स्काउटको कार्यक्रम रोकेकोप्रति ओलीको आपत्ति, भएको के थियो ? (भिडियो) – Nepal Press

स्काउटको कार्यक्रम रोकेकोप्रति ओलीको आपत्ति, भएको के थियो ? (भिडियो)

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल स्काउटको कार्यक्रममा अवरोध गर्न खोजेको भन्दै सरकारको आलोचना गरेका छन् । आइतबार च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले स्काउटको कार्यक्रम रोकेर सरकारले दमन शुरु गरेको आरोप लगाए ।

ओलीको भनाइ यस्तो थियो :

हामी सरकारबाट पनि हट्यौं । सरकारबाट हटेको भोलिपल्ट स्काउट जस्ता संस्था चल्न दिइदैन । स्काउटका विरुद्ध जुलुस निकाल्न थाले । केही ठाउँमा स्काउटका, केही मान्छे भेला भए त्यसलाई रोक्न लगाउँछन् । दुई सय मान्छे थिए, त्यो हलमा कार्यक्रम गर्न दिएनन् । भोलिपल्ट साढे चार सय पार्टीका कार्यकर्ताले कार्यक्रम गरे । यो खालको दादागिरी शुरु भइसक्यो । स्काउटका कार्यकर्ता कार्यक्रमका लागि विभिन्न जिल्लाबाट आउँदा बस-बसमा खोजेर उतार्ने काम भयो । उनीहरुलाई दमन गर्ने काम भयो । खाना खान दिइएन । रोक्ने काम भयो, छेक्ने काम भयो । दमन शुरु भइसक्यो । मान्छेहरु निस्काशन हुन थालिसके । भद्दा राजनीतिकरण शुरु भइसक्यो । यो कास्टिङ हो अलोकतान्त्रिक तरिकाको ।

भूतपुर्व प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिबारे स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीसँग बुझ्दा उनले विपदबारे स्काउटका स्थानीय तहका संयोजकहरुलाई तालिम दिने कार्यक्रममा अवरोध गरिएको बताए । प्रहरी परिचालन गरेर आफूहरुलाई खानासमेत खान नदिइएको उनको भनाइ छ ।

भण्डारीको भनाइ जस्ताको तस्तै :

स्काउटले यो संक्रमणका बेला सचेतना सिर्जना गर्ने काम ठाउँ-ठाउँमा गरिरहेको छ । शव व्यवस्थापनको काम पनि गरिरहेका छौं । त्यसका लागि हामीले युवाहरुलाई तालिम दिनुपर्छ ।

यही प्रयोजनका लागि स्थानीय तहका संयोजकहरु काठमाडौं आइरहेका थिए । काठमाडौंमा अलि बस्न समस्या छ । त्यसैले हामी सिधै नुवाकोटको ककनीमा गयौं । त्यहाँ ९ सय रोपनी क्षेत्रफल भएको जग्गा छ स्काउटको । त्यो तालिम गर्ने केन्द्र पनि हो र त्यसमा भौतिक दुरी राखेर तालिम गर्ने ठाउँ छ ।

त्यहाँ तालिममा गएका बेला रातको साढे १२ बजे माथिको आदेश छ भनेर खाना खान लाइनमा बसेको मान्छेलाई खालि पेट फर्काइयो । बाटो-बाटोमा प्रहरीले छेक्यो । त्यहाँबाट फर्काएपछि यहाँ काठमाडौंमा पनि राती दुई बजे आएर साथीहरु सुते । खाली भएका कतिपय होटेल म्यानेज गरेर हामीले केहीलाई सुतायौं, केही ठाउँ नपाएर गाडीमै सुते ।

उनीहरु स्काउटको स्थानीय लिडर भएको हुनाले प्रशिक्षित गर्न भोलिपल्ट स्मार्ट पार्टी प्यालेस चाबहिलमा कार्यक्रम गरिरहेका थियौं । तालिम लिन नपाएपछि हामीले उनीहरुलाई खाना खुवाएर पठाउने र पठाउनुअघि केही सम्बोधन गर्ने कार्यक्रम राखेका थियौं । कतिपयले पद तथा गोपनीयतको सपथ पनि लिने कार्यक्रम थियो ।

एकाएक प्रहरीहरु आएर चारैतिरबाट हामीलाई घेरे । अनि केटाहरु पनि आए । उनीहरुले यो बन्द गर्नुपर्छ भन्दै ममाथि अपशब्द पनि प्रयोग गरे । त्यहाँ कोलाहाल मच्चाए । माथिको आदेश छ भनेर गौशाला र बौद्धको प्रहरी आएर अवरोध गर्न खोजे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर