परीक्षा फेरि सारिँदा एमयूका विद्यार्थी चिन्तित – Nepal Press

परीक्षा फेरि सारिँदा एमयूका विद्यार्थी चिन्तित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू) वीएड पहिलो सेमेस्टारमा २०७६ सालमा भर्ना भएका नमराज योगी अहिले चौथो समेस्टारमा जानुपर्ने थियो । तर, कोरोना महामारीका कारण ६ महिनाभन्दा बढीको उनको समय खेर गयो । पहिलो समेस्टार ६ महिनाको हुनुपर्नेमा एक वर्ष लम्बिएकोमा विश्वविद्यालय नेतृत्वलाई दोष दिन्छन् उनी ।

‘गत वर्षको चैतमा लकडाउन भएपछि मैले २०७७ जेठमा पहिलो समेस्टारको परीक्षा दिनुपथ्र्यो । त्यसपछिको ६ महिनामा दोश्रो समेस्टारको दिन पाउनुपर्थ्यो तर दोश्रो सेमेस्टारको परीक्षा हुने समयमा पहिलो सेमेस्टारको परीक्षा लिएर विश्वविद्यालयले हाम्रो ६ महिना खेर फाल्ने अवस्था सिर्जना गर्‍यो ’ उनी भन्छन्, ‘दोश्रो सेमेस्टारको मिडटर्म पनि भइसकेको छ । परीक्षा फाराम पनि भरिसकेका छौं । यही साउन १५ गतेबाट परीक्षा हुने भनेर विश्वविद्यालयले पनि सूचना जारी गरेको थियो तर दुई हप्तापछि सरेको छ । परीक्षा कहिले हुन्छ निश्चित नै छैन ।’

एम ए पहिलो समेस्टारमा भर्ना भएका विद्याथीहरूको पनि उस्तै हाल छ । परीक्षा स्थगित हुँदा उनीहरूको अध्ययन समय लम्बिएको छ । ‘हामीले बारम्बार समय अनुसार नै परीक्षा लिइदिनुहुन भन्दै अनुरोध गरिरहेका छौं तर यतातर्फ कसैको पनि ध्यान गएको छैन ’, एक विद्यार्थीले भने, ‘बारम्बार परीक्षा विभिन्न नाउँमा स्थगित गरिने उपकुलपतिको अक्षमता नै हो । उहाँले जसरी पनि परीक्षा दिने वातावरण बनाउन भूमिका खेल्नुपर्थ्यो ।’

विश्वविद्यालयका विद्यार्थी पछिल्लो समय आन्दोलित छन् । अनलाइन माध्यमबाट परीक्षा लिनुपर्ने उनीहरूको माग छ । ‘विद्यार्थीका माग र विश्वविद्यालयका अडानबीच नयाँ सहमति कार्यान्वयन गर्नुपर्थ्यो ’, विद्यार्थी रीमा आचार्यले भनिन्, ‘विश्वविद्यालय र विद्यार्थी नेताहरुबीच प्रतिष्ठाको लडाई चलिरहेको छ । हामी सोझा साझा विद्यार्थीहरुको भविष्य भने अन्धकार ।

‘यि नेताहरुका स्वार्थमा हामी कतिञ्जेल पर्खिरहने ? हामीलाई शिक्षा प्राप्त गर्न र निश्चित डिग्री हासिल गर्न चार वर्ष लाग्न स्थानमा ६ वर्ष, दुइ वर्ष लाग्ने स्थानमा चार वर्ष लगाउने षडयन्त्र भइरहेको छ । यसको विरुद्ध सबै विद्यार्थीहरु आन्दालित हुन आवश्यक छ ।’ उनी भन्छिन्, ‘सचेत विद्याथीहरू केही दिन पर्खने र नभए उपकुलपति एवमं अन्यआन्दोलनकारीविरुद्ध हामी आन्दोलन गर्नेछौं ।’

विश्वविद्यालयले प्रेस विज्ञप्तिमार्फत परीक्षा एक हप्ता सारिएको बताएको छ । तर, सारिएको परीक्षा पनि अन्योल देख्छन् विद्यार्थी ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर