अध्यक्षले अनुशासन तोडेको आरोपसहित विवेकशील साझाका चार नेताको जवाफी दस्तावेज – Nepal Press

अध्यक्षले अनुशासन तोडेको आरोपसहित विवेकशील साझाका चार नेताको जवाफी दस्तावेज

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेसहितका चार नेताले अध्यक्ष रवीन्द्र मिश्रलाई काउन्टर दिन जवाफी दस्तावेज सार्वजनिक गरेका छन् । मिश्रले उठाएका संघीयताको खारेजी र धर्मनिरपेक्षतामाथि जनमतसंग्रह पार्टीको मुद्दा नभएको दस्तावेजमा उल्लेख गरिएको छ ।

चार नेताको दस्तावेजमा भनिएको छ, ‘जानी-नजानी पार्टीलाई पश्चगमनको मतियार बनाउने र यसलाई उल्टो बाटोमा हिँडाएर बदनाम गर्ने प्रयत्न भइरहेको छ ।’

गणतन्त्रलाई सीधै खारेज गर भन्न नसकेर धर्मनिरपेक्षता उल्टाउनुपर्ने तर्क गरिएको दस्तावेजमा उल्लेख छ । धर्मनिरपेक्षतामा जनमत संगह गर्ने प्रस्तावलाई चार नेताहरूले अहंकारपूर्ण र अलोकतान्त्रिक ठहर गरेका छन् ।

दस्तावेजमा भनिएको छ, ‘कतिपय मान्छेहरू धर्मनिरपेक्षतामा जनमत संग्रह आवश्यक छ भन्ने प्रस्ताव गर्दछन्, यो प्रस्ताव आफैंमा निकै अहंकारपूर्ण र आलकतान्त्रिक हो । धर्म, आरक्षण वा सकारात्मक विेभदका सन्दर्भमा जनमतसंग्रह गर्नु सामाजिक न्यायविरोधी कुरा हो । यसले आधुनिक लोकतन्त्रलाई कमजोर बनाउँछ । नागरिकको एकता र सद्भावलाई कमजोर बनाउँछ ।’

अध्यक्षको प्रस्तावले पार्टीमा वैचारिक टकरावको स्थिति सिर्जना गरेको दस्तावेजमा उल्लेख गरिएको छ । पार्टीभित्र छलफलविना ‘व्यक्तिगत आलेख’ सार्वजनिक गर्दा अनुशासन उल्लंघन भएको तर्क गर्दै यो प्रस्ताव सच्याउनुपर्ने नेताहरूले बताएका छन् ।

दस्तावेजमा मिलन पाण्डे, केशव दाहाल, रञ्जु दर्शना र डा. राजेन्द्र पंगेनीले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर