शशांकको स्पष्टीकरण : देउवासँग मिलेको छैन, भिडेरै जाने हो – Nepal Press

शशांकको स्पष्टीकरण : देउवासँग मिलेको छैन, भिडेरै जाने हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै साठगाँठ नरहेको बताएका छन् । संस्थापनइतरका जिल्ला सभापतिहरुको भेलामा बोल्दै कोइरालाले निर्वाचित महामन्त्रीका रुपमा आफूले विधानसम्मत काम गर्न खोजेपनि परिस्थिति त्यस्तो नबनेको बताए ।

केही जिल्ला सभापतिहरुले निर्वाचित महामन्त्रीले भूमिका निर्वाह गर्न नसकेको, सभापति देउवासँग मिलेमतो गरेको आरोप लगाएपछि कोइरालाले देउवासँग मिलेर होइन भिडेर जान आफू तयार रहेको बताएका हुन् ।

‘निर्वाचित हुनेबित्तिकै केहीसमय पार्टी सहज ढंगले चलोस भनेर कसैको विरोध गरिन । तर जब पार्टीभित्र अन्याय र अत्याचार सुरु भयो मैले बोलेकै छु । म आज स्पष्टसाथ भन्छु देउवासँग मिल्ने होइन भिड्ने हो । गलत प्रवृत्तिविरुद्ध लड्ने हो’, कोइरालाले भने ।

सञ्चारमाध्यमलाई प्रवेश नदिइएको बैठकमा बोल्दै कोइरालाले आफूले विधानसम्मत काम गर्न दवाव दिएको र देउवासँग असहमति राखेकै कारण मनोनित महामन्त्रीलाई बढी भूमिका दिइएको बताए ।

कोइरालाले बोलेर सकिएपछि एक जिल्ला सभापतिले ‘निर्वाचित भन्दा मनोनित महामन्त्रीको भूमिका किन धेरै ?’ प्रश्न गरेका थिए । ‘शेरबहादुरसंग मिलेको भए त सबै जिम्मेवारी दिन्थे होलान् नि । मैले उहाँसँग अनुचित सहकार्य गरिन, त्यसैले मसँग काम गर्नुभन्दा पूर्णजीसँग काम गर्न सजिलो मान्नुभयो । यो त बितेको कुरा हो, अब त गरेर अर्थ छैन । सबै मिलेर देउवालाई परास्त गरौं न’, कोइरालाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर