राष्ट्रियसभामा अर्थमन्त्री- श्वेतपत्रलाई प्रगति रिपोर्टको रूपमा बुझिदिनु होला – Nepal Press

राष्ट्रियसभामा अर्थमन्त्री- श्वेतपत्रलाई प्रगति रिपोर्टको रूपमा बुझिदिनु होला

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आजको राष्ट्रियसभाको बैठकमा श्वेतपत्र प्रस्तुत गरेका छन् । उनले आफूले कोही कसैसँगको आग्रह/पुर्वाग्रह राखेर श्वेतपत्र नल्याएको भन्दै यथार्थपरक तथ्यांक प्रस्तुत गरेको दावी गरे ।

राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले अघिल्लो सरकारले गरेको कामका विषयमा श्वेतपत्रमा चर्चा नै नगरिएको बताएका छन् । ‘मन्त्रीज्यूभित्र रहेको पूर्वाग्रहले यस्तो गर्न दिएन कि जस्तो लाग्छ’, उनले भने । अर्थमन्त्रीले झुटको पुलिन्दा निर्माण गरेको भन्दै उनले यो ‘सरकारले वैदेशिक ऋणको साहयताबि नै सरकार अगाडी बढ्न खोजेको हो र ?’, भनी प्रश्न गरेका थिए ।

सांसद प्रकाश पन्तले संसद भएको अवस्थामा बजेट संसदबाटै प्रस्तुत हुनुपर्ने धारणा व्यक्त गरे । ‘हामीले बजेट खोज्नका लागि रत्नपार्क र पुतलीसडक जानु नपरोस्’, उनले भने ।

समाजिक सुरक्षाकोष सबै वृद्धवृद्धाले पाए पनि अपांगता भएका व्यक्तिले पाउन नसकेको उनले बताए । राष्ट्रियसभा सदस्य प्रमिलाकुमारीले मानव विकास सूचांकमा पछि परेका प्रदेशमा विकास गर्नका लागि कस्तो रणनीति सरकारले अपनाउँछ भनी प्रश्न गरिन् ।

अर्का सदस्य खिमलाल देवकोटाले अघिल्लो सरकारले धुमधामका साथ शिलान्यास गरेको ३९७ स्थानमा निर्माण हुने अस्पतालमा स्रोत सुनिश्चिताको अवस्था कस्तो रहेको छ भनी प्रश्न गरेका थिए ।

अर्का सदस्य रामनारायण विडारीले विगतको सरकारले कृषि क्षेत्रमा लगानीका लागि ऐनसमेत निर्माण गरेको भन्दै कृषि क्षेत्रलाई आत्मानिर्भर बनाउने कि वैदेशिक लगानी भित्र्याउने ? भनी प्रश्न गरे ।

कोभिड १९ को तेस्रो लहर फैलिरहेको समयमा स्वास्थ्य सामाग्री र बजेट व्यवस्थापन कसरी भइरहेको छ भनी उनले अर्थमन्त्री शर्मासँग जवाफ मागे ।

डा. विमला राई पौडेलले अर्थतन्त्रमा आज गरेको कामको असर भोलि नदेखिने भन्दै समय लाग्ने बताइन । ‘अर्थमन्त्रीले श्वेतपत्रमा तथ्याङ्क प्रस्तुत गरिरहँदा २०७२ सालमा ४ महिना नाकाबन्दी उल्लेख गर्न छुटेको छ । मैले यसलाई नियतवस छुटेको ठान्दिन । त्यसको असर अहिलेसम्म पनि रहेकाले त्यस्ता महत्वपूर्ण घटनालाई श्वेतपत्रमा जस्तो महत्वपूर्ण दस्तावेजमा छुट्याउनु हुदैन’, उनले भनिन् ।

त्यस्तै कोभिडको कारण राजस्व घट्ने र खर्च बढ्ने भएकाले सञ्चिति कोष पनि घट्नु सामान्य भएको पौडेलले बताइन् । सांसद कोमल वलीले विगत ३ वर्षको अर्थतन्त्र ओली सरकारले नै ध्वस्त पारेजस्तो गरी प्रस्तुत गरिएको टिप्पणी गरिन् ।

कोभिड १९ कारण विगत २ वर्षको अर्थतन्त्र थलिएको र सरकारले राहात कार्यक्रम ल्याएको कुरा बिर्सिन नहुने उनको भनाइ थियो । ‘कृषि ,उद्योग, यातायात, जलविद्युतलगायतका क्षेत्र माथि उठाउन अर्थमन्त्रीज्यूले कस्ता योजना ल्याउनु भयो? , श्वेतपत्रमा प्रस्तुत भएका तथ्याङ्क त आर्थिक सर्वेक्षणमा नै छन् होइन र ?’, उनको प्रश्न थियो ।

सदनमा उठेका प्रश्नमाथि जवाफ दिँदै अर्थमन्त्री शर्माले आफूले देशको वर्तमान आर्थिक अवस्था भनी उल्लेख गरेको बताएका छन् । त्यसमा कुनै आग्रह पुर्वाग्रह नराखेको उनको जिकिर थियो । यस दस्तावेजमा पुल र सडक कति लामो बनाइयो भनेर उल्लेख नगरिने समेत उनले बताए ।

‘पुल र सडक कति लामो बनाइयो भनेर यसमा भनिँदैन । यसमा आर्थिक विकास र प्रगतिको के अवस्था छ । पुँजी निर्माण कसरी भइरहेको छ , सञ्चितीको अवस्था के छ भन्ने विषय वस्तुहरूलाई तथ्याङ्कमा जे त्यही प्रस्तुत गरेको हो’, शर्माले भने ।

संसदमा प्रश्न उठ्ने थाहा पाएर नै उक्त तथ्यांकहरू प्रस्तुत गरिएको भन्दै अर्थमन्त्री शर्माले यसलाई विगत ३ वर्षको प्रगतिको रिपोर्टको रूपमा बुझ्न आग्रह गरे ।

‘हाम्रो आर्थिक अवस्थाको जे छ त्यही ऐना प्रस्तुत गरेको हुँ । ऐनामा त आफ्नै अनुहार देखिने हो । यो देशको अर्थतन्त्रको ऐना हो’, शर्माले भने । यसमा कुनै तथ्याङ्क थप्न पनि नमिल्ने तथा घटाउन पनि नमिल्ने उनको भनाइ थियो ।

तथ्याङ्कमा श्वेतपत्र पूर्वाग्रही देखिएमा अर्थमन्त्रीको हैसियतमा त्यसको जिम्मेवारी लिन आफू तयार रहेको बताए । काम ढिलो हुँदा आयोजना प्रभावित भएको जनताले भनेको वास्तविकतालाई प्रस्तुत गरिएको उनको दावी थियो ।

नयाँ बजेटको सन्दर्भमा अर्थमन्त्री शर्माले अध्यादेशमार्फत बजेट ल्याउनु गलत भएको भन्दै बजेटको प्रतिस्थापन तथा नयाँ कार्यक्रम ल्याउने वा नीति परिवर्तन गर्ने जिम्मा संसदकै भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर