वामदेवको प्रस्ताव : प्रत्यक्ष निर्वाचित राष्ट्रपति, महाधिवेशन हलले होइन केन्द्रीय कमिटीले अध्यक्ष चुनौं – Nepal Press

वामदेवको प्रस्ताव : प्रत्यक्ष निर्वाचित राष्ट्रपति, महाधिवेशन हलले होइन केन्द्रीय कमिटीले अध्यक्ष चुनौं

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष महाधिवेशन प्रतिनिधिबाट चुन्ने प्रणाली गलत रहेको भन्दै केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने गरि विधान संशोधनको प्रस्ताव राखेका छन् ।

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुको अनौपचारिक बैठकमा उपाध्यक्ष गौतमले महाधिवेशन हलबाट पदाधिकारी चुन्ने प्रणालीले तलदेखि माथिसम्म प्यानल बन्ने र त्यसले पार्टी विभाजित हुने बताएका छन् ।

गौतमले विधान महाधिवेशनका सन्दर्भमा आफ्ना लिखित धारणा राख्दै महाधिवेशन हलबाट पदाधिकारी चुन्ने प्रणालीको ठाउँमा केन्द्रीय कमिटीले पदाधिकारी चुन्ने व्यवस्था राख्न आग्रह गरेका छन् ।

महाधिवेशन हलले केन्द्रीय कमिटीको निर्वाचन गर्ने र केन्द्रीय कमिटीले अध्यक्ष,उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारी चुन्ने व्यवस्था विधानमा राख्न गौतमको सुझाव छ ।

एमालेमा सातौं महाधिवेशनसम्म केन्द्रीय कमिटीले महासचिव चुन्ने व्यवस्था रहेको थियो । अध्यक्षात्मक प्रणालीमा गएपछि महाधिवेशन हलबाट पदाधिकारीसहित सदस्यहरु निर्वाचित हुने व्यवस्था कायम छ ।

पार्टीमा प्रत्यक्ष निर्वाचित कार्यकारीको विपक्षमा उभिएका गौतमले राज्यको कार्यकारीमा भने प्रत्यक्ष निर्वाचित व्यक्ति हुनुपर्ने सुझाव दिएका छन् । उनले संसदबाट निर्वाचित प्रधानमन्त्रीको साटो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने सुझाव विधान संशोधन कार्यदलमा पेश गरेका छन् ।

त्यस्तै मुलुकको निर्वाचन प्रणाली पनि व्यक्ति नभई पार्टी निर्वाचित हुनुपर्ने गौतमको सुझाव छ । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने सुझाव दिएका छन् ।


प्रतिक्रिया

One thought on “वामदेवको प्रस्ताव : प्रत्यक्ष निर्वाचित राष्ट्रपति, महाधिवेशन हलले होइन केन्द्रीय कमिटीले अध्यक्ष चुनौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर