प्रभुरामले सम्हाले सेनाकाे कमाण्ड – Nepal Press

प्रभुरामले सम्हाले सेनाकाे कमाण्ड

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथी प्रभुराम शर्मालाई संगठन कमाण्ड हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझ–बुझारत गरेका हुन्।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मङ्गलबारदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकिसकेको छ। सेनाको परम्पराअनुरुप प्रधानसेनापति थापा आफ्नो तीनवर्षे कार्यकाल सकिनु एक महिनाअघि अर्थात् मङ्गलबारदेखि घरबिदामा रहने भएकाले सेनाको कमाण्ड शर्मालाई हस्तान्तरण गरिएको हो ।

कायममुकायम जिम्मेवारी तोकिनुभएका शर्माले आगामी भदौ २५ गतेदेखि नेपाली सेनाको ४४औँ प्रधानसेनापतिका रुपमा सैनिक नेतृत्व सम्हाल्नेछन्। स्वदेशमा सबै व्यावसायिक तालिम प्राप्त बलाधिकृतरथी शर्मा भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद तथा सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा एवं बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम लिएका छन् ।

सेनाको अपरेशनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारीमा रहेका शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर