आक्रमणकारीको किटानी जाहेरी दिँदा पनि प्रहरी मुकदर्शक बनेको एमयू उपकुलपतिको गुनासो – Nepal Press

आक्रमणकारीको किटानी जाहेरी दिँदा पनि प्रहरी मुकदर्शक बनेको एमयू उपकुलपतिको गुनासो

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले आफ्नो निवासमा आक्रमण गर्नेलाई कारवाहीको मागसहित दिएको निवेदन प्रहरीले बेवास्ता गरेको गुनासो गरेका छन् ।

सिंहले साउन १३ गते भएको आक्रमणबारे सुर्खेत प्रहरी र जिल्ला प्रशासन कार्यालयमा साउन १६ गते ५ जनाविरुद्ध उजुरी दिएका थिए ।

‘साउन १३ गते ममाथि भएको आक्रमणको भिडियो क्लिप, त्यसमा सहभागी आपराधिक समूहको नामसहित १६ साउनमा उजुरी दिएको छु ’, नेपालप्रेससँग उपकुलपति प्रा.डा. सिंह भन्छन्, ‘तर हालसम्म प्रहरीले अपराधीलाई संरक्षण गरेको हो कि भन्ने लागेको छ ।’

प्रहरीले आफूले दिएको उजुरीबारेमा कुनै पनि कारवाही अघि नबढाएकै कारण आफू र विश्वविद्यालयमा माथि निरन्तर आक्रमण हुँदै आएको बताए । ‘प्रहरीले आवश्यक अनुसन्धान नथाल्दा आपराधिक समूहको हालीमुहाली बढ्दै गइरहेको छ । लोकतन्त्रमा शान्तिपूर्ण रूपमा विचार राख्न पाउने व्यवस्था हुँदा हुँदै भौतिकरुपमा आक्रमण गर्ने, हुलहुज्जत गर्ने, सामाजिक सञ्जालमा अनेकथरीका विज्ञप्ती निकाल्ने काम भइरहेको छ । यो राजनीतिक रूपमा नै भएको मेरो ठम्याइ छ’, उनले भने ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्टले भने आफूहरूले छानविन गरिरहेको दावी गरेका छन् । ‘उहाँहरूले दिएको नाम अनुसार छानविन अघि बढाइरहेका छौं । संलग्नको बारेमा प्रमाण फेला परेको छैन । उहाँले दिनु भएको भिडियो क्लिपमा कोणसभा गरिएको छ । दुई/अढाई सयजनालाई त हामीले नियन्त्रणमा ल्याउन सकिदैनन नि ?’

दोषीले राजनीतिक संरक्षण पाएकोबारे एसपी विष्ट भन्छन्, ‘म नेता बन्ने पनि होइन, राजनीति पनि गर्ने होइन । म प्रहरी हो । निष्पक्ष रूपमा छानविन हुन्छ । छानविनकै प्रक्रियामा रहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर