व्यवसायिक मेलमिलापमा महासंघको भूमिका विस्तार हुने – Nepal Press

व्यवसायिक मेलमिलापमा महासंघको भूमिका विस्तार हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसाय क्षेत्रमा मेलमिलापका लागि आफ्नो भूमिका विस्तार गर्ने भएको छ । महासंघले सदस्य सेवा केन्द्रको स्थापनासँगै मेलमिलाप केन्द्रको सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष शेखर गोल्छाले बताए ।

महासंघ र मेलमिलाप परिषद्ले चन्द्रागिरीमा संयुक्त रूपमा आयोजना गरेको उद्योग व्यवसाय क्षेत्रमा मेलमिलाप पद्धति विषयक अन्तरक्रियामा अध्यक्ष गोल्छाले उक्त धारणा राखेका हुन् ।

उक्त कार्यक्रमका प्रमुख अतिधि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले उद्यमी व्यवसायीको लागत घटाउन मेलमिलाप पद्धतिको अवलम्वन र विस्तार आवश्यक रहेको बताए ।

सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थीले मेलमिलाप केन्द्रको स्थापना र बिकासमा सहयोग पुर्‍याउने बताए । कानून मन्त्रालयका सचिव उदय सापकोटाले मेलमिलापसम्बन्धी विज्ञको अभाव रहेकोले यसको उत्पादनमा पनि निजी क्षेत्रले भूमिका निर्वाह गर्नुपर्ने धारण राखे ।

पूर्वन्यायाधीश विनोद शर्माले सिंगापुर अभिसन्धि र यसलाई नेपालले अपनाउँदा हुने फाइदाबारे जानकारी गराएका थिए ।

वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुद्दामा धेरै समय लाग्ने गरेको सन्दर्भमा मेलमिलाप केन्द्रबाट समाधान खोज्न सकिने बताए ।
‘धेरै समय र लागत लागिरहेको सन्दर्भमा महासंघको मेलमिलाप केन्द्रबाट सेवा दिन सक्छ’, उनले भने ।

कार्यक्रममा महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाई एवं कोषाध्यक्ष सुकुन्तलाल हिराचन, महासंघका विभिन्न समिति र फोरमका सभापतिहरू सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *