कुलप्रसादको भाग्योदय, लुम्बिनीको मुख्यमन्त्री बन्ने लगभग तय – Nepal Press

कुलप्रसादको भाग्योदय, लुम्बिनीको मुख्यमन्त्री बन्ने लगभग तय

गठबन्धनले आजै सत्ता सम्हाल्ने तयारी

रुपन्देही । लुम्बिनीमा नयाँ सरकार आह्वानसँगै माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ । कुनै नाटकीय मोड उत्पन्न नभए चारदलीय गठवन्धनको समर्थनमा उनी आज नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन् ।

बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएका थिए । गठबन्धन दलहरुले यसअघि नै सरकारको नेतृत्व कुलप्रसाद केसीलाई दिने सहमति गरेका छन् । यद्यपि आलोपालो प्रणालीको सहमति भएकाले उनले अबको ८ महिना मात्र सरकार चलाउन सक्नेछन् । त्यसपछि अर्को ८ महिना कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियालाई उनले पद सुम्पिनुपर्ने छ ।

प्रदेश प्रमुख सेरचनले दुई वा दुईभन्दा बढी दलको सरकार गठन गर्न प्रदेशसभामा रहेका दलहरूलाई आहृवान गरेका हुन् । संविधानको धारा १८८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई साउन २८ गते ३ बजेसम्म दाबी पेश गर्न आहृवान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

नयाँ सरकारका लागि अहिलेसम्म बिपक्षी गठबन्धनले मात्र दावी पेश गर्ने तयारी छ । विपक्षी गठबन्धनले तेस्रोपटक अविश्वासको प्रस्ताव ल्याएपछि मुख्यमन्त्री पोखरेलले पद छाडेका हुन् । साउन १६ गते नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अश्विासको प्रस्तावमा छलफल गर्न बुधबारका लागि विशेष अधिवेशन आहृवान भएको थियो । विशेष अधिवेशन अगाडि नै पोखरेलले राजीनामा दिएका हुन् ।

पहिलोपटक वैशाख ६ गते विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्तावको लागि वैशाख १९ गतेका लागि प्रदेशसभा बैठक आहृवान भएको थियो । बैठक आहृवान भएकै दिन मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर सोही दिन बहुमतको सरकारको पुनःनियुक्ति भएका थिए ।

पोखरेल २०७४ फागुन ३ गते पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई दल ९एमाले र माओवादी केन्द्र० को समर्थनसहित उनी मुख्यमन्त्री बन्दा निकै सहज थियो । तर, पार्टीभित्रको विवादले उनको सरकार ढल्न पुगेको हो ।

को हुन् भावी मुख्यमन्त्री कुलप्रसाद ?

विपक्षी गठबन्धनबाट अबको मुख्यमन्त्रीमा अगाडि सारिएका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी सोनाम हुन् । उनले मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री भएर ३ वर्षभन्दा बढी काम गरेका थिए ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै बैशाख ६ गते राजीनामा दिएर अविश्वासको प्रस्तावमा उनले हस्ताक्षर गरेका थिए । रोल्पा ६ लिवाङ घर भएका केसीले त्यहीँबाट चुनाव जितेका हुन् ।

२०४६ सालमा नेकपा मसालबाट राजनीति शुरु गरेका उनले प्रमाण पत्र तहसम्मको अध्ययन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर