चाहरुमा अझै हस्तक्षेपकारी भूमिकामा युवाले आफूलाइ उभ्याउन आवश्यक छ ।

२०६२/६३ सालको शान्तिपूर्ण जनक्रान्तिपछि नेपाली राजनीतिमा केही हदसम्म युवा शक्तिको भूमिका बढेको छ । यद्यपि यो पर्याप्त र उचित स्थानसम्म भने अझै पुग्न सकेको छैन ।

नेपाली राजनीतिमा एकज युवा कुनै राजनीतिक पार्टीमा छिरिसकेपछि नेता बन्नको लागि पार गर्नुपर्ने चरणहरु धेरै छन् । ठूला भनिने पार्टीहरु, जस्तो कि नेपाली कांग्रेस, एमाले र माओवादीमा अझै पनि साधारण सदस्य बनेको निश्चित वर्षपछि मात्रै केन्द्रीय सदस्यको उम्मेदवार बन्न पाइन्छ । यसरी हेर्दा कुनै पनि मानिसले आफ्नो प्रतिभा र क्षमताले नेतृत्व गर्ने होइन कि, पार्टी प्रवेश गरेपछि पार्टी जस्तो छ त्यस्तै बनिसकेपछि मात्रै नेतृत्वमा आउने सम्भावना रहन्छ ।

हाम्रा राजनीतिक पार्टी भित्रका संरचनाहरु युवामैत्री पटक्कै छैनन् । समाजको परिवर्तन गर्ने मुख्य शक्ति राजनीतिक पार्टी नै भएकोले युवा समुदायले राजनीतिक पार्टीमा नै आफ्नो भूमिका खोज्ने, राजनीतिक रुपमा नै दृष्टिकोण निर्माण गर्ने र राजनीतिक सिद्धान्तकै आधारमा सामाजिक रुपान्तरणको अभियानहरु संचालन गर्नुपर्दछ ।

युवाहरुले तत्कालको नाफा–घाटा र स्वार्थलाई भुलेर स्वावलम्बी, दक्ष र व्यवसायिक बन्नु पर्दछ । युवामा कुनै पनि नेताको फेर नसमातिकन अघि बढ्ने क्षमता र आँट चाहिन्छ । अनिमात्रै नेताहरुसँग प्रश्न गर्न सकिन्छ र नयाँ एजेन्डा स्थापित गर्न सकिन्छ । वैचारिक रुपले प्रष्ट र पारदर्शी बनाउन सकिन्छ ।

यसबाट आन्तरिक लोकतन्त्र बलियो बनाउन सक्ने आत्मविश्वास पनि युवाहरुमा विकास हुन्छ । यसरी, पहिला युवाहरु नै एजेण्डामा स्पष्ट, विचार प्रष्ट हुनु पर्दछ ।

त्यसैले युवाहरुले समाजलाई फेर्ने ऐतिहासिक दायित्वलाई कहिल्यै भुल्नु हुँदैन । अन्तर्राष्ट्रिय युवा दिवसको दिनमा मात्रै हामीले यस युगीन दायित्वलाई सम्झने होइन, सधैं हामीमा जिम्मवारबोध हुन आवश्यक छ ।

(लेखक अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य हुन्)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *