पीडितमैत्री सेवा, हिरासत तथा आन्तरिक व्यवस्थापन थप प्रभावकारी बनाउनुपर्नेमा प्रहरी महानिरीक्षकको जोड – Nepal Press

पीडितमैत्री सेवा, हिरासत तथा आन्तरिक व्यवस्थापन थप प्रभावकारी बनाउनुपर्नेमा प्रहरी महानिरीक्षकको जोड

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाले महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवासँग सम्बन्धित प्रहरी कार्यालयले पीडितमैत्री सेवा, हिरासत तथा आन्तरिक व्यवस्थापनलाई थप प्रभावकारी बनाई त्यस्ता नागरिकलाई प्रदान गर्ने सेवामा विशेष संवेदनशीलता अपनाई सहजीकरण गर्नुपर्ने बताएका छन् ।

प्रहरी प्रधान कार्यालयबाट सोमबार भिडियो कन्फ्रेन्सबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरी, प्रदेश प्रहरी कार्यालय, व्यूरो, महानगरीय प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालय, महानगरीय प्रहरी वृत्त, ईलाका प्रहरी कार्यालय र बालबालिका खोजतलास केन्द्र गरी एक सय ३७ वटा कार्यालयमा कार्यरत तीन सय ६८ जना प्रहरी कर्मचारीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र लक्षित विषयमा निर्देशन दिदै प्रहरी महानिरीक्षक थापाले यस्तो निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक थापाले जोखिमको समय र अफ्ठ्यारो परिस्थितिमा सबै भन्दा नजिकको भरोसा गर्ने संयन्त्रको रुपमा रहेको प्रहरीले महिला बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित हिंसा र अपराध हुन नदिन र भए गरेकालाई यथाशक्य छिटो न्याय दिलाउने र पीडितमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताए ।

हिंसा र अपराध पीडित महिला तथा बालबालिकालाई न्याय र सहयोग गर्ने सम्बन्धी कार्य कानुनी रुपमा मात्र नभई मानवीय हिसाबले पनि महत्वपूर्ण रहेकोले उनीहरुको हकहित संरक्षण तथा न्यायको निमित्त विशेष चासो राख्नुपर्नेमा आईजीपी थापाले जोड दिए ।

प्रहरी महानिरीक्षक थापाले जोखिम वर्गसँग सम्बन्धित मुद्दालाई विशेष प्राथमिकतामा राखी सरकारी वकिल तथा जिल्लाका मुद्दा शाखा, सेवा प्रदायक संघसंस्था तथा निकाय र प्रहरीभित्रैका संयन्त्रसँग समन्वय गरी कारवाही अगाडि बढाउनुपर्ने चर्चा गरे । यस्ता वर्गसँग सम्बन्धित सूचना प्रवाह गर्दा तोकिएको सूचना अधिकारीले पीडितको गोपनीयता एवम् मानवअधिकारलाई मध्यनजर राखी उच्च पेशागत नैतिकता र व्यावसायिकतालाई कायम राख्दै प्रहरीको छविमा सकारात्मक सन्देश जाने गरी कार्य सम्पादन गर्नुपर्ने कुरामा ध्यान दिन पनि थापाले जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *