ओलीको ‘ट्रयाक टु’- मुख्यमन्त्री बन्न र बनाउन तीन नेतालाई प्रस्ताव – Nepal Press

ओलीको ‘ट्रयाक टु’- मुख्यमन्त्री बन्न र बनाउन तीन नेतालाई प्रस्ताव

काठमाडौं । नेकपा एमालेको एकताका लागि ‘ट्र्याक वान’ बाट कार्यदल हुँदै माधव नेपालसँग डिल गरिरहेका अध्यक्ष केपी शर्मा ओलीले ‘ट्र्याक टु’ को उपाय पनि खोज्न थालेका छन् । माधव नेपाल एकताप्रति कठोर बन्दै गएको निष्कर्ष वार्तामा रहेका नेताहरूले सुनाएपछि ओलीले दोस्रो बाटो लिएका हुन् ।

पछिल्ला केही महिना लगातार माधव नेपालनिकट स्थायी कमिटी सदस्यहरूसँग एक्ला-एक्लै र संयुक्त छलफल गरिरहेका ओलीले संघीय सरकार नेपाल पक्षका कारण ढले पनि प्रदेश सरकार र पार्टी जोगाउन ‘ट्रयाक टु’ समातेका हुन् ।

ओलीले प्रदेश १ को मुख्यमन्त्री बन्न सचिव भीम आचार्यलाई सिग्नल दिइसकेका छन् भने वागमती प्रदेशको मुख्यमन्त्री बनेर सरकार र पार्टी जोगाउन अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव राखेका छन् । त्यस्तै भीम रावललाई सुदूरपश्चिममा एमालेको सरकार बनाउने पहल थाल्न भनेका छन् ।

दुवै प्रदेशमा ओलीनिकट मुख्यमन्त्री छन् । शेरधन राई र डोरमणि पौडेलले पार्टी जोगाउने मूल्यमा जुनसुकै बेला मुख्यमन्त्री छाड्न तयार रहेको स्रोतको दावी छ । वागमतीका मुख्यमन्त्री पौडेलले त आफू पद छाडेर पार्टी जोगाउन तयार रहेको अष्टलक्ष्मी शाक्यसहितको बैठकमा बताइसकेका छन् ।

एमाले स्रोतका अनुसार भीम आचार्य गत वैशाखदेखि नै केपी ओलीसँग नियमित संवादमा छन् । उनले आफूनिकट कतिपय जिल्ला अध्यक्ष र प्रदेशसभा सदस्यहरूलाई माधव नेपालले पार्टी विभाजन नगरी नछाड्ने संकेत देखिएको भन्दै त्यस्तो अवस्थामा एमालेमै बस्ने बताएका छन् ।

प्रदेश १ र वागमतीमा एमालेको बहुमतको सरकार छ । तर, माधव नेपाल पक्ष विभाजित हुँदा दुवै सरकार ढल्छन् । त्यसैले ओलीले माधव नेपाल पक्षकै नेताहरूलाई मुख्यमन्त्री बनाएर भने पनि पार्टी र सरकार जोगाउने रणनीति अख्तियार गरेको स्रोतले जनाएको छ ।

दुवै प्रदेशमा ओलीनिकट मुख्यमन्त्री छन् । शेरधन राई र डोरमणि पौडेलले पार्टी जोगाउने मूल्यमा जुनसुकै बेला मुख्यमन्त्री छाड्न तयार रहेको स्रोतको दावी छ । वागमतीका मुख्यमन्त्री पौडेलले त आफू पद छाडेर पार्टी जोगाउन तयार रहेको अष्टलक्ष्मी शाक्यसहितको बैठकमा बताइसकेका छन् ।

ओलीको कठोर आलोचक रहेकी एमाले उपाध्यक्ष शाक्य गत साता बालकोट पुगेर २ घण्टा छलफलल गरेकी छन् । ओलीले शाक्यलाई मुख्यमन्त्री बन्न प्रस्ताव गरेको तर उनले आफू अब मुख्यमन्त्री नबन्ने जवाफ दिएको बताइन्छ । शाक्यले केही दिनअघि नेपाल प्रेसमार्फत आफू मुख्यमन्त्रीको दाबेदार अब नरहने खुलासा गरेकी थिइन् ।

ओली र ओलीनिकट नेताहरूले भने शाक्यलाई निर्णय पुनर्विचार गर्न भन्दै मुख्यमन्त्रीको अफर गरेका छन् । शाक्यले अरुण नेपाललाई मुख्यमन्त्री बनाउन सकिने अनौपचारिक प्रस्ताव राखेको तर राजेन्द्र पाण्डे पनि दाबेदार भएकाले माधव नेपाल समूहमा विवाद आउन नदिन मुख खोली सकेकी छैनन् ।

भीम आचार्य र अष्टलक्ष्मी शाक्य दुवैजना संसदीय दलको चुनावमा पराजित भएपछि मुख्यमन्त्रीको दौडबाट बाहिरिएका थिए । तर, यदि माधव नेपालले पार्टी विभाजन गरे भने एमालेकै सरकार कायम राख्न भीम आचार्य र अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउँने ‘ट्रयाक टु’ ओलीले समातेका हुन् ।

अष्टलक्ष्मी र भीम आचार्य दुवैले माधव नेपाललाई समेत समेटेर पार्टी एकताबद्ध बनाउन ओलीलाई सुझाव दिएका छन् । उता अर्का उपाध्यक्ष भीम रावललाई पनि ओलीले सुदूरपश्चिम प्रदेशमा एमालेको सरकार बनाउन आग्रह गरेका छन् । रावलले अघि सारेका व्यक्तिलाई मुख्यमन्त्री बनाएर एमालेको सरकार बनाउने र जसपाको महन्थ पक्षका २ सांसदको साथ भएपछि बहुमत पुग्ने ओलीको विश्लेषण छ ।

सुदूरपश्चिममा एमाले अहिले पनि सरकारमै छ । संसदीय दलमा भीम रावलको वहुमत रहेकाले माधव नेपाल पक्ष सरकारमा छ भने केपी ओली पक्ष विपक्षमा रहेको छ ।

नेकपा विभाजनपूर्व एमालेले ४ वटा प्रदेशमा सरकारको नेतृत्व गरेको थियो । यसबीचमा गण्डकी सरकार ढलेको छ भने लुम्बिनीमा सरकार जोगाउन असम्भव बन्दै गएको छ । बाँकी रहेका बहुमतका दुई सरकार जोगाउने र सुदूरपश्चिममा पनि आफ्नो सरकार बनाउने प्रयासमा ओली लागेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर