लुम्बिनीमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेस, यी हुन् सम्भावित मन्त्री – Nepal Press

लुम्बिनीमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेस, यी हुन् सम्भावित मन्त्री

रूपन्देही । लुम्बिनीमा गठबन्धन दलले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री बनाउन दावी पेस गरेका छन् ।

नयाँ सरकार गठनका दावी पेस गर्न प्रदेश प्रमुखले दिएको २४ घण्टाको समयसीमा ३ बजे सकिँदै थियो । केही बेरअघि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष गठबन्धनले सरकारको नयाँ नेतृत्वको लागि ४२ सांसदको हस्ताक्षरसहित दावी पेस गरेका हुन् । गठबन्धनको तर्फबाट हस्ताक्षर गर्नेमा एमाले सांसद अजय शाही पनि छन् । आजै सानो आधारको मन्त्रिमण्डल बनाउने उनीहरूको तयारी छ ।

गठबन्धनमा सहभागी तीनै दल माओवादी, कांग्रेस र जसपाबाट एक/एकजना मन्त्री बनाउने तयारी गरिएको छ । मुख्यमन्त्रीको नियुक्तिलगत्तै चार सदस्यीय मन्त्रिमण्डल गठनको तयारी गरिएको माओवादी सचेतक तुलाराम घर्तीले जानकारी दिए ।

पहिलो चरणमा नेपाली कांग्रेसबाट डिल्ली चौधरी, फखरूद्दिन खान, वीरबहादुर रानामध्ये एकजना, माओवादीबाट सुदर्शन बराल, दामा शर्मा र तुलाराम घर्तीमध्ये एकजना र जसपाबाट सहश्राम यादव मन्त्री बन्ने बताइएको छ । कांग्रेसबाट पहिलो प्राथमिकतामा दाङबाट निर्वाचन जितेका डिल्ली चौधरी परेका छन् ।

उनलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय दिने तयारी छ । चौधरी हाल लेखा समिति सभापति छन् । माओवादीका बराल यसअघि मन्त्री बनिसकेकाले महिलाको प्रतिनिधित्व गर्दै दामा शर्मालाई सरकारमा पठाउने तयारी ।

एक सांसद रहेर गठबन्धनमा बसेको जनमोर्चा भने तत्काल सरकारमा सहभागी नहुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर