अस्तव्यस्त कोशी अस्पताल : बिरामीका झमेला, कसले बुझिदेला ? – Nepal Press

अस्तव्यस्त कोशी अस्पताल : बिरामीका झमेला, कसले बुझिदेला ?

विराटनगर । मोरङ रंगेली नगरपालिका रञ्जनीकी रनमाया कार्कीको खुट्टा करकर दुख्न थाल्यो । स्थानीय क्लिनिकमा देखाएर औषधी पनि खाइन् तर उनको खुट्टा दुख्न छाडेन । त्यसपछि थप उपचारका लागि अस्पताल जाने तयारी गरिन् ।

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका कारण उनी नजिकैको स्वास्थ्य चौकीबाट रेफर भएर कोशी अञ्चल अस्पतालमा उपचार गर्न आइन् । काउन्टर र परीक्षणको भीडका कारण एक्सरेको पालो कुर्न नसक्दा उनलाई झन पीडा भयो । उनले भनिन्, ‘अस्पतालको भीड देखेर एकछिन पनि बस्न मन छैन । लाइनमा बसेको तीन घण्टा भइसक्यो, एक्सरेको पालो कतिखेर आँउछ थाहा छैन ।’

आमाको उपचार गराउन आएका हिरण्य कार्कीले अस्पतालमा उपचार गराउन समस्या भएको बताए । समयमा परीक्षण गर्न नपाउँदा रोग घट्नुको सट्टा बढेकोमा उनले गुनासो गरे । टिकट काटेर डाक्टरलाई देखाए पनि एक्सरे गरेर आउनु भनेपछि धेरै दु:ख पाएको भन्दै उनले भने, ‘एक्सरे गर्न पालो नआएपछि भोलिपल्ट फेरि आउनु पर्ने भयो । बिरामीलाई झन् पीडा भो ।’

ज्वरो आएर उपचार गराउन आएका सुनसरी दुहवीका रामबहादुर श्रेष्ठलाई अस्पतालका सबै रिपोर्ट भेला गर्न तीन दिन लाग्यो ।

बीमाका कारण बिरामीको चाप

स्वास्थ्य बीमा कार्यक्रममा सरकारले प्राथमिकतामा राखेपछि कोशी अस्पतालमा बिरामीको चाप बढेको छ । यसअघि विराटनगरका निजी अस्पतालहरूले विज्ञापन नै गरेर स्वास्थय बीमा गरेका बिरामीलाई बोलोउने गरेको र सामान्य बिरामीलाई समेत धेरै परीक्षण गरेर सरकारसँग बीमावापतको रकम लिँदै आएका थिए ।

साउनयता प्रथम सेवा विन्दूबाट रेफर नभइ निजी अस्पतालमा गए स्वास्थ बीमाको रकम नपठाउने निर्णय भएपछि कोशी अस्पतालमा बीरामीको चाप बढेको छ ।

यसअघि बिरामीको इच्छाअनुसार सजिलै रेफर गरिँदै आएकोमा साउनयता भने डाक्टरले एनएमसी नम्बरसहित राखेर कारणसहित रेफरको चिठ्ठी बनाइदिनु पर्ने नियम लागेपछि कोशी अस्पतालले बिरामीलाई रेफर समेत दिन छाडेको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा कडाइ भएपछि ओपीडी सेवा लिने ५ सयदेखि ६ सयबाट बढेर साउनयता दैनिक १ हजारभन्दा बढी पुगेको छ ।
तीमध्ये अधिकांश स्वास्थ्य बीमाका सेवाग्राही रहेको अस्पताल प्रशासनले जनाएको छ । बिरामी अनुसारको संरचना र कर्मचारी अभावमा जताततै बिरामीको पट्टाइलाग्दो लाम हुन्छ ।

ज्येष्ठ नागरिक, अपांगता भएका र अशक्तका लागि एउटा साथै महिला र पुरुषको अलग काउन्टर बनाएर काम गरिएको भए पनि सेवा प्रवाहमा समस्या भएको अस्पतालका बीमा कार्यक्रम हेर्ने कर्मचारी भोला ढुंगेल बताँउछन् । ‘सबै कागजपत्र स्क्यान गरेर रेकर्ड राख्नुपर्छ । दिनहुँ बीमा कार्यक्रमका सहभागीको संख्या बढेको छ । कर्मचारी भने कम छन् ‘, ढुंगेलले भने ।

कोटा लागू भएपछि सकस बढ्यो

बिरामीको चाप बढेपछि अस्पतालमा भिडियो एक्सरे अल्ट्रासाउण्ड गराउन अस्पतालमा दैनिक कोटा प्रणाली लागू भएको छ । घण्टौ लाइन बसेपछि कोटा सकिएको भन्दै भोलि लाइन लाग्न भनिएपछि बिरामीको विरोधले दिनहुँ अस्पतालमा होहल्ला मच्चिन्छ । समस्या समाधानतर्फ अस्पताल प्रशासनले कुनै चासो नराखेको सेवाग्राही गुनासो गर्छन् ।

अस्पतालले रेफर पनि नदिने र समयमा उपचार पनि नपाउने भएपछि बिरामीहरू मर्कामा परेको उपचारका लागि आएका प्रबिन कार्कीले बताए ।

कोशी अस्पतालमा २ सय देखि २ सय ५० जना अल्ट्रासाउन्ड, सिटी स्क्यान र एक्स-रेलगायतका रेडियोलोजी सेवा लिन आउँछन् ।
तर, रेडियोलोजी विभागमा चिकित्सक नपुगले ५० देखि ६० जनाभन्दा बढीको जाँच हुन पाउँदैन ।

सेवा प्रवाहमा चिकित्सक र कर्मचारी अभाव

रेडियोलोजी विभागमा दुईजना चिकित्सकको दरबन्दी छ । तर पाँच वर्षदेखि रिक्त छ । अस्पताल विकास समितिले करारमा नियुक्त गरेको दुईजना र दरबन्दीका एकजना गरी तीनजना रेडियोलोजिस्ष्टले राजीनामा दिएको कारण अस्पतालको सेवा प्रभावित बनेको छ ।
अहिले छात्रावृत्ति करारमा नियुक्त एकजना चिकित्सकमात्र कार्यरत छन् ।

अस्पतालमा दुईजनाको रेडियोलोजिस्टको दरबन्दीअनुसार डा. ओमबिजु पन्त र डा पुस्कर देव थिए । डा. पन्त विभागीय कारवाहीमा परेका छन् भने भएका डा. देवले अघिल्लो आइतबारदेखि लागू हुने गरी राजीनामा दिएका छन् ।

सेवा प्रभावित हुनुमा जनशक्ति अभाव रहेको अस्पताल प्रशासनको भनाइ छ । दरबन्दीअनुसारका चिकित्सक नहुनु र करारमा रहेका डाक्टरहरुले पनि राजीनामा दिएका कारण समस्या भएको अस्पतालका निमित्त मेसु डा. लक्ष्मीनरायण यादवले बताए ।

रेडियोलोजी विभागमा सबैभन्दा बढी समस्या भएको भन्दै यादवले सेवा दिने जनशक्तिकै अभावमा सेवाग्राहीले दु:ख पाएको स्वीकारे । डा. यादवका अनुसार अस्पतालमा ऐनेस्थेसिया, नेफ्रोलोजिष्ट, कार्डियोलोजिष्टको समेत अभाव छ । ५ सय शय्यामा स्तरोन्नती भएको अस्पतालमा संरचना र जनशक्ति भने त्यो अनुसारको नहुँदा अन्तत: बिरामीले दु:ख पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर